काठमाडौं । मुलुकको ३१औँ प्रधानन्यायाधीशको सूचीमा दर्ज भएका छन्, विश्वम्भरप्रसाद श्रेष्ठ । ६४ वर्षीय श्रेष्ठको कार्यकाल तेह्र महिनाको हुनेछ । उनी २०८१ असोजसम्म प्रधानन्यायाधीशको कुर्सीमा बहाल रहनेछन् ।
उनी कानुन मन्त्रालयमा शाखा अधिकृतका रुपमा २०३८ चैत २७ मा सरकारी सेवामा प्रवेश गरेका थिए । कानुन र न्यायको चौघेरो ४२ वर्ष बिताएपछि उनलाई प्रधानन्यायाधीशको कुर्सी मिलेको हो ।
मन्त्रालयमा केही समय रहेपछि जिल्ला न्यायाधीशका रुपमा पाँच जिल्लामा कार्यरत रहे ।
जिल्ला न्यायाधीशपछि पुनरावेदन अदालतका न्यायाधीश, मुख्य न्यायाधीश हुँदै २०७३ साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति मिलेको थियो । सर्वाेच्च अदालतमा सात वर्ष न्यायाधीश बनेपछि वरिष्ठताका आधारमा उनलाई प्रधानन्यायाधीश पद मिलेको हो ।
विगतमा प्रधानन्यायाधीश नियुक्तिका बेला कुनै न कुनै किसिमको विवाद उत्पन्न हुन्थ्यो । श्रेष्ठका हकमा त्यस्तो कुनै विवाद देखिएन । संसदीय सुनुवाइ समितिबाट पनि सहजै उनको नाम अनुमोदन भएको थियो ।
उनी ‘क्याडर जज’बाट प्रधानन्यायाधीश बनेको हुँदा ‘क्याडर जज’हरुमा न्याय पाउने अपेक्षा जागेको छ । नत्र ‘क्याडर जज’का निम्ति माथिल्लो पदमा सहजै ढोका नखुल्ने कानुन व्यवसायबाट सिधै न्यायाधीश बनेकाहरुले मौका पाउने क्रम बाक्लिएको छ ।
त्यहीकारण बेलाबखत न्यायिक क्षेत्रमा ‘दाई जिल्ला न्यायाधीशहरुको उच्चमा नियुक्त भाइ न्यायाधीशलाई शुभकामना’ शीर्षकमा आलेख छापिने प्रचलन स्थापित भएको छ । यतिखेर सर्वाेच्चदेखि जिल्ला न्यायाधीशसम्म नियुक्तिको संख्या ठूलै छ ।
श्रेष्ठका सहकर्मी न्यायाधीशहरु उनलाई मुद्दा छिन्न जान्ने न्यायाधीशका रुपमा उनलाई लिन्छन् ।
नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठका हकमा एक पूर्वप्रधानन्यायाधीशको टिप्पणी थियो, “उनी काम टार्दैनन्, मुद्दा छिन्न जान्दछन् । उनी काम गर्ने, हल्ला नगर्नेका न्यायाधीश हुन् । मुद्दा पन्छाउने र गफ दिने न्यायाधीशभित्र उनी पर्दैनन् । हामीलाई मुद्दा छिन्ने न्यायाधीश चाहिएको हो । त्यो गुण उनमा छ ।”