site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
३३ वर्षदेखि खाली खुट्टामै उत्कृष्ट लाइब्रेरियन जोगप्रसाद 

काठमाडौं । तपाईं एकैछिन खाली खुट्टामा चर्को गर्मी या चिसो हिमाली क्षेत्रमा केहीबेर हिँडेको परिकल्पना गर्नुहोस् त ! कस्तो लाग्ला ? सहज या आङ सिरिङ्ग होला ! तर विगत ३३ वर्षदेखि हिमालका हिउँमा होस् या तराईका गर्मीमा, हिउँद होस् या वर्षायाम जतिबेला खाली खुट्टा नै । 

खाली खुट्टा, लामो दाह्री, कछाड भिरेका झट्ट हेर्दा कुनै ‘बाबा’ जस्ता देखिने स्याङ्जा कालीगण्डकीका ६५ वर्षीय जोगप्रसाद पाण्डे योगसाधक हुन् । अनि यस वर्षका ‘सर्वोत्कृष्ट लाइब्रेरियन’ ।

धर्ममात्रै होइन कर्ममा पनि उत्तिकै विश्वास छ पाण्डेको ।  उनले करिब पाँच वर्ष भारतमा बिताए । त्यसपछि २०४७ मा नेपाल फर्किए । त्यसपछि दैनिकीमा केही फरक आयो ।

Dabur Nepal
NIC Asia

बिहान उठ्यो, करिब चार किमी टाढा रहेको कालीगण्डकीमा स्नान गर्‍यो । नजिकै रहेको अरुवा खरबारीमा घाँस काट्यो फर्कियो । स्याङ्जाको पश्चिमी भेग बिरघाका पाण्डेको यसरी नै जीवन चल्दैथियो । 

करिब एक वर्ष दैनिकी नै यस्तो बन्यो । त्यसपछि जोगप्रसाद पाण्डेको मनमा एकाएक आयो– अब खाली खुट्टा हिँड्छु ।  “२०४८ सालपछि मैले यसरी पनि गर्छु भन्ने मनमा एकाएक आयो,” उनले बाह्रखरीसँगको कुराकानीमा भने, “त्यसपछि मेरो दैनिकीमै परिवर्तन आयो ।”

उनलाई सुरु सुरुमा खुट्टा भतभती नपोलेका होइनन् तर कष्ट सहे, दुःख गरे । र, सबैभन्दा ठूलो कुरा उनले आँटेको कामबाट पछि हटेनन् जस्तोसुकै दुःख कष्ट भए पनि ।

सानै देखि आध्यात्मिक स्वभावका पाण्डे भारतमा हुँदा पनि उहाँ धार्मिक कर्ममै रमाउँथे । “भारतमै रहँदा पनि मन धार्मिक तथा सामाजिक काममै रमाउँथ्यो,” विगतप्रति स्मरण गर्दै उनी भन्छन् ।

२०४८ देखि कपाल काटेनन्, खुट्टामा जुत्ता चप्पल लगाएनन् र अन्न पनि खाएनन् करिब १० वर्ष । “१० वर्षसम्म अन्न मुखमै परेन,” उनी भन्छन्, “पाएसम्म फलाहार लिएँ नपाउँदा त्यसै पनि बसेँ । मनमा आनन्द भएपछि खानैपर्छ भन्ने लागेन ।”

१० वर्ष अन्न नखाएका उनले त्यसपछि रोटी भने दिनको एकपल्ट खाने गरेको बताउँछन् । “त्यसपछि रोटी खान थालेँ,” उनी भन्छन्, “तर खुट्टामा जुत्ता चप्पल लगाइनँ, लसुन प्याजलगायतका खानेकुरा कहिल्यै पनि खाइनँ ।”

उनी खाली खुट्टा हिँड्न थालेको करिब दुई वर्षपछि गाउँमै एउटा सामुदायिक पुस्तकालय खुल्यो– मातृभूमि पुस्तकालय । पाण्डे त्यसमै रमाउन थाले । 

उनको दैनिकी बिहानै कालीगण्डकी स्नान गर्न जाने, फर्किँदा घाँस लिएर फर्किने, केही फलाहार लिने र १ नबज्दै पुस्तकालय पुगिहाल्ने । पुस्तकालयमा रहेका अठारै पुराणदेखिका पुस्तक मिलाउने, सफाचट् राख्ने, अध्ययन गर्न आउनेका लागि दिने काम गर्न थाले ।

केही समयपछि उक्त पुस्तकालयमै टेलिफोन जोडियो । त्यसले पाण्डेलाई झनै व्यस्त बनायो । गाउँकै पुरानो घर किनेर आफ्नो सेवा सुरू गरेको मातृभूमि पुस्तकालयका झ्यालढोका पुराना भएकोले सुरूवाती दिनमा जोगप्रसाद पाण्डेले कयौं रात पुस्तक कुरेरै रात बिताए ।

२०५२ सालमा उक्त पुस्तकालयमा जोडिएको पीसीओ फोनले उनलाई झनै व्यस्त बनायो । एकातिर पुस्तकालय अर्कोतिर टेलिफोन । बेलाबेलामा टेलिफोन टावरमा समस्या आइरहन्थ्यो । अनि बन्द भइहाल्ने ।

गुल्मीको हिलेमा रहेको टावरमा होस् या पाल्पाको श्रीनगरमा । उनी ब्याट्री या भीएचएफ सेट बोकेर खाली खुट्टा दौडिहाल्थे । टेलिफोन बनाइवरी फेरि सेवामा खटिहाल्थे ।

“त्यसले पुस्तकालयको आम्दानी थप्यो,” उनी भन्छन्, “पुस्तकालयका कर्मचारीलाई दिने पारिश्रमिकमा सहयोग पुग्यो ।” यतिखेर त सबैका हात हातमा मोबाइल छन्, छिनछिनका खबर पाइहाल्छन् । अब कसैलाई टेलिफोन गर्न लाइब्रेरी पुग्नु पर्दैन न त पत्रिका पढ्न नै ।

तर पनि पुस्तकालयमा भीड घटेको छैन ।

“विगतमा हामीले १ बजेदेखि ४ बजेसम्म मात्रै पुस्तकालयमा खोल्थ्यौँ,” उनी भन्छन्, “लाग्थ्यो मोबाइल आएपछि सबैका हातहातमा पुस्तक र पत्रिका पनि पुग्यो होला तर त्यस्तो देखिएको छैन । कुनै असर गरेको छैन । पुस्तकालयमा आउने भीड घटेको छैन । घटेको छ त केवल आम्दानी । अब त झन् बिहान ११ बजेदेखि ५ बजेसम्म पुस्तकालय खुल्छ ।”

जोगप्रसाद पाण्डेको दैनिकी ३०–३२ वर्षदेखि उस्तै छ ।  “बिहान अरुवा जान्छु, गंगाजी नुहाउँछु मलाई त्यसमै आनन्द छ,” उनी भन्छन्, “फर्किँदा घाँस बोकेर फर्किन्छु तर पहिलेजस्तो धेरै बोक्न सक्ने अवस्था छैन ।”

बिरघामा उनलाई ‘माहिल्दाइ’का नामले बढी चिन्छन् । नाममा के छ र ? उनलाई केही फरक पर्दैन । “जसले जसरी बोलाए पनि मलाई नै हो सम्बोधन गरेको, जसले जे देख्छ उसैगरी बोलाउँछ । त्यसमा म रिसाउनुपर्ने कुनै कारण छैन । अहिलेसम्म म जे छु आफ्नै प्रेरणाको कारणले छु ।”

बालबालिकाले लटा पालेको जोगी आयो भन्छन्, कसैले बाबा आए भन्छन् कसैले दाइ भन्छन्, आफू भन्दा कान्छाले बुबा भन्छन् । धेरैले माहिल्दाइ भन्छन् । तर उनलाई जे भनेर बोलाउँदा पनि आपत्ति छैन ।
“म बाहिर जे छु भित्र पनि त्यस्तै छु,” उनले भने, “धर्मसँगै कर्म पनि सँगै लैजानुपर्छ भन्नेमा म स्पष्ट छु । लाइब्रेरी ज्ञानको भण्डार हो । जति काम गर्यो त्यति आनन्द छ । मलाई पनि त्यसले सहयोग गरिरहेको छ । मैले लाइब्रेरीलाई सहयोग गरेको छु, लाइब्रेरीले मलाई ।”

पुस्तकालयमा आउने बालबालिकालाई उनी नयाँ नयाँ पुस्तक पढ्न हौस्याउँछन्, बूढापाकालाई त्यसैगरी धार्मिक पुस्तक । २०१५ साउन २६ गते स्याङ्गजाको बिरघा अर्चलेबारीमा जन्मिएका बाल ब्रह्मचारी जोगप्रसाद पाण्डेले विद्यालय तहसम्मको शिक्षा गाउँकै जनता माविबाट पूरा गरे ।

पुस्तकको अलावा पाठकहरूको तीव्र रुचि विभिन्न दैनिक, साप्ताहिक तथा मासिक पत्रपत्रिका हुनेहुँदा पुस्तकालयले आफैँ किन्न नसकेको अवस्थामा वार्षिकरूपमा दाताहरू खोजी करिब दुई दर्जन पत्रपत्रिकाको व्यवस्थापन गरे ।

यातायातको सुविधा नहुँदा उनी ३ घण्टा लगाएर मिर्मी बजार पुगेर पत्रिका ल्याएर पनि पाठकलाई सूचना दिने कुरामा पछि परेनन् ।

उनै उत्कृष्ट लाइब्रेरियन पाण्डेलाई शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रमबीच शिक्षामन्त्री अशोक राईले पुरस्कृत गरे, ‘उत्कृष्ट लाइब्रेरियन’को रुपमा । सोह्रौँ पुस्तकालय दिवसको अवसरमा उनलाई काठमाडौंमा भएको एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो ।

उनीसँगै पुस्तकालय अभियन्ता भोलाकुमार श्रेष्ठ, उत्कृष्ट पुस्तकालयमा आशा सफू कुथि, उत्कृष्ट पाठकमा ललितपुरकी ८३ वर्षीया रुक्मिणी चालिसेलगायतलाई पुरस्कृत गरिएको थियो । 

भूकम्पले पुस्तकालयमा भवनमा क्षति पुगेपछि पुनर्निर्माण गरियोे ।  तर पनि लाइबेरी सञ्चालन र कर्मचारीलाई नियमित तलब खुवाउने कुरा चुनौतीको विषय भएको अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे बताउँछन् ।

“गाउँमा ३०औँ वर्ष अघिदेखि सञ्चालनमा रहेको पुस्तकालयलाई जोगाउनु हामी सबैको कर्तव्य हो,” उनी भन्छन्, “यसको संरक्षणमा अहिलेका युवा पुस्ता जुट्नैपर्ने देखिन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro