
काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले युवाले ठूला सपना देख्न छोड्न नहुने बताएका छन् । गत शनिबार काठमाडौंमा आयोजित ‘काठमाडौं युथ कन्क्लेभ, २०८०’ मा सहभागी युवाहरूलाई प्रेरणा र प्रोत्साहन गर्दै युवाले ठूला सपना देख्नु पर्ने बताएका हुन् ।
जाब्बोरले युवाहरूलाई प्रतिस्पर्धी बन्न, आफ्नो इच्छाअनुसार काम गर्न र त्यसलाई वास्तविकतामा परिणत गर्न प्रोत्साहित गरे । उनले भने, “प्रतिस्पर्धाले तपाईँलाई राम्रो बनाउँछ । राम्रा प्रतिस्पर्धीहरूले तपाईँलाई अझ राम्रो बनाउँछन् ।”
उत्साही युवाहरूसँग आफ्ना प्रेरणादायी यात्रा, नेतृत्वका मुख्य सिद्धान्त र अनुभव बाँड्दै जाब्बोरले योजनाको महत्त्व र लगनशीलतामा जोड दिनुपर्ने बताए । “यदि, तपाईँ अझ राम्रो गर्न चाहनुहुन्छ र ठूलो सफलता हासिल गर्न चाहनुहुन्छ भने तपाईँले सपना देख्नु पर्छ,” उनले भने, “आफूले विश्वास गरेको कुरा सिक्ने जोस हुनुपर्छ र त्यसलाई भिजुअलाइज गर्नुपर्छ ।”
जाब्बोरले युवाहरूलाई प्रतिस्पर्धी बन्न, आफ्नो इच्छाअनुसार काम गर्न र त्यसलाई वास्तविकतामा परिणत गर्न प्रोत्साहित गरे । उनले भने, “प्रतिस्पर्धाले तपाईँलाई राम्रो बनाउँछ । राम्रा प्रतिस्पर्धीहरूले तपाईँलाई अझ राम्रो बनाउँछन् ।”
यस वर्षको ‘केवाईसी’ संस्करणको विषय ‘इन्स्पायरिङ युथ, लिडिङ द नेसन’ थियो । जाब्बोरले कार्यक्रममा प्रेरणादायी वक्ताका रूपमा सहभागिता जनाएका थिए । १६ देखि २५ वर्ष उमेर समूहका युवाहरुरूको सो भेलामा जाब्बोरले आफ्नो प्रस्तुति राख्दै युवाहरूलाई थप सिक्ने भोक र लगनशीलताका साथ लक्ष्यमा अधि बढ्न प्रेरित गरे ।
कार्यक्रममा प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत, चर्चित मास्टरसेफ सन्तोष शाह, ट्रेल रनर मीरा राई, ईसेवाका सीईओ जगदीश खड्का, क्रिकेटर पारस खड्का र रूपेश्वर गौरा दासजस्ता प्रेरणादायी वक्ताहरू थिए ।
युवालक्षित उक्त कार्यक्रममा विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र भौगोलिक स्थानका करिब पाँच हजार युवाहरूको सहभागिता रहेको जानकारी दिइएको छ ।