site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
को बन्दैछ देउवाको उत्तराधिकारी ? दौडमा छन् धेरै नेता, आरजु व्यवस्थापनको मुख्य चिन्ता ! 
SkywellSkywell

काठमाडौं । १३औं महाधिवेशनमा फरक समूहबाट महामन्त्री निर्वाचित भएका डा. शशांक कोइराला आफ्नो कार्यकालभर सभापति शेरबहादुर देउवाको सहयोगी बनेको आलोचना खेपे ।  तत्कालीन संस्थापन अर्थात् कोइराला समूहबाट रामचन्द्र पौडेल समूहबाट महामन्त्री लडेका कोइराला महामन्त्रीमा प्रचण्ड मतसहित निर्वाचित हुँदा पौडेल भने सभापतिमा पराजित भएका थिए । 

सभापतिमा देउवा निर्वाचित भए ।  नेपाली कांग्रेसभित्र स्थायी बनेको गुटबन्दीमा कोइराला देउवा भन्दा फरक गुटमा थिए ।  तर महामन्त्रीका रुपमा उनले समूहको प्रतिनिधि भएर कहिल्यै धारणा राखेनन् ।  देउवाले गर्ने निर्णयमा समर्थन मात्र होइन कतिपय सार्वजनिक बचाउमासमेत शशांक उत्रिए । त्यही कारण उनको विरोध हुँदा पनि उनले त्यसको प्रतिवाद गरेनन् बरु मौन बसे । 

एउटा समूहबाट निर्वाचित भएर अर्को समूहलाई सहयोग पुग्नेगरी काम गरेको भनेर आलोचना हुँदा शशांकले प्रतिप्रश्न गर्ने गर्थे –महामन्त्रीले सभापतिलाई असहयोग गर्न मिल्छ ? उनले पार्टी संस्थागत ढंगले चल्न्ुपर्ने भन्दै समूह, गुट सबै चुनावी प्रयोजनका लागि मात्र हुने बताउने गरेका थिए । 

KFC Island Ad
NIC Asia

“महाधिवेशन चुनावी प्रयोजनका लागि हो । महाधिवेशन सकिएपछि त सबै कांग्रेस हो नि ! म रामचन्द्र पौडेल टिमबाट लडेर जितेँ शेरबहादुरजी सभापतिमा जित्नुभयो । तर, चुनावको परिणाम आएसँगै त्यो समूहको औचित्य त सकियो नि !,” डा. शशांकले बाह्रखरीसँग भने, “महामन्त्रीका रुपमा मैले शेरबहादुरजीलाई असहयोग गर्न थाले भने पार्टी स्प्लिट हुँदैन ?” 

उनले समूहका नाममा गतिविधि गर्नु उचित नहुने बताए ।  शशांकले १४औँ महाधिवेशनमा कसैले पनि आफूलाई टिममा नबोलाएको भन्दै आफूले टिमविहीन उमेदवारी दिएर सदस्यमा राम्रो मत पाएको बताए ।  

Royal Enfield Island Ad

निकटहरुका अनुसार सभापति देउवाले त्यसबेला नै डा. शशांकलाई  आफ्नो उत्तराधिकारी बनाउने आश्वासन दिएका थिए ।  देउवाको भनाइ उद्धृत गर्दै ‘मैले छोड्ने बेलामा पार्टी बीपीका छोरालाई बुझाउँछु’ भनेको कोइरालाले बाह्रखरीसँग बताएका थिए ।

देउवाले त्यही आश्वासनमा १४औं महाधिवशेनमा शशांकलाई डा. शेखरसँग उभिन रोकेका थिए– जुन देउवाको जितको आधार पनि बन्न पुग्यो । कतिसम्म भने शेखर कोइराला समूहले डा. शशांकलाई आफ्नो टिममा देखाउनका लागि पत्रकार सम्मेलन आयोजना गर्‍यो ।

तर, मतदानको अघिल्लो दिन कोइराला समूहले अनुपम फूडल्याण्डमा राखेको पत्रकार सम्मेलनमा डा. शशांक अनुपस्थित रहे ।  धेरै समय कुरेर शशांक नआउने जानकारी पछि पत्रकार सम्मेलन भयो ।  त्यसको केहीबेरमै प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाको सचिवाललयले शशांकले बालुवाटारमा देउवालाई भेटेको तस्बिर सार्वजनिक गरेको थियो ।

