दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ । परीक्षा नियन्त्रण र सहनियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ ।
केन्द्रीय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको हो । नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियूले पनि समाजशास्त्रको छैटौँ सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै तालाबन्दी गरेको हो । ३८ दिनदेखिको तालाबन्दीले विश्वविद्यालयका कामकाज प्रभावित भएका छन् ।
विश्वविद्यालयको कार्यकारी परिषद्बाट विभिन्न आंगिक क्याम्पसमा तथा केन्द्रीय विभागमा रिक्त रहेको क्याम्पस प्रमुख र विभाग प्रमुखको विषयलाई लिएर विद्यार्थी संगठनले तालाबन्दी गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ । एमाले निकट अनेरास्ववियुले सहमतिमा ताला खोले पनि अरु विद्यार्थी संगठनको ताला हालसम्म खुल्न नसकेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए ।
“विद्यार्थी संगठनले नियुक्ति खारेजीको माग राखेका छन्”, उनले भने, “विश्वविद्यालयले नियमसंगत गरेको नियुक्त खारेज नहुने भएपछि पटक–पटक वार्ता र संवाद हुँदा पनि निष्कर्षमा पुग्न सकिएको छैन ।” विश्वविद्यालयमा भएको तालाबन्दी महिनाभन्दा बढी हुँदासमेत विश्वविद्यालय सञ्चालन गर्न कसैले चासो लिएको पाइँदैन । विश्वविद्यालयले गरेका हरेक निर्णयमा जहिले पनि तालाबन्दी हुने गरेको छ । यसअघि पनि विश्वविद्यालयमा नौ महिनासम्म तालाबन्दी गरिएको थियो ।
विद्यार्थी संगठनले भने आफूहरूका माग पूरा नभएसम्म तालाबन्दी खोल्न नसक्ने बताएका छन् । रासस