site stats
बाह्रखरी :: Baahrakhari
देश
न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर, मौसममा सुधार हुँदै
फाइल तस्बिर

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहँदा आजबाट वर्षा कम हुने भएको छ । शनिबार र आइतबारको तुलनामा आज कम वर्षा हुनेछ । 

“आजबाट मौसममा केही सुधार हुनेछ । बिहानबाट देशका केही स्थानमा घाम पनि लागेको छ,” मौसमविद् रोजन लामिछानले बाह्रखरीसँग भने, “मनसुन सिजन भएकाले पानी नै नपर्ने भन्ने त हुँदैन । हल्कादेखि मध्यम वर्षाको सम्भावना हुन्छ । तर, शनिबार र आइतबारको जस्तो भारी वर्षा र निरन्तर झरी भने हुँदैन ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहँदा नेपालमा मनसुनी गतिविधि कम हुन्छ । केही दिन अगाडि देशभर एकैसाथ वर्षा हुँदा न्यूनचापीय रेखा नेपालमै थियो । 

तीनवटा प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो सातै प्रदेशमा पानी पर्ने

“मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू–भागको नजिक) रहेको समय देशका धेरै स्थानमा वर्षा हुन्छ,” रोजन भन्छन्, “तर, अहिले यो उत्तरतिर मात्रै छ, त्यसैले मौसममा केही सुधार भएको हो ।” बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको प्रभाव पनि अहिले नरहेकाले मनसुनको गतिविधि कम हुँदै गएको हो । 

यसैबीच, आज बिहान काठमाडौंका धेरै स्थानमा घाम लागेको छ । दिउँसो भने वर्षाको सम्भावना रहेको लामिछानेले जानकारी दिए । 

आज बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज कोसी र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्