त्यसले नै देखाउँछ– शशांक शेखरको होइन देउवाको उत्तराधिकारी बन्ने दौडमा त्यसबेलैदेखि थिए ।  १४औं महाधिवेशनपछि निस्क्रिय रहेका डा. शशांकले यही साउन २–१० सम्म चलेको केन्द्रीय समितिको विश्रामको दिन साउन ९ गते चियापान आयोजना गरे । 

उनको चियापानमा पुग्न प्रायः कुनै नेता छुटेनन् । त्यसलाई शशांक निकटहरु १५औं महाधिवेशनमा साझा सभापतिको उमेदवारको सन्देशका रुपमा अर्थ्याउँछन् । 

“नेपाली कांग्रेस अहिले संस्थापन पक्ष र इतर पक्षमा विभाजित छ । एउटै पार्टी भए पनि फरक पार्टीसरहका अभ्यास भइरहेको तपाईँहरुले नै देखिराख्नुभएको छ,” केन्द्रीय सदस्य उर्मिला थपलियाले बाह्रखरीसँग भनिन्, “यस्तो अवस्थामा दुवै पक्षले विश्वास गर्ने साझा व्यक्तिको आवश्यकता छ । कांग्रेसलाई एक बनाउने व्यक्तित्व सभापति नबने कांग्रेस सधैँ विभाजित नै रहन्छ र थप कमजोर हुन्छ भन्ने चिन्ता गर्नेहरु शशांक डा.सा’बलाई अघि बढ्न आग्रह गरिरहनुभएको छ ।”

०००
नेपाली कांग्रेसको विधानअनुसार लगातार दुईपटक भन्दा बढी सभापति बन्न पाइँदैन । उमेर ७७ वर्षका सभापति देउवा लगातारको दोस्रो कार्यकालमा छन् ।  नेपाली कांग्रेसको विधानअनुसार वर्तमान सभापति देउवाको कार्यकाल ०८२ साल मंसिरमा सकिँदैछ । 

त्यसबाहेक उनले महाधिवेशन धकेलेर अघिल्लो कार्यकालको अभ्यासअनुसार एक वर्ष धकेल्न सके भने ०८३ सम्म महाधिवेशन सर्न सक्छ ।  त्यसबाहेक देउवाको कार्यकाल थप हुने वैधानिक बाटो बाँकी छैन । तर, देउवाको अन्तिम कार्यकाल भएको र ०८३ साल ०८४ को चुनावको तयारीमा वर्ष भएकाले पनि सम्भवतः उनी महाधिवेशन धकेल्न सक्षम नहुन सक्छन् । 

यो अवस्थाले डा. शशांक जस्तै अरु नेताहरु पनि देउवाको उत्तराधिकारी बन्ने दौडमा छन् ।  कुनैबेला देउवाका कडा आलोचक कृष्ण सिटौला १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमासमेत प्रतिष्पर्धा नगरेरै देउवालाई सहयोग गरे ।

उनले महामन्त्रीमा प्रदिप पौडेललाई अघि सारे तर आफू प्रतिष्पर्धामा उत्रिएनन् ।  १३औं महाधिवेशनमा पनि दोस्रो चरणमा देउवालाई सहयोग गरेका सिटौलाले एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि देउवाकै विरोधमा उत्रिएका थिए ।

त्यसपछि उनी जसरी पनि देउवाको विकल्प कांग्रेसले खोज्नुपर्ने निष्कर्षमा पुगेका थिए ।

“मलाई मासले नेता मानिदिएन । रामचन्द्र पौडेल दह्रोसँग उभिन सकेनन्,” त्यसबेला सिटौलाले निकटहरुसँग भन्ने गरेका थिए, “देउवाकै नेतृत्व दोहोरियो भने कांग्रेसको शाख बाँकी नरहन सक्छ । पार्टी दलाल र विचौलियाका हातमा पुग्न सक्छ ।”

यस्तो चिन्ता गरेका सिटौला १४औं महाधिवेशनमा पनि देउवाकै पक्षमा उभिए ।

सिटौला अहिले देश दौडाहामा निस्कँदै छन् । भदौको पहिलो साता गृह प्रदेशबाट सुरु गरेर उनी सबै क्षेत्रका नेता कार्यकर्ता र मिलेसम्म सर्वसाधारणसँग समेत अन्तरक्रिया गर्ने तयारीमा छन् । सिटौलाले सभापतिको चुनावी तयारीमा निस्कन लागेको हो भन्ने प्रश्नमा भने घुमाउरो जवाफ दिन्छन् । 

“अहिले सभापतिका लागि लाग्ने समय होइन । अहिले पार्टीको स्वास्थ कसरी सुध्रन्छ त्यो हेर्नुपर्छ,” सिटौला भन्छन्, “महाधिवशेनको तयारी अन्तिम वर्ष गर्ने हो । अरुले पनि अहिलेदेखि सभापतिको मिसनमा हिँड्न हुँदैन त्यसो भयो भने पार्टी थप कमजोर हुन्छ ।” 

०००
१४औं महाधिवेशनमा शेरबहादुर देउवा पुनः सभापतिमा निर्वाचित हुने प्रमुख कारण बनेको थियो –संस्थापनइतरमा आएको विभाजन । 

सभापतिमा उमेदवारी घोषणा गरेका प्रकाशमान सिंह शेरबहादुर देउवा सभापतिमा निरन्तर भए कांग्रेसलाई जनताले भोट नदिने भन्दै आफ्नो उमेदवारीको प्रचारमा निस्किएका थिए ।  उनको त्यसबेलाका आशय जो सभापति भए पनि देउवा दोहोरिनु हुन्न भन्ने थियो । 

तर, देउवाको विकल्पमा संस्थापनइतरले साझा उमेदवार तय गर्न सकेन ।  सिंहले रामचन्द्र पौडेल वा शेखर कोइराला कसैलाई पनि नछाड्ने अडान लिए ।  सभापतिको तयारीमा तुलनात्मक रुपमा राम्रो तयारी गरेका शेखर कोइराला रामचन्द्रबाहेकको हकमा आफू उमेदवार बन्ने अडानमा अडिए । दुई नेताको टकरावमा साझा उमेदवार बन्न चुकेका रामचन्द्र पौडेल निस्क्रिय बसिदिए । 

सिंह र डा. शेखर संस्थापनइतर समूहबाट सभापतिको उमेदवार बनेपछि देउवा पहिलो चरणमा बढी मत ल्याउन सफल भए ।  दोस्रो भएका डा. शेखर कोइरालाले मात्र उनीसँग दोस्रो चरणको प्रतिस्पर्धामा भाग लिन पाए । 

तर, ‘देउवा सभापति भए जनताले कांग्रेसलाई भोट नै हाल्दैनन्’ भनेका सिंहले दोस्रो चरणमा उनै देउवालाई समर्थन गरे । देउवाले ‘गृहमन्त्रीको लोभ देखाएको’ भनेर त्यसबेला सिंहको आलोचना भएको थियो । त्यसपछि नै सिंहले देउवालाई समर्थन गर्न तयार भएको कांग्रेसभित्रकै जानकारहरु बताउँछन् ।

उनीभन्दा थोरै मत पाएका विमलेन्द्र निधिले पनि देउवालाई नै समर्थन जनाएपछि देउवा दोस्रो पटक कांग्रेसको सभापति निर्वाचित भए ।  १३औं महाधिवेशनमा दोस्रो चरणमा देउवालाई सघाएर सबैभन्दा आलोचनाको तारो बनेका थिए– कृष्ण सिटौला । 

१४औं महाधिवेशनमा त्यो आलोचनाको तारो सिंह बन्न पुगे ।   उनलाई आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–१ मा समेत चुनावी संकट आएको थियो ।  अघिल्लो निर्वाचन भन्दा निकै कम मत पाएका सिंह धेरै उमेदवारबीच मत बाँडिदा १२९ मतको झिनो मतान्तरले जोगिएका थिए । 

उनको त्यही आलोचनाका कारण श्रीमती सिर्जना सिंहसमेत  काठमाडौं महानगरपालिकाको प्रमुखमा चुनाव लड्दा फराकिलो मतान्तरले पराजित हुनुपरेको कांग्रेसकै नेताहरू बताउँछन् ।

सिंह भने त्यसबेला खेपेको आलोचनालाई शक्तिका रुपमा प्रयोग गर्ने दाउमा छन् । उनी ठूलो आलोचना खेपेर सभापतिमा जिताएको अनि सभापति भएपछि पनि सहयोगी भूमिका निभाउँदै देउवाको उत्तराधिकारी बन्ने दाउमा छन् । 

उनी निकटहरु सिंह नेपाली कांग्रेसको उपसभापति र निर्वाचित महामन्त्री भएर काम गरिसकेको भन्दै सभापतिका स्वाभाविक आकांक्षीका रुपमा अर्थ्याउँछन् । 

“उहाँ उपसभापति र सुशील कोइरालाको निर्वाचित महामन्त्री भएर काम गरिसक्नुभएको छ । उपप्रधानमन्त्री भएर पनि काम गरिसक्नुभएको छ,” उनी निकट एक नेता भन्छन्, “अब उहाँ पार्टी सभापति र प्रधानमन्त्री बन्न बाँकी हो र दुवै पदका लागि स्वाभाविक प्रतिस्पर्धी हो ।”

तर सभापति देउवाको सहयोगबिना सम्भव नभएको र देउवाबाट त्यो सम्भावना पनि नभएको जानकारहरू बताउँछन् ।


०००
देउवाको उत्तराधिकारी बन्दै नेपाली कांग्रेसको नेतृत्व सम्हाल्ने अर्का आकांक्षी हुन् विमलेन्द्र निधि । लामो समयदेखि देउवाका प्रमुख विश्वास पात्र निधि १४औं महाधिवेशनको संघारमा देउवाबाट अलग हुँदै सभापतिको उमेदवार बनेका थिए । 

उनले हतार गरेर फरक समूह चलाउन खोज्दा उनीसँग लागेका डडेलधुरा कांग्रेसका सभापति कर्ण मल्ललाई देउवाले पार्टीबाटै निस्कासन गरिदिएको दाबी छ ।  पत्नी आरजुसँग ‘इगो’को लडाइँमा रहेका मल्ल देउवाका लागि ‘सबैभन्दा निकट’ भएर पनि तारो बनेका थिए । 

देउवा समूहकै नेता मल्ललाई आरजुसँगको झगडाले जिल्ला राजनीतिमा समस्या परिरहेको थियो । ठिक त्यसैबेला निधिसँग लागेपछि मल्ललाई पार्टी महाधिवेशनको प्रक्रियाबाटै अलग गरिदिएका देउवाले मल्ललाई आफू विरुद्ध चुनावमा उमेदवारी दिएसँगै पार्टी निकाला गरिदिए । 

आफ्नो समूहबाट अलग भएपछि निधि निकटहरुलाई मल्ललाई जस्तै गरेर देउवाले महाधिवेशनमा कमजोर पारिदिएका थिए ।  त्यही कारण सभापतिमा एकदमै कम मत पाएका निधि त्यही महाधिवेशनको दोस्रो चरणमा भने देउवाका समर्थक बने ।

त्यसयता उनी देउवासँगै सहकार्यमा छन् । समानुपातिकतर्फ बसेर सांसद भएका निधि देउवाको उपनेता भएर काम गर्न इच्छुक छन् । त्यतिमात्र होइन उनी देउवालाई संकट पर्दा काँध थाप्ने नेतामा पर्छन् ।

निधिलाई देउवा टिमभित्रैबाट टाढा राख्ने प्रयास भए पनि देउवालाई निधिजस्तो भरपर्दो सहयोगीको अभाव रहेको बताइन्छ । देउवाले समय समयमा भन्ने गरेको त्यस्तो आवश्यकता पूरा गर्न पूर्णबहादुर खड्का, प्रकाशशरण महतसहितले मेहनत गरिरहेका छन् । 

तर, देउवा निकटहरुका अनुसार निधिसँग देउवा जति विश्वस्त हुन सक्थे त्यस्तै विश्वास भने अन्य नेताहरुले आर्जन गर्न सकेका छैनन् । देउवा सरकारमै रहेका बेला निधिलाई पुरानै भूमिकामा फर्काउने प्रयास पनि नगरेका होइनन् । 

तर, उनको टिममा रहेकाहरुले धोका दिएका व्यक्तिलाई विश्वास गर्न सकिन्न भन्दै प्रतिवाद गरेपछि देउवाले पूर्ण रुपमा निधिलाई टिममा राखेर परिचालन गर्न पाएका छैनन् । तर, पनि निधि र उनीबीचको सम्बन्ध भने उच्चस्तरको छ । 

कांग्रेसको केन्द्रीय समिति पछि निधिले केन्द्रीय समिति, संसदीय दलसहितलाई ‘डिनर पार्टी’ दिएका थिए । उक्त पार्टीमा देउवा उपस्थित मात्र भएनन् लामै समयसम्म त्यहाँ बसेर निधिसँग रमाएका थिए । 

निधिले आमन्त्रितलाई स्वागत गर्दै भाषणको कार्यक्रम नभएकाले सभापति देउवालाई मात्र छोटो मन्तव्यका लागि अनुरोध गर्दै माइक सुम्पिएका थिए । तर, देउवाले रमाइलो प्रतिक्रिया दिएर सबैलाई स्वागतमा खट्न निधिलाई सुझाएका थिए । 

“भर्खर त आएको खाना चाखेकै छैन के भन्ने यार !,” देउवाले भनेका थिए, “खाना मिठो छ कि छैन अन्तिममा भनौँला अहिलेलाई सबैलाई स्वागत गर्नुस् ।” 

देउवाले यतिमात्र भनेर निधिको पार्टीमा सामेल भएका थिए ।  स्रोतका अनुसार १०–१५ मिनेका लागि भनेर आएका  देउवा एकघण्टा बसेपछि निधि देउवालाई भेट्दै बाँकी आमन्त्रितलाई स्वागत गर्ने आलोपालो गरिरहेका थिए । 

देउवा र निधिबीचको त्यो व्यवहारले नै उनीहरुको सम्बन्धको उचाइ प्रष्ट पार्ने एक नेता बताउँछन् ।
 
००० 
देउवाको उत्तराधिकारीका रुपमा आफूलाई प्रस्तुत गर्ने अर्का व्यक्ति हुन्– एक नम्बर वरीयताका उपसभापति पूर्णबहादुर खड्का । 

१२औं महाधिवेशनमा सुशील कोइरालाको सहमहामन्त्री हुँदा समेत खुमबहादुर खड्काको समूहको कोटामा देउवाकै सिफारिस पाएका खड्का त्यसयता देउवासँगै छन् । उनी देउवा टिमका विषयमा आउने आलोचनालाई अप्रत्यक्ष खण्डन गर्छन भने टिमका लागि प्रतिबद्ध भएर काम गर्छन् ।

१३औं महाधिवेशनपछि देउवाको मनोनीत महामन्त्री भएर काम गरेका खड्का देउवाका प्राविधिक कामको समेत जिम्मा लिएर काम सम्पन्न गर्छन् । 

तर, उनी पछिल्लो समय भने सरकारमा टिमको नेतृत्व गरेर गएका छन् भने उनी लोकप्रियताका पछि भन्दा पार्टीका तर्फबाट गठबन्धनमा समस्या नहोस् भनेर भूमिका निभाइरहेका छन् । 

तर उनीसँग देउवा र देउवाका अति निकटका नेताहरु विश्वस्त छैनन् । महाधिवेशनमा देउवाले सहयोग नगरे फरक गुटको पनि तयारीमा खड्का लागेको बताउँछन् कांग्रेस नेताहरु ।

देउवा समूहबाट महामन्त्रीको उमेदवार बनेका डा. प्रकाशशरण महतलाई हराउने भूमिका खेलेर विश्वप्रकाश शर्मालाई सहयोग गरेको आरोपका कारण देउवा टिमको एउटा गुटले उनलाई नेताका रुपमा स्वीकार गर्दैन । 

फरक समुहबाट शेखर–गगन

देउवाको उत्तराधिकारी बन्न लागि परेका यी पाँचबाहेक कांगेसमा सभापतिका अर्का आकांक्षी हुन् – डा. शेखर कोइराला ।  १४औं महाधिवेशनबाट पाएको २६औं वरीयताबाट पहिलो वरीयताको सभापतिमा चुनाव लडेका कोइरालाले पहिलो प्रयासमै देउवालाई झड्का दिएका थिए । 

पहिलो पुस्ताका नेताहरु रामचन्द्र पौडेल र कृष्ण सिटौलासमेतको साथ नपाएका कोइराला दोस्रो पुस्ताका विमलेन्द्र निधि, प्रकाशमान सिंहसहित धेरै नेताहरुको असहयोगका बावजुत ४१ प्रतिशत मत ल्याउन सफल भएका थिए । 

महाधिवेशनमा पराजित भए पछि देउवासँग भागबण्डा नखोज्ने घोषणा गरेका कोइराला पछिल्लो समय भने भ्रातृ संस्थासहितमा भाग नलिएका कारण टिम बलियो हुन नसकेको आरोप खेपिरहेका छन् । 

संघीय चुनावसम्म देउवाको बहिस्करणमा पुगेका कोइरालालाई संघीय चुनावदेखि भने देउवाले भेटघाटमा बोलाउने र निर्णय प्रक्रियामा सामेल गराउन थालेका छन् ।  निकटतम प्रतिस्पर्धी दोस्रो वरीयतामा हुने अभ्यास पन्साउँदै पूर्वपदाधिकारी भन्दा तल अर्थात् २६औं वरीयता दिएका देउवाले उनलाई पार्टी कार्यालय कार्यकक्ष समेत दिएका थिएनन् । 

केही समयअघि मात्र कोइरालालाई कार्यालयमा कार्यकक्षको व्यवस्था गर्न सभापतिले निर्देशन दिएका थिए । कोइराला कांग्रेसमा कार्यकर्तामाझ सबैभन्दा धेरै पुग्ने नेताका रुपमा चिनिन्छन् । देउवासँग सभापतिमा हारेका कोइराला पछिल्लो समय देउँवासँगै गएको भनेर उनका आलोचकहरुले टिप्पणी गर्दा उनी ‘सभापतिसँग नभेट्नु पर्ने हो ?’ भनेर प्रतिप्रश्न गर्छन् । 

अनुपम फूडल्याण्डमा भएको कार्यक्रममा शेखर कोइरालाले आफू कसैको समर्थन लिएर कसैका निगाहमा यहाँसम्म नआएको भन्दै आफ्नो विश्वास सधैँ कांग्रेसका नेता कार्यकर्तामा रहेको बताए । 

“मलाई मेरो परिवारले गाली गर्न सिकाएको छैन । म देउवाजीको गाली गर्दै हिँडिन भन्दैमा देउवा सँगै गयो भन्नु न्यायोचित हुन्छ ?,” प्रश्न गर्दै शेखरले भने, “हिजो म ४१ प्रतिशत मतको नेता हुँ । अब पनि त्यति मै बस्ने कि बहुमत पुर्‍याउन साथीहरुको साथ लिने ?” 

उनले देउवा समूहमा गएकाहरुले पनि भोलिका दिनमा आफूलाई समर्थन गर्ने भन्दै समर्थन गर्न पाउँदैनस् भन्ने कुरा अरुले पनि उठाउनु उचित नहुने बताए । 

“म १४औं महाधिवेशनमा सभापतिको उमेदवार हो । १४औं महाधिवेशनमा मसँग रहेका साथीहरु मसँगै रहनुहुन्छ भन्ने विश्वास छ,” शेखर भन्छन्, “त्यसबाहेक पनि धेरैजना मसँगै रहनुहुनेछ भन्ने विश्वास मलाई छ ।” 

डा. शेखर आत्मविश्वाससहित प्रस्तुत भए पनि उनकै टिमबाट महामन्त्री गगन थापा १५औं महाधिवेशनमा सभापतिको उमेदवार हुने तयारीमा छन् । महामन्त्री थापा निकटहरु १५औं महाधिवेशनमा थापा सभापतिको उमेदवार हुने बताउँछन् । 

तर, महामन्त्री थापा स्वयम्ले भने विराटनगर पुगेर १५औं महाधिवेशनसम्म १४औं महाधिवेशनमा बनेको शेखर कोइराला नेतृत्वको टिम निरन्तर हुने भन्दै त्यो नघट्ने बरु थपिने बताएका थिए । 

पछिल्लो केन्द्रीय समिति बैठकमा भने विश्वप्रकाश शर्मा र गगन थापाको सहकार्य देखियो भने केन्द्रीय समितिको प्रस्तुतिमा महामन्त्री थापाको बचाउमा शेखर समूह उभिएन । त्यसलाई महामन्त्री थापाले आफ्ना लागि उपयुक्त अवसरका रुपमा व्याख्या गरेका छन् । 

“म कुनै समूहको नेता नभएर महामन्त्रीको रुपमा प्रस्तुत हुन चाहन्थेँ त्यो अवसर मलाई केन्द्रीय समितिमा प्राप्त भएको छ,” केन्द्रीय समिति बैठकपछि थापाले भने, “यसले मलाई महामन्त्रीको भूमिकामा थप निखारिने अवसर दिएको छ ।” 

शेखर–गगन समूहको निरन्तरतामा पनि प्रश्न उठाइएको विषयमा राखिएको जिज्ञासामा थापाले अहिलेका लागि त्यो समूह कायम रहेको भन्दै महाधिवेशनसम्म रहने नरहने परिस्थितिले निर्धारण गर्ने जवाफ दिएका थिए ।

देउवाको दाउ जति धेरै प्रत्यासी उति नै अनुकूल 
सभापति शेरबहादुर देउवा अंकगणितका ‘खप्पिस खेलाडी’का रुपमा चिनिन्छन् ।  संसद्भित्रको होस् वा पार्टीभित्रको अंकगणित कसरी आफू अनुकूल बनाउने भन्ने विषयमा विज्ञकै रुपमा उनको पहिचान छ ।

१२औं महाधिवेशनमा सुशील कोइरालाका प्रमुख सहयोगीहरु फर्मुल्लाह मन्सुर, प्रभुनारायण चौधरीदेखि अर्जुन जोशीसम्मलाई १३औँ महाधिवेशनअघि आफ्नो पक्षमा ल्याए । त्यस्तै १४औं महाधिवेशनमा कृष्ण सिटौलालाई सहयोगी बनाउनेदेखि आफ्नै विरुद्धमा चुनाव लडेका रामचन्द्र पौडेल र डा. शशांक कोइरालालाई समेत अनुकूल राख्न सफल भए । 

आफूविरुद्ध चुनाव लडेका प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई आफ्नै पक्षमा उभ्याएका देउवा आफूले गर्ने मनोनयनसमेत अन्तिम अनुकूलताका लागि बाँकी राखेर अंकगणितको राजनीति गर्ने गर्छन् ।  देउवालाई नजिकबाट चिन्नेहरु भन्छन्– अहिले उनीसँग दुईवटामात्रै चिन्ता छ ।

संसद्को यो कार्यकालमा जसरी पनि प्रधानमन्त्री बन्ने पहिलो र दोस्रो हो विभिन्न काण्डमा नाम जोडिएकी श्रीमती आरजुलाई कारबाहीबाट टाढै राखेर १५औँ महाधिवेशनमा सम्मानसहितको व्यवस्थान ।

जो जति नजिक भए पनि १५औँ महाधिवेशनमा आरजुलाई अनुकूल नहुने काम देउवा गर्दै गर्दैनन् ।  अहिले सभापतिका आकांक्षी थपिँदै जाँदा देउवाले फरक राजनीति गर्नसक्ने शंका उनको टिमभित्रै छ ।  “धेरै आकांक्षी भएका बेला देउवाले आरजुलाई नै अघि सार्ने सम्भावना छ नभए पदाधिकारीमा उनले सुनिश्चितता नभइ देउवाले कुनै निर्णय लिने छैनन्,” एक नेताले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro