site stats
बाह्रखरी :: Baahrakhari
देश
अस्पतालबाट हराएको शिशु बिक्री भएको खुलासा, चिकित्सक नै संलग्न !

विराटनगर । विराटनगरको ग्रिनक्रस अस्पतालबाट हराएको शिशु बिक्री भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्नलाई पक्राउ गरेपछि शिशु बिक्री गरेको खुलासा भएको हो । 

मोरङको कटहरी गाउँपालिका–२ की दिलमाया राजवंशीले शिशु खरिद गरेको पाइएको प्रहरीले जनाएको छ । अविवाहित महिलाले जन्माएको शिशु बिक्री गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । शिशु बिक्रीमा प्रसूति गराउने र उपचारमा संलग्न चिकित्सक नै रहेको प्रहरीको भनाइ छ ।

गत असार १३ गते ग्रिनक्रस अस्पतालमा भर्ना भएकी २६ वर्षीया युवतीले भोलिपल्ट सामान्य प्रसूतिमार्फत छोरी जन्माएकी थिइन् । उपचारमा संलग्न चिकित्सक तपेश्वरलाल कर्णले नै राजवंशीलाई शिशु बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले पहिले क्लिनिकमा गर्भवतीको परीक्षण गराएपछि मात्र आफू कार्यरत ग्रिनक्रस अस्पतालमा लगेर सामान्य प्रसूति गराएका थिए ।

"के कति रकम लेनदेन भयो भन्ने खोजी गर्दै छौँ । शिशु हामीले लिएर आएका छौँ," डीएसपी दाहालले भने । 

प्रहरीले घटनामा अन्यको समेत संलग्नताबारे अनुसन्धान गरिरहेको छ । 

सामान्यरूपमा छोरीको जन्म भए पनि आफूलाई नदिई गायब बनाइएको विवरणसहित युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो । भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र ती युवतीबीचको सम्बन्धबाट गर्भ बसेपछि प्रेमिका भनिएकी युवतीलाई राईले विराटनगर ल्याएका थिए ।

प्रेमी भनिएका राईलाई प्रहरीले पक्राउ गरेको छ । उनले अस्पतालमा आफ्नो नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ लेखाएको पाइएको छ । ठेगाना भोजपुर नलेखी सुनसरीको रामधुनी–११ जनाइएको थियो ।

अस्पतालबाट डिस्चार्ज भएपछि राईले युवतीलाई इटहरी लगेको र त्यहीँको होटेलमा राखेको उनले प्रहरीसमक्ष बयान दिएकी थिइन् । होटेलमा राखेर राई भागेको र फर्किएर नआएको युवतीले बताएकी छन् । आफूलाई शिशुबिनै होटेलमा पुर्‍याइएको उनको भनाइ छ ।

युवतीले भनिन्, “उहाँले मेरो बच्चा गायब बनाई फर्केरसमेत नआएपछि मैले प्रहरीकहाँ उजुरी दिएकी थिएँ ।” 

प्रसूति गराउने चिकित्सक प्रहरीले पक्राउ गर्ने भएपछि बिरामी भएको बाहना गर्दै अस्पतालमा भर्ना भएका थिए ।‌ ग्रिनक्रस अस्पतालका अध्यक्ष कृष्ण खवासका अनुसार ९५० ग्रामको शिशु जन्मिएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्