site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
हामीले खोजेको के ?

संसारमै प्रायः उत्तेजक नारा आकर्षक हुन्छ । गालीले ताली धेरै पाएको देखिन्छ । नकारात्मक पात्रहरूप्रति जनमानस बढी आकर्षित हुन्छ । यसै भ्रामक हल्ला बढी छिटो फैलिन्छ र प्रभावकारी हुन्छ । ‘हल्लै हल्लाको देश’ भनिएको नेपालका जनता त झन् बढी हल्लाको पछि लाग्छन् । सामाजिक मनोविज्ञानको यो सामान्य प्रवृत्ति हो । यसमा धेरै चिन्तित हुनु सायद पर्दैन । यसको चिरफार समाजशास्त्रीहरूकै बुद्धिविलास बनोस् । 

चिन्ताको विषय भने समाजको चाहना र धारणामा देखिएको बेमेल हो । सरकारले अपनाएको नीति र लागु गर्ने नियममा रहेको विसङ्गति हो । अरू सबैलाई इमानदार देख्न चाहनेले गर्ने बेइमानी हो । आफू जानीजानी नारायणगढबाट हेटौँडातिर लाग्ने अनि बुटवल पुगिएन भनेर राजमार्गलाई सराप्ने सामूहिक नेपाली अवचेतनको चरित्र हो । 

निजी क्षेत्रलाई दुत्कार्ने अनि रोजगारी नबढ्कोमा चिन्ता गर्ने !   

Dabur Nepal
NIC Asia

देशमा रोजगारीको अवसर बढेन । यसैले युवा वैदेशिक रोजगारीमा गए । धेरैले त्यसलाई बाध्यता भन्छन् तर वैदेशिक रोजगारीमा जाने सबै बाध्यै भएका भने होइनन् । मूलत: अवसरको खोजी हो र यो सृष्टिको सुरुदेखि नै लगभग सबै प्राणीमा देखिएको प्राकृतिक स्वभाव हो । यसैले रोजगारीको खोजीमा युवा जनशक्तिले देश छाडेकोमा पनि धेरै रोइलो गर्नु जरुरी देखिँदैन । 

यसको अर्थ देशभित्र रोजगारी अवसर नबढेकोमा चिन्ता गर्नुपर्दैन भन्ने पनि होइन । नेपालको परम्परागत गुजारामूलक स्वरोजगारीको ढाँचा त्यागेर हामीले विकासको नयाँ ढाँचा अपनायौँ । प्राकृतिक, आर्थिक र मानवीय स्रोतको अत्यधिक दोहन गरेर उपभोग बढाउन र पुँजी विस्तार गर्न सक्नुलाई नै ‘उन्नति’ ठान्ने विकास ढाँचा २००७ पछि नै अपनाइएको हो । बीपी कोइरालाले ‘फोर्ड मोडल’को संज्ञा दिएका थिए ।

फोर्ड मोडलको मूल प्रवृत्ति पुँजी र प्रविधिको प्रभुत्व हो । मानिस त्यसमा सहायक तत्त्वमात्र हो । त्यसमा समयअनुसार थेरथोर नीतिगत हेरफेर भए पनि मूल मान्यता यथावतै देखिन्छ । यस अवस्थामा रोजगारी बढाउने मूल उपाय गुजारामूलक खेतीबाट जनशक्तिलाई अरू क्षेत्रको रोजगारीमा आकर्षित गर्नुपर्छ । त्यसो हुन कलकारखाना धेरै खुल्नुपर्छ । राज्यले कारखाना खोलेर पार नलाग्ने त संसारभरको अनुभवबाट सिद्ध भइसकेको छ । 

रोजगारीको अवसर त निजी क्षेत्रले उद्योग व्यापार गरेर न सिर्जना गर्ने हो । निजी क्षेत्रलाई लगानी गर्न लोभ्याउने नाफाले हो । तर, नेपाली समाजमा भने नाफा गर्ने सबै ‘ठग’ हुन् भन्ने मानसिकता छ । नाफा र ठगीका बीचको रेखा निजी क्षेत्रमा उद्यमी व्यवसायीले पनि मेट्ने गरेका छन् भने मूलत: सरकारी कर्मचारी र राजनीतिका नाममा ‘जबर्जस्ती असुली’को धन्दा गर्नेहरूले व्यवसायीलाई पनि जनता ठग्न बाध्य पार्ने गरेको उनीहरूको गुनासो हुन्छ ।   

निजी क्षेत्रका व्यवसायीहरूका अनुसार वैदेशिक लगानी आकर्षित नगरी नेपालको युवा जनशक्तिलाई पुग्नेगरी रोजगारीको अवसर सिर्जना गर्न सकिँदैन । हुन पनि संसारभर नै वैदेशिक लगानीलाई विशेष प्रोत्साहन दिएर पनि आकर्षित गर्ने गरिएको देखिन्छ । नेपालमा भने स्वदेशी उद्यमी व्यवसायीले समेत लगानी गर्ने वातावरण छैन रे !

सरकारका आधिकारिक ऐन कानुन त लगानीका बाधक छन् नै तिनको कार्यान्वयन गर्ने कर्मचारीतन्त्रको भ्रष्ट चरित्रले व्यवसायीलाई थप निरुत्साहित बनाउँछ । यसका साथै राज्यले उपलब्ध गराउनुपर्ने सामाजिक सुरक्षालगायतका बोझ उद्यमी व्यवसायीमाथि थोपर्ने र काम नभए पनि कामदार हटाउन नपाइने अप्ठेरा नियम छन् । राजनीतिक दलद्वारा नियन्त्रित मजदुर संगठनलाई उद्यमीको सम्पत्तिको खटन गर्ने अचम्मको हक नेपालमा दिइएको छ । 

देशकै उद्यमी व्यवसायी पलायन हुन लागेको मुलुकमा विदेशकाे निजी क्षेत्रले पक्कै लगानी गर्दैन । वैदेशिक लगानी नआएपछि रोजगारीको अवसर सिर्जना हुँदैन । देशभित्र अवसर नपाएपछि युवा जनशक्ति जहाँ रोजगारी पाइन्छ त्यतै जान्छ । कि त युवा जनशक्तिले देश छाड्यो भनेर रोइलो गर्न छाडौँ नभए सरकार र समाजले देशमा लगानी बढ्ने वातावरण बनाउनु पर्‍यो ।

कम्तीमा खोजेको र रोजेको कुरामा तालमेल त होस् !    

‘पहिले थुन्ने अनि सुन्ने’ : सुशासन

लगानी र रोजगारी सिर्जनासँग जोडिएकै विषय हो शासन व्यवस्था । संविधानतः नेपालको शासपद्धितलाई दोष दिनुपर्ने देखिँदेन । व्यवहारमा भने दोष नदिने ठाउँ नै भेटिँदैन । सरकारले नै कानुनको गलत प्रयोग गरेर नागरिकलाई सताएपछि शासन व्यवस्थाप्रति सर्वसाधारणको धारणा कस्तो बन्ला ? देशकै नागरिकले विश्वास नगर्ने सरकारलाई विदेशीले विश्वास गर्लान् ?

‘बाह्रखरी’ले अगिल्लो साता आयोजना गरेको ‘निजी क्षेत्रको आवाज’ छलफल कार्यक्रममा एक जना वक्ताले सरकारको चरित्रको चित्रण गर्दै भनेका थिए - सरकार पहिले थुन्ने अनि सुन्ने गर्छ । यही एक वाक्यांशले अहिले प्रधानमन्त्री पुष्पकमल दाहालदेखि सत्तारुढ दलका भारेभुरे नेतासम्मले दाबी गर्ने गरेको ‘सुशासन’को पोल खुल्छ । प्राकृतिक न्यायको सिद्धान्तअनुसार नै पहिलो दृष्टिमै ‘अन्याय’ देखिने शासनलाई ‘सुशासन’ भन्ने हो भने ‘कुशासन’ केलाई भन्ने ?

हुकुमीशासन भन्ने कि सुशासन ?    

पर्यटन बोर्ड भन्ने एउटा संस्था छ । त्यो कानुनी अस्तित्व भएको स्वायत्त सरकारी संस्था हो । त्यसमा अधिकांश सदस्य सरकारकै हुन्छन् । बोर्डले वार्षिक बजेट पारित गर्नुपर्छ आर्थिक वर्षका लागि । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले भने ‘सुधार नगरेसम्म बजेट पास हुन नसक्ने’ फर्मान जारी गरेका छन् । मन्त्रीले ‘कमिसनको दुनो सोझ्याउनका लागि तत्काल’ बजेट आउन नसक्ने ठोकुवा सार्वजनिक कार्यक्रममै गरे । 

बजेट कस्तो छ र कमिसन कस्ले खान लागेको हो भन्ने ‘सर्पको खुट्टा सर्पले नै देख्छ’ भनेजस्तो  मन्त्रीले नै जान्लान् । त्यसो त उनका विगतका निर्णय हेर्दा कार्यकर्ता र बन्धुबान्धव पोस्न अप्ठेरो भएकाले बोर्डको बजेट पारित हुन नदिएको हो कि भन्ने शङ्का पनि गर्न सकिन्छ । 

प्रश्न भने बजेटको होइन पद्धतिको हो । मन्त्रीले बैठकको अध्यक्षता गर्ने हो बोर्डको बजेट तोक्ने होइन । मन्त्री स्वयंले सनकमा पद्धति मिच्ने शासन कुशासन हो । सुशासन भन्न मिल्दैन ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ११:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro