काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन संशोधन तयारीमा जुटेको बताएका छन ।
सोमबार पर्वतारोहण संघको कार्यक्रममा बोल्दै उनले पर्यटन ऐन २०३५ संशोधनको तयारी भइरहेको बताए ।
अहिलेको विद्यमान कानुनले पर्यटनका सबै क्षेत्रलाई समेट्न नसकेको भन्दै मन्त्रालय ऐन परिवर्तनको तयारी गरिरहेको मन्त्री किरातीकोे भनाइ छ । नेपालमा समयअनुसार धेरै ऐन कानुन परिमार्जन गनुपर्ने देखिएको पनि बताए ।
राजनीतिक परिवर्तनसँगै ऐन कानुन संशोधन हुन नसक्दा लक्ष्यमा पुग्न नसकेको दाबी गरे । देशमा गणतन्त्र आएको लामो समय हुँदा पनि केही ऐन कानुन राजतन्त्रमा बनेको नै कार्यान्वयनमा रहेको बताए ।
पर्यटन ऐन २०३५ सालमा बनेको थियो । हालसम्म पनि उक्त ऐन कार्यान्वयनमा छ । उक्त ऐन ४५ वर्ष पुरानो हो ।
मन्त्री किरातीले उक्त ऐन संशोधनको लागि लागि परेको बताए ।
“हामीले पुरानो साध्न चढेर नयाँमा पुग्न सक्दैनौं । हामीले गणतन्त्र ल्यायौं । तर, गणतन्त्रको साध्यमा पुग्नको लागि अहिले पनि राजतन्त्रको साधनमा चढिरहेका छौँ । हाम्रो ऐन कानुनहरू पुरानो छ,” उनले भने, “पर्यटन ऐन २०३५ सालको छ । यसलाई हामीले लेख्नैपर्ने छ । पर्यटन ऐन निर्माण गर्ने चरणमा हामी प्रवेश गरिसकेका छौँ ।”
ऐनमा संशोधन गर्नुपर्ने बुँदाका विषयमा राय सल्लाह सुझाव माग गरिएको उनले बताए । साथै मन्त्रालममा सचिवसँग पनि निरन्तर छलफल भइरहेको बताए । अहिलेको आवश्यकता र समय अनकुल ऐन बनाउने उनको भनाइ छ ।
“हामीले मन्त्रिपरिषद्बाट अनुमति लिइ एक महिने अवधी राखेर सरोकारवाला सबै नागरिक, संघसस्थाहरूलाई सुझावको निम्ति आवाहन गरेका छौँ । सबैलाई साथमा लिएर अहिलेको समय, आवश्कतालाई धान्न सक्ने/बोध गर्नसक्ने पर्यटन ऐन चाहिएको छ । त्यसकारणले हामी त्यो बाटोमा लागेका छौँ ।”