site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्मृति 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बालानन्द आइपुग्नेबित्तिकै पोखरीलाल जुरुक्क उठ्यो । ती एउटै कलेजमा पढ्थे । कलेज मात्र होइन, कक्षा पनि उही थियो । विषय अलग थिए । कहिले दिनभर कैयौँपटक भेट हुन्थ्यो त कहिले २/४ दिनसम्म भेटघाट हुँदैनथ्यो । भेटमा ती देश, राजनीति, सरकार र विद्यार्थी समस्यका विषयमा कुराकानी गर्थे ।

दुवैका संगठन अलग थिए । दुवैलाई आफ्नै संगठन अब्बल लाग्थ्यो । भेटमा बहस चल्थ्यो । छलफल हुन्थ्यो । पृथक् देखाउने प्रयत्न गर्थे । यस्ता कुरा चुनावताका बढी हुन्थ्यो । दुवैलाई कोही कसैको बुई चढेको आरोप लाग्थ्यो । उही पारामा प्रतिकार हुन्थ्यो ।

गफ सुन्नेहरू प्रतिक्रियामा बारम्बार भन्ने गर्थे– उस्तैउस्तै हुन्, कोही फरक छैनन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

चोखिने क्रम जोडतोडले चल्थ्यो । देशभक्तिको कुरा आउँथ्यो । राष्ट्रवाद जोड्न दुवै बिर्संदैनथे । एउटालाई उछिन्न अर्को मरिमेटेर लाग्थ्यो । यस्तो बेलामा ती व्यक्तिगत आरोप–प्रत्यारोपमा मजैले उत्रन्थे । सुन्नेहरू बहसबाट आनन्द प्राप्त गर्थे र त्यसले निरन्तरता पाइरहोस् भन्ने कामना गर्थे ।

शक्ति प्रदर्शनमा विद्यार्थी सापट पनि चल्थ्यो । देखाउनुपर्ने कुरा तागत एउटै थियो । कहिले पठाउँथे त कहिले ल्याउँथे । दोहोरो चल्थ्यो । धेरैअघिदेखि गोप्य रूपमा यस कामले निरन्तरता पाइरहेको थियो । ठाउँठाउँमा थरीथरीका ठेकेदार तिनीहरूको मजैले चल्थ्यो ।

Royal Enfield Island Ad

भन्न त ती विद्यार्थी हकहितमा काम गर्न लागेको भन्थे, तर सबै काम पार्टीका गर्थे । विद्यार्थीका हकहित र अधिकारका विषय व्याख्या मात्र थियो । त्यो एउटै हैन, अलगअलग हुन्थ्यो ।

तिनीहरू स्वतन्त्रता शब्द उच्चारण गर्दा ज्यादा हौसिन्थे । हरेक अभिव्यक्तिहरूमा त्यो शब्द कहिल्यै छुट्दैनथ्यो । देशमा दलभन्दा विद्यार्थी संगठन बढी थिए । जनवर्गीय संगठन पनि उत्तिकै । तर, सबै बल उत्तिकै बलशाली थिएनन् । त्यसमा समयसमयमा तलमाथि र वरपर भइरहन्थ्यो ।

बेलाबेलामा शक्ति देखाउन ती बल प्रदर्शन गर्थे । यसका लागि धेरै मिहिनेत गर्नुपर्थ्यो । बालीनाली नै यही भएकाले यस कर्ममा उनीहरू न कुनै अप्ठेरो मान्थे न त लज्जाबोध नै महसुस गर्थे । कामकाज जे जस्ता र जसरी गरे पनि देखाउने आदर्श देश र जनता थिए ।

भनाइ र गराइमा आकाशजमिनको अन्तर थियो । ती मुखले एकथोक भन्थे, कामले अर्काेथोक गर्थे । भनाइ र गराइबीच मेल पटक्कै खाँदैनथ्यो । अनमेललाई मेल गराउनु तिनीहरूको एकल उद्देश्य हुन्थ्यो । ती ज्यान फालेर लाग्थे । असत्यलाई सत्य भनाउन नसकेसम्म पछि लागेको लाग्यै गर्थे ।

यस मामिलामा बालानन्द र पोखरीलाल समान थिए । गर्ने कामले विद्यार्थीलाई खासै लाभ पुग्दैनथ्यो । तर, ती हामी काम गरिरहेका छौँ र गरिरहनेछौँ भन्न छाड्दैनथे । मान वा नमान, एकोहोरो रटान लगाइरहन्थे । यस कामकुराले धेरैलाई वाक्कदिक्क नै बनाइसकेको थियो ।

“कसैले पत्याऊन् वा नपत्याऊन्, हाम्रो काम भन्ने हो, यसर्थ भनिरहन्छौँ,” पहिलो भन्थ्यो ।

“हामीलाई साथ दिनोस्, तपार्इंहरूको पालो अवश्य आउनेछ,” दोस्रो थप्थ्यो ।

“हो, हो । कुरा साँचो हो,” तेस्रो भन्थ्यो ।

भनाइ दोहोरिन्थे । क्रमले निरन्तरता पाइरहन्थ्यो ।

“हामी तपाईंहरूका निम्ति ज्यान फालेर मरिमेटिरहेका छौँ,” चौथोको तर्क हुन्थ्यो ।

“हो नि, हामी घरबारविहीन हैनाैँ,” पाँचौँ सुनाउँथ्यो ।

सुन्नेहरूलाई लाग्थ्यो– हो कि क्या हो ! सबै उस्तै कुरा गरिरहेका छन् ।

ती एक्लाएक्लै भए पनि सन्तोषको लामो हाँसो हाँस्थे ।

भावनाले जुरुकजुरुक उचाल्थ्यो । तिनीहरूको मौलिक विशेषता यही थियो । घोषणा गरिसकेका थिए । आवश्यकताअनुसार विरोधीको प्रतिकार गर्थे । ताली पिट्नेहरू त्यति बेला आँखा चिम्लिन्थे । मन जुरुकजुरुक उचालिन्थ्यो ।

देश अविकसित थियो । जीवनस्तर उपल्ला थिएनन् । भोक, रोग, अशिक्षा र गरिबी जित्ने बलियो प्रयास कतैबाट पनि हुन सकिरहेको थिएन । भएका वा भेटिएका सबै ‘हामी गरिरहेका छौँ’ भन्न पछि पर्दैनथे । विश्वास गर्नेहरूलाई आफ्नो र नगर्नेलाई पराया सम्झन्थे ।

समृद्धि नारामा नजिक र व्यवहारमा टाढाको वस्तु थियो । आवश्यक प्रयास नै नभएपछि आउला भन्ने ठाउँ थिएन । ती आदेशानुसार अवरोध सिर्जना गर्दै काम हुन नदिनुमा नै आफूहरूको समग्र भलाइ र उन्नति देख्थे । मनबाट बाहिर निस्केर सोच्ने वा भन्ने अवस्था छँदै थिएन ।

नीतिको विषय यही थियो । खोजी वर्षौँवर्षदेखि गरिरहेका थिए । त्यो सुखको नभइ दुःखको थियो । आविष्कार मान्नेको संख्या सानो थिएन । केवल यसैमा रमाउनु र हराउनु खास लक्ष्य थियो ।

बोल्नेका कुरा बढी सुनिन्थ्यो । पिठो मजैले बिकिरहेको थियो । नबोल्नेको चामल बिक्न सकिरहेको थिएन । कालोलाई सेतो र सेतोलाई कालो भन्न पनि हच्कँदैनथे ।

आँखा चिम्लेर ताली बजाउनेहरू केवल आदेश कुर्थे । त्योभन्दा अर्को विकल्प केही र कतै थिएन । यसैले आदेश तामेली मुख्य कर्तव्यभित्र परिरहन्थ्यो ।

यो विषय विद्यार्थीमा पुरापुर लागु भइरहेको थियो । कलेजमा हुने निर्वाचनमा कहिले पोखरीलाल त कहिले बालानन्दका संगठनहरू पालैपालो पगरी गुत्थे ।

आ–आफ्ना बलिया दबाब र प्रभाव थिए । ती खुसी बोकेर ल्याउँथे । मुखमा लड्डु पर्थ्यो । बाहिर बाझाबाझ गरे पनि भित्रभित्र गहिरो मेल थियो । यसको जानकारी राख्नेहरू न्यून संख्यामा थिए । काम भित्रभित्रै चलिरहेको थियो । कोही कसैको परवाह नगरी हिँड्ने र बस्नेहरू आआफ्ना गतिविधिमा सक्रिय रहेका थिए ।

शासनसत्ता नफेरेसम्म जनता कुनै हालतमा खुसी र सुखी हुन सक्दैनन् –दलहरूले एउटा निष्कर्ष निकाले ।

बहस चल्यो । कुरा बुझाइयो । बुझ्न कठिन भए पनि अन्त्यमा चुरोसम्म पुगे । गृहकार्यमा कम्मर कसेर लागे । कामले सकारात्मक मोड लियो । कतिपय सपना देखेर त कतिपय उडेको चंगा र त्यसको डोरी हेरेर उत्साहित बने ।

“जनतामा खुसी नफर्केसम्म हामीले सन्तोषको सास फेर्ने छैनौँ,” एकार्काको हात समातेर प्रण पनि गरे । नागरिक तहमा सकारात्मक तरंग उत्पन्न भयो । अर्थात्, तनमनमा उत्साहको बाढी आयो ।

“खर्चबर्चका कुरामा कुनै धन्दा मान्नु पर्दैन, केके गर्नुपर्छ सोचेर गर्दा हुन्छ,” नजिकै उभिएको एउटा अपरिचितले प्वाक्क भन्यो । तर, त्यो त्यहाँ धेरै बेर अडिएन । अर्थात्, आएको बाटो तुरुन्तै फर्कियो ।

“के भनेको हो ? खै, मैले त केही बुझिनँ,” बालानन्दले सोध्यो ।

“त्यै त भन्या, मलाई पनि थाहा छैन । तँलाई नै सोध्नेवाला थिएँ,” पोखरीलालले भन्यो ।

“अनि म तँलाई...,” दुवैले एकसाथ भने । अनि, मुस्कुराए ।

एकछिनसम्म हेराहेर चल्यो । तर, बन्द ओठ त्यसपछि खुलेनन् ।

“त्यसले के भनेको हो कुन्नि, बुझ्नुपर्छ है । बाटो न घाटो कुद्नु हुँदैन नि !,” पोखरीलालले सुनायो ।

“अँ अँ, म पनि त्यही सोच्दै छु । कुरो नखुट्ट्याईकन हिँडिए बाटो बिराउन सकिन्छ,” बालानन्दले मुख खोल्यो ।

ती जहाँ उभिएका थिए, त्यहीँ टक्क अडिइरहे । एकार्काेलाई हेरेर मुसुक्क हाँसे ।

आआफ्ना बाटो छोट्ट्याउने काम सुरु भयो ।

“कसैले कसैलाई विनाउद्देश्य सघाउने कुरै आउँदैन । फेरि, सघाउँछ पनि किन ?,” अप्ठेरो महसुस गर्दै बालानन्दले पोखरीलालतिर हेर्यो ।

“अँ भन्या, साँच्चै हो, मलाई पनि त्यस्तै लागिरहेछ । कसैले निःस्वार्थ रूपमा सघाउँथ्यो भने अस्ति र हिजो पनि त सघाउन सक्थ्यो नि ! आजै मात्र किन ?,” पोखरीलाल बालानन्दतिर फर्कियो ।

ती एकान्त विचरणमा थिए । दुईजनाको साथ थियो । चौतारामा पुग्नपुग्न लागेका थिए । डाँडाबाट बगिरहेको शीतल वायुमा चरा हावामा कावा खाँदै उडिरहेका थिए ।

‘खर्चबर्चको चिन्ता नगर, हामी पछाडि छौँ । काम अगाडि बढाइहाल ।’ को थियो त्यो ? दुवै एकार्कालाई प्रश्न गरिरहेका, सोधिरहेका थिए । पटक्कै उत्तर फेला पर्न सकिरहेको थिएन । खोजी नभएको हैन, तर खोज सफल हुन सकिरहेको थिएन ।

फेरि दुवैलाई ओठ खोल्न अप्ठेरो लागिरहेको थियो ।

“को थियो ?,” पोखरीलाल बालानन्दतिर फर्कियो ।

“को थियो ?,” बालानन्द पोखरीलालतिर फर्कियो ।

दुवै अकमक्क बने । बोल्ने काम भएन । तर, एकार्कालाई हेर्ने काम मजैले भयो ।

आमनेसामने नजरले एकार्कालाई सोधे । उत्तर दुवैसँग थिएन । भएर पनि नभनेको हुनसक्छ, दुवैको मनमा अव्यक्त भाव रहेको कल्पना गर्न सकिन्थ्यो । केही काल हेराहेर गर्ने काम मजैले चल्यो ।

“अहँ, मलाई थाहा छैन,” बालानन्दले भन्यो ।

“मलाई पनि थाहा छैन,” पोखरीलालले थप्यो ।

“त्यसो भए ?,” पोखरीलालले अँध्यारो मुख झन् अँध्यारो बनाउँदै भन्यो ।

“अँ अँ, त्यसै गरौँ न त,” बालानन्दले थप्यो ।

“हामीले हाम्रो पछाडि उभिने को हो त्यो, जान्नुपर्यो नि !,” बालानन्दले मुख खोल्यो ।

“किन पछ्याइरहेको छ त, जान्नु र बुझ्नु आवश्यक छ,” पोखरीलालले थप्यो ।

सम्बन्धित ठाउँमा पुगे । एकपटक हैन, बारम्बार गए र जाँदै रहे । जान न त गए, तर उत्तर बनेर फर्केन । लामो अवधि कुरे र पर्खे, तर पनि त्यो आएन मात्र हैन, आउने छाँट पनि देखाएन ।

“चाहिन्छ चाहिन्छ,” पोखरीलालले भन्यो ।

“तपाईंहरू किन बोल्न चाहनु हुन्न ? म उत्तरको खोजीमा छु,” बालानन्दले थप्यो ।

अहँ, उनीहरूले खोजेको कुरा भेट्दै भेटेनन् । जिज्ञासा कहाँ राखेनन् र ? राख्ने र सक्नेजति सबै ठाउँमा राखे । दलमा पनि कुरा नपुगेको कहाँ हो र ? पुर्याए । तिनीहरूले निरन्तर पछ्याइरहेका भए पनि फेला पार्नचाहिँ अहँ, सकिरहेका थिएनन् । ती हिँडिरहेका मात्र थिएनन्, हिँड्ने अभिलाषा पनि मजैले बोकिरहेका थिए ।

“आआफ्नो काम गर्नाेस्, कोही कसैलाई खोज्ने र चिन्ने काम तपार्इंहरूको होइन । अब ढिला नगर्नाेस्, जति ढिला भयो त्यति बेफाइदा हुन्छ,” ढोकामा उभिने एकजनाले भन्यो ।

ती फेरि अलमलिए । बुझेनन् वा बुझेर पनि आत्मसात् गर्न सकेनन् । मनमा दिगमिग दिगमिग लागिरह्यो । कसो गर्दा होला त ? अहँ, ठम्याउन सकेनन् ।

अन्योल मानेर बसिरहँदा अवज्ञा गरेको आरोप पो लाग्ने हो कि कतै ! मनमा अनेक शंका उपशंका उब्जे । तर, यसो उसोको निर्क्योल गर्न सकेनन् । अप्ठरो भयो र मन अमिलो बनाए ।

“मेरो छायाको पछिपछि उभिने को हो तँ ? चिन्न चाहन्छु । शक्ति मसँगै छ, सञ्चय गर्न तयार छु । तर, अर्काको भर लिएर हिँड्दा एक दिन चिप्लेर लड्ने सम्भावना प्रबल रहन्छ, म मेरै बलबुतामा हिँड्न र उद्देश्य हासिल प्राप्त गर्न सक्छु,” पोखरीलालले अँध्यारो मुख बनाउँदै दाह्रा किट्यो ।

“हो त,” बालानन्दले थप्यो ।

“मलाई म आफैँमाथि विश्वास छ । त्यसैले अर्काको पछि नलागौँ, यो मेरो विनम्र आग्रह हो,” अलि पर उभिएर उनीहरूको कुरा सुनिरहेको एउटाले भन्यो ।

अर्कोले टाउको हल्लाउँदै मुठी कसेर समर्थन गर्यो र

“भो, बहस नगरौँ । यसबाट लाभ होइन, हानि हुन्छ । यो तपाईंहरूको काम पनि होइन । व्यवस्थापन हामी गर्छौ । दायाँबायाँको कोही कसैलाई नसुन्नोस्,” अगाडि उभिने अर्कोले भन्यो ।

ती विद्यार्थी संगठन प्रमुख थिए, तर विद्यार्थी थिएनन् । विद्यार्थी जीवन त एक दशकअगाडि नै छाडिसकेका थिए, तर सबैले विद्यार्थी नेता मान्नुपर्ने एउटा जबर्दस्त मान्यता थियो ।

“अब दायाँबायाँ भए राम्रो हुने छैन,” एउटा जबर्जस्त चेतावनी आयो ।

फरक किसिमले आआफ्ना ठाउँमा विचार राखेका थिए । मानिस फरक थिए । ठाउँ फरक थियो । परिवेश फरक थियो । अवस्था र स्थिति फरक थियो । तर, दुवैतिरको स्थिति एउटै थियो । एकले अर्काेलाई सुनाउँदा आफैँ अचम्मित परेका थिए । अर्को विकल्प पनि थिएन ।

दुवै देशको सुदूरपूर्व र सुदूरपश्चिमका सीमावर्ती जिल्लावासी थिए । काठमाडौं देशको राजधानी पढाइएको थियो । हाजिरीजवाफ प्रतियोगिताका लागि कण्ठ गरेका थिए । कस्तो होला त राजधानी ? मनमा लागेको थियो । नाम मात्रले पनि रोमाञ्चित बनेका थिए ।

गाउँभन्दा गाउँपालिका कार्यालय रहेको ठाउँ अलि राम्रो थियो । त्यहाँ बाटाघाटा थिए । पसल थिए । स्वास्थ्यचौकी थियो । हुलाक थियो । टेलिफोन अफिस थियो । विद्यालय भवन थियो । ठाउँ महत्त्वपूर्ण छ, त्यसैले यति धेरै कार्यालय स्थापना भएका होलान्, उनीहरूलाई लागेको थियो ।

जिल्ला सदरमुकाममा अझै धेरै सुविधा थियो । जिल्लाभरिका सबै ठूला कार्यालय यहीँ थिए । धेरै मानिस सेवासुविधा लिन आउँथे । गाउँमा पढ्ने विद्यालय नभएका कारण सदरमुकाममा पढ्न बसेका थिए । सुदूरपश्चिममा बसेको बालानन्दको घर सुदूरपूर्वमा थियो ।

ऊ मामाघरमा बसेर पढिरहेको थियो । तर, पोखरीलालको घर यहीँ थियो । गाउँमा नभएका बिजुली, खानेपानी, मोटर हिँड्ने बाटो यहाँ थिए । त्यसैले जिल्ला सदरमुकामलाई ठूलो मानेका थिए ।

राजधानी – ओहो, त्यो त कति ठूलो होला कति ! सोचेर, बुझेर तथा संवेदनशील बनेर व्यवहार गर्छ होला लागेको थियो । गाउँ, सहर र राजधानीलाई तुलना गरेका थिए । छातीमा राजधानीप्रति अतिश्रद्धा थियो । तब न राजधानी ! ती मनमनै भन्थे र प्रशंसाको गीत गाउँथे ।

पोखरीलाल र बालानन्दको दिलरानी र अनिरुद्रसँग पटकपटक भनाभन भएको थियो । भनाभन धेरैपटक भए पनि त्योचाहिँ सबैभन्दा ठूलो भनाभन थियो । अवस्था हात हालाहालसम्म पुगेको थियो । मुख छोडाछोड भएको थियो ।

अन्त्यमा स्थिति अलिकति फरक भयो । छन्दावतीले हस्तक्षेप गरिन्, नत्र अप्रिय घटना घट्ने पक्कापक्कीजस्तै थियो ।

छन्दावती उनीहरूकी शिक्षक थिइन् । राजनीति पनि गर्थिन् । दुवैका संगठनलाई आर्थिक रूपमा पनि सघाउँथिन् । माग्नेहरू कसैलाई पनि कहिल्यै खाली हात पठाउँदिनथिन् ।

त्यसो त नसघाइएकाहरूले आँखाको तारो बनाउँथे । यसैले बाँच्नका निम्ति सबैलाई चन्दा हाल्नुपर्ने बाध्यता थियो । संगठनसँग नजिक नभएका शिक्षकलाई त टिक्न समेत मुस्किल पर्थ्यो ।

उनी अलि जब्बर पनि थिइन् । कोही कसैसँग दब्दिनथिन् ।

बलियो संगठननिकट भएकाले तागत देखिएको हो –कोहीकोही यसो पनि भन्थे ।

राजनीतिमा प्रत्यक्ष देखिन्नथिन् । तथापि, कतिपय अप्ठेरामा अगाडि बढ्थिन् मात्र होइन, समाधान पनि खोज्थिन् । त्यतिखेर त्यस्तै भएको थियो ।

उनीहरू मज्जाले तातेको बेला उनी प्ुगेकी थिइन् । हस्तक्षेपमार्फत समस्याको समाधान निक्लिएको थियो ।

दिलरानी  र अनिरुद्र पनि आन्दोलनमा थिए । उनीहरूमाथि कसैको हात र साथ रहेको कुरा बजारमा आयो । पहिले त तिनीहरूले वास्ता गरेनन् । फेरि पनि सन्दर्भ जोडियो ।

“लडाइँ हाम्रै बलमा हुनुपर्छ । अर्काको साथ र सहयोगले त अधीन हैन, पराधीन बनाउँछ,” दिलरानीले भनिन् ।

“मनकै कुरा, यसमा मेरो पनि पूर्ण समर्थन छ,” अनिरुद्रले थप्यो ।

ती दुवै बोलेनन् । त्यो बैठक थियो । अन्य सहभागीहरू पनि थिए । कोही पनि बोल्न खोजिरहेका थिएनन् । चुपचाप सुनिरहेका थिए । यसले दिलरानी र अनिरुद्रमा रहेको आशंकामा मलजल गर्यो । प्रश्न फेरि दोहोरियो ।

“एक्लै लड्न सकिँदैन ?,” तिनीहरूमध्ये एउटाले भन्यो ।

“कसै न कसैको साथ चाहिहाल्छ नि,” अर्काेले थप्यो ।

दिलरानी र अनिरुद्रले विमति जनाउँदै बैठक बहिष्कारको घोषणा गरे । बैठक हलमा मजैको सनसनी मच्चियो । आरोप–प्रत्यारोप चल्यो । दोष एकार्काको टाउकोमा थुपार्ने प्रक्रिया चल्यो । निक्कै समय माथापच्चिसी चलिरह्यो । अहँ, कोही गल्न मानेनन् ।

“अर्काको भरमा अगाडि बढे भविष्यमा उसले लगानीको साउँ मात्र होइन, ब्याज पनि खोज्न सक्छ,” दिलरानीले मुख खोलिन् ।

“हामी नतमस्तक बन्छौँ, अर्थात् केही गनै सक्दैनौँ,” अनिरुद्रले थप्यो ।

परिस्थिति जटिल मोडतिर हिँडिरहेका बेला छन्दावती टुप्लुक्क देखा परिन् । उपस्थित सबैले अन्यमनस्क भावले हेरे ।

“हैन, तपार्इंहरू के गर्दै हुनुहुन्छ ? मलार्ई देखेर चुपचाप पो हुनुभो त,” उनले भनिन् ।

प्रत्युत्तर कसैले लगाएनन् । उनको मनमा आशंका जन्म्यो ।

आन्दोलन सफल भयो । एकएक गरेर महिना हैन, धेरैधेरै वर्ष पनि बित्यो । जनताको अवस्था जस्ताको त्यस्तै रह्यो ।

अस्ति र हिजो, आज पनि थियो । सत्ताछेउमा उभिएकाहरूको स्वर फेरियो । परिवर्तन विगतमा पनि भएको थियो । हरेक सत्ता परिवर्तनसँग छेउछाउ र आसेपासेको आमूल परिवर्तन भएको स्पस्ट देख्न सकिन्थ्यो ।

देशको सिमाना मिचिँदै थियो । सचेत सर्वसाधारणका ध्यान त्यता पुग्दै थिए । तर, छेउछाउका र भविष्यमा माझमा पुग्ने सम्भावना बोकेकाहरू चुपचाप थिए । बक फुरिरहेको थिएन ।

सर्वसाधारणमा आशाको दियो थियो । ती अन्यत्र जान हिचकिचाइरहेका थिए । मनमा चिसो थियो, तर आशाले डगमगाउन दिइरहेको थिएन ।

ती मौनता साधिरहेका थिए ।

“हैन, सहरको स्वभाव यस्तै हो कि क्या हो !,” उसलाई पटकपटक नलागेको हैन ।

सहरमा सत्ता थियो, सबै त्यहीँ झुम्मिरहेका थिए । वरिपरि घुमिरहेका थिए । पाउनेहरू जोगाउन र नपाउनेहरू पाउन वैध–अवैध दुवै प्रक्रिया अपनाइरहेका थिए । कोही कसैलाई दायाँबायाँ हेर्न फुर्सद थिएन ।

जनता देशको सिमाना दिन प्रतिदिन घट्दै गएकामा चिन्तित थिए । अधिकांश मन रोइरहेका थिए, तर अँगेनामा आगो तापिरहेका र ताप्न खोजिरहेकाहरूलाई यो घटनाले अलिकति पनि छोएको थिएन ।

ती वरिपरि कतै नहेरी त्यही प्राप्तिका तरिका र प्रक्रियातिर एकत्रित थिए । सामान्य नागरिकका मन भतभती पोलेको थियो, तर ती केही गर्न सक्ने अवस्थामा थिएनन् ।

विद्यार्थी, किसान र मजदुरका आन्दोलन हुन छाडेको थियो । हेर्दा लाग्थ्यो, सबै समस्याको निराकरण भइसक्यो । तर, त्यो अवस्था थिएन । परिवर्तनपछि सबैका माग फिका भएका थिए वा प्राथमिकतामा परिरहेका थिएनन् । हिजोअस्तिका प्राथमिकता आज फेरिएका थिए ।

एक दिन तिनीहरूले दिलरानी र अनिरुद्रलाई देखेका थिए । उनीहरूसँग आँखा जुधेका थिए । ती नाजवाफ थिए । पटक्कै बोल्न सकिरहेका थिएनन् । आँखा जुधाउन पनि हम्मेहम्मे परिरहेको थियो ।

“अनि...?,” सोधेका थिए ।

तिनीहरूलाई बोल्न गाह्रो भइरहेको थियो । केवल मुहारमा एकटकले हेरेका थिए ।

उनीहरूसँग देशको सिमानाका विषयमा कुरा उठेको थियो । जनजीविकाको विषयमा प्रतिक्रिया आएका थिए । सपनाका विषयमा छलफल भएका थिए । तर, ती नाजवाफ थिए । अहँ, बोलिरहेका थिएनन् ।

“मुनाफासहितको लगानी,” उनीहरूले भनेका थिए ।

ती केही बोल्न सकिरहेका थिएनन् ।

“अन्य केही छन् कि ?,” पुनः सोधेका थिए ।

ती बोल्न सकिरहेका थिएनन् ।

“यो सुरुवात हो,” उनीहरूले थपेका थिए ।

“आफ्नै बलबुतामा अगाडि बढौँ । अर्काको साथ लिनुको अर्थ कमजोर छौँ भन्ने देखाउनु हो,” बारम्बार जोड नगरेका कहाँ हुन् र ? 

तर, सुनुवाइ भएको थिएन । विद्रोह गर्ने अवस्था थियो । ती त्यसो गर्न समर्थ बनेनन् । अन्त्यमा निर्णय शिरोधार्य गरे ।

किन बुझेनन् कुरा ? पक्कै ती नजान्ने थिएनन् –मनमा यस्ता प्रश्न उठ्ने गर्छन् । तथापि, उत्तर छैन । हिजोझैँ सघन भेटघाट हुन छाडेको छ । प्रश्नका उत्तर पाइसकेका छैनन् । खोज्ने क्रम जारी छ, अर्थात् रोकिएको छैन ।

महाभूकम्पले देश थङथिलो थियो । लाखौँ मानिस घरबारविहीन थिए । हजारौँको ज्यान गएको थियो । देश अस्तव्यस्त थियो । परिस्थिति जटिलभन्दा जटिल बनिरहेको थियो । यस्तो स्थितिबीच देशमा नाकाबन्दी थियो । भूकम्पले थङथिलो बनाएको अवस्थालाई यसले नराम्रोसँग बिगारेको थियो ।

मुलुकको अवस्था नाजुक थियो । मन्त्रीहरू नाकाबन्दीलाई नाकाबन्दी भन्न डराइरहेका थिए । त्यो गज्जबको दृश्य थियो । छक्क बनेका थिए ती ।

सम्भवतः तिनीहरूको नजरमा देशभन्दा सत्ता ठूलो थियो । सत्ताप्राप्ति निम्ति आफूलाई नै बिर्सिइरहेका थिए । कैयौँ दिनसम्म उत्तर खोजे, तर पाउन सकिरहेका थिएनन् ।

मत फरकफरक ठाउँमा जान्थ्यो । वादविवाद गर्थे । विचारविमर्श हुन्थ्यो । “बौद्धिक र तार्किक विचारको लडाइँ हुनुपर्छ है, हामीबीच,” ती त्यसो पनि भन्थे ।

कतिपय सवालमा मत एक ठाउँमा पनि हुन्थ्यो । नाकाबन्दीमा ती एक ठाउँमा थिए । सीमारक्षामा सधैँ एकसाथ हुन्थे र भइरहेका थिए । यो केही हैन भन्नेलाई ललकारेका पनि थिए ।

देशको सिमाना कहिले कता त कहिले कता दुख्थ्यो । त्यहाँ जातीयता, क्षेत्रीयता, भाषा, विचार र समुदाय मिसिँदैनथ्यो । अन्यत्र छुट्टिन्थे, मिसिन्थे र कतिपय अवस्थामा पिसिन्थे ।

ती त्यस्ता कुराहरूबाट कहिल्यै डराउँदैनथे, न त भाग्थे नै । बालानन्द यादव, पोखरीलाल चौधरी, अनिरुद्र झा, छन्दावती कुशवाहा र दिलरानी मोची थिइन् ।

मानिस घरघरमा विभजित थिए । विश्वास छरिएको थियो । विचार पोखिएका थिए । आस्था बगिरहेको थियो । कोही खेलिरहेको थियो । केही खेलाइरहेका थिए ।

ओठओठमा प्रश्न थियो, तर उत्तर थिएन । उत्तरको खोजीतिर कसैको ध्यान जान सकिरहेको थिएन । समय हिँडिरहेको थियो । गतिले गति समातिरहेको थियो, तर विचारमा विश्वास जम्न सकेको थियो ।

दुवै स्नातकोत्तर सकाएर बेरोजगार बनेका नवयुवा थिए । उनीहरूका मनमा विविध प्रश्न जन्मिरहेका थिए । हो, जन्मने क्रम रोकिएको थिएन । ती रोकिने अवस्थामा पनि थिएनन् । ती सबै एकएक गर्दै सोचसागरमा हराइरहेका थिए ।

“हैन, तपार्इंहरू अघिदेखि नै उठ्नुभएको छैन कि क्या हो ?,”  बस्न आउनेमध्येको एकजनाले सोध्यो ।

ती झल्याँस्स बिउँझे । घाम झलमल्ल लागिरहको थियो । आउनेहरू पसिना पुछ्दै चौतारामा बस्न खोजिरहेका थिए ।

“हजुर,” तिनीहरूका टाउका एकसाथ हल्लिए ।

“आम्मामा, हामी त बजार पुगेर आइसक्यौँ !,” आउनेहरूले भने ।

“हो हो, स्मृतिसागरमा पो हराइएछ, हगि ?,” बालानन्दले भन्यो ।

“अँ त !,” पोखरीलालले थप्यो ।

आँखा मिच्दै दुवै आएको बाटोतिरै फर्किए ।  

(स्वाभिमानबस्ती, बारा)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro