
धनकुटा । धनकुटा नगरपालिकाले सहकारी ऐन उल्लंघन गरेको भन्दै १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । ऐनको प्रावधान कार्यान्वयन गर्न पटकपटक ताकेता गर्दा पनि अटेर गर्ने बचत तथा ऋण, उपभोक्ता, कृषि, दुग्ध र विद्युत सहकारीको दर्ता खारेज गरिएको नगरपालिकाले जनाएको छ ।
धनकुटा नगरपालिकाको सहकारी ऐनमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने व्यवस्था छ । छ महिनाभित्र संस्थाको साधारण सभा बोलाउनुपर्ने र यसको विवरण नगरपालिकामा बुझाउनुपर्ने प्रावधान छ । सो प्रावधान विपरीत चार वर्षभन्दा अघिदेखि लेखा परीक्षण र साधारण सभा नगरेका र कार्यालयमा विवरण नबुझाउने सहकारी संस्थाहरूको दर्ता खारेज गरिएको नगरपालिकाले जनाएको छ ।
खारेजीमा पर्नेमा नौ वटा कृषि सहकारी, तीनवटा बचत तथा ऋण सहकारी, तीन वटा उपभोक्ता सहकारी तथा एक–एक वटा दुग्ध र विद्युत् सहकारी रहेका छन् ।
ऐनको व्यवस्थाअन्तर्गत नचल्ने सहकारीहरूबाट आम मानिसहरू ठगिन वा समस्यामा पर्न सक्ने भएकाले दर्ता खारेज गर्नुपरेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।
"वर्षौंदेखि साधारण सभा नगर्ने, अडिट नगर्ने सहकारीहरूबाट उपभोक्ताहरू ठगिन सक्छन् । कुनै पनि मानिस समस्यामा पर्नु हुँदैन भनेर पटक–पटक ताकेता गर्दा पनि नमानेपछि त्यस्ता सहकारीको दर्ता खारेज गरेका छौँ," मेयर तामाङले भने, "अहिले १७ वटा सहकारी खारेजीमा परेका छन्, अरू सहकारीको विषयमा पनि अनुगमन गर्दै छौँ, अरू पनि खारेज हुन सक्छन् ।"
धनकुटा–१ को जनकल्याण बचत तथा ऋण सहकारी, जनसाहारा उपभोक्ता सहकारी र मकालु चिया तथा कफी उत्पादन साना किसान सहकारी सस्था खारेज भएका छन् । धनकुटा–२ को भीरगाउँ दुग्ध उत्पादक सहकारी, मधुगंगा सुन्तले विद्युत सहकारी, नवविहानी कृषि सहकारी, धनकुटा–३ को सुगन्धित चिया उत्पादक सहकारी, धनकुटा–४ को हजुरको उपभोक्ता सहकारी र सदाबहार कृषि सहकारी खारेजीमा परेका छन् ।
धनकुटा–५ को क्रमिक दैनिक बचत तथा ऋण सहकारी, धनकुटा–६ को अन्नपूर्ण बचत तथा ऋण सहकारी, अर्गानिक तरकारी उत्पादन तथा कृषि पर्यटन सहकारी, धनकुटा–७ को सहयात्री कृषि सहकारी, धनकुटा–८ को टेकुनाला कृषि सहकारी, आठपहरिया कृषि सहकारी र सान्ताङ कृषि सहकारीको दर्ता खारेज गरिएको छ ।