काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले बुद्धि र विवेक पुर्याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिएका छन् ।
बिहीबार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गर्न पनि आग्रह गरे ।
उनले नगर प्रहरीलाई हिम्मतले काम गर्न पनि आग्रह गरे । नगर प्रहरीले कुनैपनि प्रकारको नातावाद, कृपावाद र राजनीतिक दबाबबिना काम गरिरहेको उल्लेख गर्दै यसप्रति महानगरपालिकाको सबै जनप्रतिनिधि खुसी भएको बताए ।
महानगरपालिकाले १५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचनाहरू हटाएर सुशासन कायम गराउन लागेको उल्लेख गर्दै यस काममा नगरप्रहरीको भूमिकाको प्रशंसा गर्दै धन्यवाद दिए ।
काठमाडौं महानगरपालिकाको कामले देशभर नै त्यस प्रकारको निर्णय गराउन सफल भएको पनि उनको भनाइ छ ।