काठमाडौं । काठमाडौंको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–३, तिलिंगाटारमा गए राति वाग्मती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा संखुवासभाको मकालु गाउँपालिका–१ का शेर्पाको आज बिहान मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा वसुन्धरास्थित ग्रीनसिटी अस्पतालमा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
मोटरसाइकलको पछाडि बसेकी १९ वर्षीया डोल्मा शेर्पा घाइते भएकी छन् । सोही अस्पतालमा उनको उपचार भइरहेको प्रवक्ता भट्टले बताए ।
भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भ्यानका चालक बारा घर भई काठमाडौंको माछापोखरीमा बस्दै आएका २५ वर्षीय जितेन्द्र माझीको साथमा कागजपत्र नभएको र मादकपदार्थ सेवन गरी सवारीसाधन चलाएको पाइएको प्रहरीले जनाएको छ । रासस