site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भेप र ६० किलो सुन प्रकरणमा ‘कनेक्सन’ देखिएपछि पक्राउ परे राहुल, यस्तो छ उनको भूमिका

काठमाडौं । विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणले नयाँ मोड लिएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भेप प्रकरणमा जोडिएका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ गरेसँगै सो प्रकरण ले नयाँ मोड लिएको हो ।

भेपमार्फत ९ किलो सुन तस्करी गर्ने समूहका आरोपी दाओजिन वाङसँग राहुल महराको १६५ पटक सम्पर्क भएको देखिएको सीआईबीको अनुसन्धानले खुलाएको थियो ।

जसमा राहुलले १३१ र वाङले ३४ पटक फोन गरेको सीआईबीले निकालेको वाङको सीडीआर रेकर्डमा देखिएको थियो । 

त्यो बाहेक राहुलसँगै अर्को आरोपी चिनियाँ नागरिक असिमसँग पनि तीन पटक सम्पर्क भएको देखिएको थियो ।

भेप प्रकरणमा जोडिएका चिनियाँ नागरिक वाङ, असिम र लुई हान तीनै जनाले नेपाल छाडिसकेका छन् । 

भेप प्रकरणमा जोडिएका वाङ र ६० किलो सुन तस्करी आरोपमा पक्राउ परेका तिब्बती मुलका बेल्जियम नागरिक दावा छिरिङकोसमेत सम्पर्क देखिएको छ । जसकारण राहुल पक्राउ परेको सीआईबी स्रोतको भनाइ छ ।

यस्तो थियो घटना
१० पुुस २०७९ मा चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए । ७३ वटा बट्टामा ल्याइएको ७३० थान भेपमा ९ किलो सुन लुकाएर ल्याएका थिए । 

उक्त भेप त्रिभुवन विमानस्थलमा जाँचका क्रममा ठूलो मात्रामा देखिएपछि भन्सार कार्यालयले रोक्यो । भन्सार कार्यालयलाई समेत भेपभित्र सुन लुकाएर ल्याएकोबारे जानकारी थिएन ।

जसकारण सामान करिब डेढ महिना भन्सारको गोदाममै थन्कियो । उक्त सामान गोदाममा हुँदा राहुलले चासो राखेका थिए ।  तर, उनको प्रयास सफल नभएपछि भन्सारकै कर्मचारीको सेटिङमा बजारबाट किनेर ल्याएर अर्को भेप भन्सारको गोदाममा राखेर सुन भएको भेप बाहिर बिक्री गरेको खुलेको थियो ।

उक्त भेपबारे गिरोहको सक्रियता शंकास्पद देखेपछि भन्सार प्रमुख अरुण पोखरेलले थप सोधपुछ र अनुसन्धान गर्दा त्यसमा सुन लुकाएर ल्याइएको नयाँ तथ्य खुलेको थियो ।  

सोही अनुसन्धानबाट कर्मचारीकै संलग्नतामा सुन भएको भेप चोरी गरेर गोदाममा अर्को भेप राखेको खुलेको थियो ।

सो घटनापछि मात्रै पोखरेलले यसमा अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेका थिए । ब्युरोको अनुसन्धानपछि मात्रै यो प्रकरणमा चिनियाँ गिरोहले भेपका नाममा सुन तस्करी गर्ने गरेको खुलाएको हो । जसमा महराका बाबु–छोरासमेत मुछिएका छन् ।

सुन भएको भेप भन्सारले नियन्त्रणमा लिएपछि भेपसँगै नेपाल आएका ली १३ पुसमा नेपाल छोडेको खुलेको छ । 

हाल सुन तस्करी प्रकरणभन्दा पनि भेप चोरी प्रकरणमा जोडिएका विमानस्थल भन्सारका नासु रेवन्त खड्कासहित सुरक्षा गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि जेल चलान गरेको छ ।

चोरी प्रकरणमै जोडिएका दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा भने हाल फरार छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro