site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रोकिने संकेत छैन पोखराको सालिक विवाद, के हो वास्तविकता ?
Sarbottam CementSarbottam Cement

पोखरा । धेरैलाई थाहा नहुन सक्छ– पृथ्वीचोकमा देखिने मूर्ति पृथ्वीनारायण शाह होइन, लखन थापा मगरको हो ।

शाहलाई 'राष्ट्र निर्मार्ता' भनेर चिनिन्छ, थापा नेपालका प्रथम सहिद ।

१० वर्षे सशस्त्र द्वन्द्वताका पृथ्वीचोकमा शाहकै सालिक थियो । द्वन्द्व सकिएर नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक घोषणापछि ०६४ वैशाख १८ गते मजदुर दिवस मनाउने क्रममा शाहको सालिकमाथि फलामे हतियार बज्रियो । उनको सालिक ढालियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सालिक तोडफोड गर्नेहरूले त्यहाँ अर्को सालिक उभ्याए, प्रथम सहिद लखन थापाको । त्यसपछि चोकको नाम नै लखन चोक तोकियो ।

तर, आजपर्यन्त लखन थापाको सालिक रहेको चोकलाई धेरैले पृथ्वीचोकको नामबाट चिन्छन् । पृथ्वी राजमार्गले पोखरा जोडेपछि शाहको सालिक बनाइएको थियो । 

Global Ime bank

तोडफोडको एक दशकपछि पोखरा महानगरले पोखरा–१८ जामुनबोटमा रहेको सहिद तथा विभूति पार्कमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक उभ्याएको छ । पृथ्वीचोकमा लखन थापाकै सालिक छ ।

Pokhara Salik (1)1691944372.jpg

जब 'लखन थापा' मध्यरातमा गायब भए...

स्थानीय तहको पहिलो निर्वाचनपछि पोखरा महानगरपालिकाको मेयरमा चुनिएका थिए, नेकपा (एमाले)का मानबहादुर जीसी । कार्यपालिकादेखि नगरसभासम्म एमालेको एकल बहुमत थियो । जीसी नेतृत्वको पोखरा महानगरले २०७४ असोज ९ गते मध्यरातमा थापाको सालिकमाथि डोजर चलायो । अघिल्लो दिनसम्म लखन थापाको सालिक देखेका पोखरेलीले असोज १० गते पृथ्वीचोकको संरचना नै फेरिएको देखे ।

महानगरले थापाको सालिक हटाउनुको कारणबारे त्यतिबेला ट्राफिक कार्यालयले जवाफ दिएको थियो । लखन थापाको सालिकले ओगटेको आइल्यान्डका कारण सडक साँघुरो भएकाले हटाइएको जानकारी ट्राफिक कार्यालयले दिएको थियो ।

महानगरले पनि सडकको मापदण्ड अनुसार आइल्यान्ड साँघुरो बनाउन सालिक झिकेर सुरक्षित ठाउँमा राखिएको प्रष्टोक्ति दियो ।

तर, सालिक हटाएको विरोधमा नेपाल मगर संघले अगुवाइ गरेको आन्दोलन निकै चर्कियो । आदिवासी जनजाति महासंघलगायतका संघसंस्थाहरूले सालिक निकालेकोमा भर्त्सना गरे । आन्दोलन चर्किएपछि महानगर, जिल्ला प्रशासन कार्यालय र मगर संघबीच भोलिपल्ट नै १० बुँदे सहमति भयो ।

agg221691943972.jpg

महानगर माफी माग्दै सोही ठाउँमा सालिक स्थापना गर्ने र लागत पनि आफैँले बेहोर्ने गरी सम्झौता गर्न बाध्य भयो ।

मेयर जीसीसहित तत्कालीन प्रमुख जिल्ला अधिकारी र मगर संघबीच लखन थापाको सालिक बनाउने र सोही दिन नै महानगरसँग सम्झौता गर्ने सहमति भएलगत्तै अर्को जातीय आन्दोलन सुरु भयो ।

राप्रपाका नेता शंकर खराल संयोजक रहेको पृथ्वीनारायण शाहको सालिक पुनर्स्थापना संघर्ष समितिदेखि लिएर विश्व हिन्दु महासंघ, क्षेत्री समाज, ब्राह्मण समाज, ठकुरी परिवार, रानाभाट समाज, विश्वकर्मा समाज, परियार समाज, दशनामी समाज, राष्ट्रिय धर्मसभा नेपाल, जलारी समाजलगायतले आन्दोलन गरे ।

आन्दोलन चर्किएपछि मेयर जीसीले उनीहरूसँग पाँच बुँदे सहमति गरे । सहमतिमा महानगरपालिकाले लखन थापाको सालिक निर्माण कार्य रोक्ने बुँदा पनि उल्लेख छ ।

“पृथ्वीचोकमा भैरहेको लखन थापाको सालिक पुनर्स्थापनको कामका लागि निर्माण स्थलमा लगाइएको टिनको बार तथा त्यहाँ राखिएका निर्माण सामग्री आजै हटाई निर्माण कार्य बन्द गर्न महानगरपालिकाले पहल गर्ने प्रतिबद्धता जाहेर गर्दछ,” जीसीले हस्ताक्षर गरिएको सहमतित्रमा भनिएको छ ।

agg111691943918.jpg

त्यसबाहेक पोखरा १८ जामुनबोटमा रहेको १०० रोपनी जग्गामध्ये आवश्यक जग्गा छुट्याएर पृथ्वीनारायण शाहको पूर्णकदलको सालिक स्थापना गर्ने पनि सहमति भएको छ ।

तत्कालीन मेयर जीसीले दुई पक्षसँग दुईथरि सहमति गर्दा झनै आन्दोलन चर्किएको थियो ।

...अनि त्यसपछि मध्यरातमा उभिए 'लखन थापा'

आइल्यान्ड घटाएर सडक फराकिलो बनाउने, सहिद तथा विभूतिका सालिकहरू पोखरा १८ जामुनबोटस्थित सहिदपार्कमा व्यवस्थापन गर्ने भनेर पृथ्वीचोकबाट लखन थापाको सालिक हटाएका जीसीले भोलिपल्टै सालिक पुनर्स्थापित गर्ने सहमति गर्न बाध्य भए ।

असोज ९ गते हटाइएको सालिक २०७५ फागुन १ गते मध्यरातमा पृथ्वीचोकमा उभ्याइयो । यसका लागि महानगरपालिकाले १८ लाख रुपैयाँ खर्च गर्‍यो ।

त्यहाँ उनको पूर्णकदको सालिक राखिएको छ । सम्झौताअनुसार नै सालिक राखियो । सालिक मगर संघले बनायो र त्यसको आर्थिक भारको जिम्मा महानगरले लियो, जिल्ला प्रशासनले सुरक्षा दियो र सालिक ठडियो ।

फागुन २ गते पर्ने 'जनयुद्ध दिवस'का दिन लखन थापा स्मृति दिवसको अवसर पारेर सालिक पुनर्स्थापित गरिएको हो । गोरखाको काउले भंगाराका थापाले तत्कालीन राणाशासनविरुद्ध आवाज उठाउँदा सहादत प्राप्त गरेका थिए ।

पहिले पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक थियो । सालिककै कारण पृथ्वीचोकको नामकरण भएको हो ।

Pokhara Salik (4)1691944371.jpg

२०६४ साल वैशाख १८ गते शाही शासनविरुद्ध मुलुकमा आन्दोलन चर्केको बेला पृथ्वीनारायण शाहको सालिकमा घन र इट्टा बर्सेको थियो । घन र इट्टाले पृथ्वीनारायण शाहको सालिक ढलाउनेहरू तत्कालीन माओवादीको भ्रातृ संगठन वाईसीएल थियो ।

आदिवासी जनजाति दिवसदेखि बल्झिएको विवाद

गएको साउन २४ गते २९ औँ अन्तर्राष्ट्रिय जनजाति दिवस मनाइयो । ‘पहिचान र अधिकार सुनिश्चितताका लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौँ, परम्परागत ज्ञान सिपको प्रबर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौँ’ नारासहित पोखरामा पनि विभिन्न कार्यक्रम भयो । 

सोही क्रममा आदिवासी जनजाति संघले विभिन्न र्‍याली, प्रदर्शनलगायतका कार्यक्रम गर्‍यो । दिवस मनाउने क्रममा र्‍याली सहित पृथ्वीचोक पुगेका सहभागीहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राखेको पृथ्वीनारायण शाहको प्रतिमा फालिदिए ।

यही घटनापछि पोखरामा पुनः सालिकको विवाद बढेर गएको छ ।

राप्रपाले गत पुस २७ गते ३०१औँ पृथ्वीजयन्तीको अवसरमा पृथ्वीचोकमा लखन थापाको सालिकमुनि पृथ्वीनारायण शाहको प्रतिमा राखेको थियो । उक्त प्रतिमा हटाइएपछि सुरु भएको विवाद झनै बढेर गएको छ । आइतबार पनि राष्ट्रप्रेमी नेपाली नागरिक अभियानका तर्फबाट पृथ्वीचोकमा नाराबाजी गरियो । तर, प्रहरीले त्यहाँ ब्यानर पनि राख्न दिएन ।

Pokhara Salik (2)1691944367.jpg

'महानगरले पनि प्रतिमा फालिदियो'

आदिवासी जनजातिको कार्यक्रममा पृथ्वीनारायण शाहको प्रतिमा फालिदिएपछि राप्रपासहित राष्ट्रप्रेमी नेपाली अभियानका तर्फबाट भोलिपल्तै पुनः प्रतिमा पृथ्वीचोकमा राखियो । तर, सोही दिन (बिहीबार) पोखरा महानगरपालिकाले विवाद बढ्ने ठानेर सर्वदलीय बैठक राख्यो । सर्वदलीय बैठकबारे महानगरले दिएको जानकारी र त्यहाँ सहभागी दलका प्रतिनिधिहरूकै बीच विवाद छ ।

महानगरले सर्वदलीय बैठकको निर्णय भनेर शनिबार बिहानपख राप्रपाले राखेको प्रतिमा आफैँले हटाइदियो । त्यसको विरुद्धमा पोखरा महानगरका मेयर धनराज आचार्यविरुद्ध नाराबाजी नै भयो । उनको शनिबार उनको पुत्ला दहन पनि गरिएको छ ।

प्रतिमा हटाइएको बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध जनाएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले मध्यरातमा महानगरले शाहको प्रतिमा हटाउनु दु:खद र निन्दनीय भएको बताएका छन् ।

अध्यक्ष लिङ्देनले पृथ्वी चोकबाट हटाइएको प्रतिमा तत्काल पुनर्स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

“जसको नेतृत्वमा हामीले नेपाली नाम र पहिचान प्राप्त गर्‍यौँ । तिनै राजाको प्रतिमा हटाउनु, तोडफोड गर्नु संसारका अघि लाजमर्दो कुरा हो । पोखराको पृथ्वी चोकबाट हटाइएको प्रतिमा तत्काल पुनर्स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

राप्रपा गण्डकी प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य पन्चराम गुरुङसहितका नेता तथा कार्यकर्ता पृथ्वीचोकबाट पृथ्वीनारायणको प्रतिमा हटाउन रोक्ने भन्दै रातको समयमा सडक बसेका थिए । तर, उनीहरू फर्किएपछि महानगरपालिकाले पृथ्वीनारायण शाहको प्रतिमा हटाएको थियो ।

सर्वदलीय बैठककै विषयमा महानगर र कांग्रेसबीच अन्तरविरोध

साउन २७ गते पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले ध्यानाकर्षणपत्र जारी गरेका छन् । उक्त पत्रमा शनिबारको सर्वदलीय बैठकले सहरका मुख्य सडकहरूमा रहेका सबै सालिकको स–सम्मान व्यवस्थापन स्थानान्तरण गर्ने निर्णय गरेको जनाइएको छ ।

पत्रमा उनले भनेका छन्, “प्रथम सहिद लखन थापाको सालिकसँगै रहेको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको तस्बिर तत्कालका लागि सुरक्षित साथ महानगरमा राख्ने र लखन थापाको सालिकसहित सडकमा रहेका सालिकहरूलाई एक महिनाभित्र व्यवस्थापन/स्थानान्तरण गर्न राजनीतिक दल, सरकारी निकाय तथा सम्बन्धित सरोकारवाला संघसंस्थाहरूसँग आवश्यक समन्वय तथा छलफल अघि बढाउने निर्णय भएको महानगरपालिका स्मरण गराउँदछ ।”

pokhara mun1691944026.jpg

तर, यो बैठकमा त्यस्तो कुनै निर्णय नभएको कास्की कांग्रेसका सचिव भानु ढकालको दाबी छ । कांग्रेसका तर्फबाट उनी सर्वदलीय बैठकमा सहभागी थिए । ढकाल आफैँले पनि सर्वदलीय निर्णयप्रति घोर निन्दा तथा भर्त्सना गरेका छन् ।

“गत शनिबार पोखरा महानगरपालिकामा भयको सर्बदलिय बैठकमा पृथ्वीचोकको सालिकको विषयमा मात्र छलफल भएको र विवाद समाधान र सहमतिका लागि पहल गर्न पोखरा महानगर पालिकालाई एक महिना समय दिने र अन्य सालिकहरूका विषयमा सम्बन्धित पक्षसँग छलफल मात्र गर्ने निर्णय भएकोमा पोखरा महानगरको भ्रमपूर्ण समाचार र गलत राजनीतिक मनसायले गरिएको षड्यन्त्रप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । साथै गम्भीर आपत्ति प्रकट गर्दछौँ,” उनले भनेका छन् ।

महानगरका प्रवक्ता तिम्सिना आफैँ पनि कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । तर, उनले जारी गरेको ध्यानाकर्षण पत्रमा कांग्रेसकै अन्य वडाध्यक्षले विरोध जनाएका छन् । विरोध मात्रै नभई मेयर आचार्यलाई आइपर्ने परिणामको सामना गर्न चेतावनी पनि दिएका छन् ।

“हामी अहिले जुन सहरमा छौँ, यसको निर्माणका लागि हाम्रा अग्रजहरूले छातीमा गोली थापेर शासकविरुद्ध लडेका थिए । आज संयोजकले प्राप्त गरेको कुर्सीमा बसेर अग्रजको योगदानलाई आगो झोस्ने कुचेष्टा नगरियोस् । सर्वदलीय बैठकका नाममा भएका निर्णय सार्वजनिक गरियोस् । अन्यथा आइपर्ने परिणामको सामना गर्न तयार रहनुस्,” वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले लेखेका छन् ।

कांग्रेस पोखरा महानगरपालिका संसदीय दलका नेता दिवसमान प्रधानांगले पनि सर्वदलीय बैठकमा उक्त निर्णय नभएको जनाएका छन् ।

यता, कास्की कांग्रेसले पनि विज्ञप्ति निकालेर सर्वदलीय निर्णय भनेर महानगरले निकालेको ध्यानाकर्षण पत्रको विरोध जनाएको छ ।

सभापति किशोरदत्त बरालले विज्ञप्ति जारी गर्दै पोखराका मुख्य सडकहरूमा रहेका सालिकहरूको व्यवस्थापन तथा स्थानान्तरण गर्नका लागि सर्वदलीय निर्णय भएको भनी पोखरा महानगर पालिकाबाट सार्वजनिक भएको अनुरोधमा कांग्रेसको संलग्नता नरहेको बताएका छन् । 

नेविसंघ कास्कीले पनि सोही प्रकृतिको विज्ञप्ति जारी गरेको छ ।

Pokhara Salik (3)1691944367.jpg

मेयरले भने– बाजागाजा बनाएर सबै सालिक व्यवस्थापन गर्छौं

पोखरा महानगरका मेयर धनराज आचार्यले भने सडकका बीचमा कुनै पनि सालिक नराखिने बताएका छन् । सम्बन्धित सबैसँग छलफल गरेर सालिकहरूको व्यवस्थापन विभूति तथा सहिद पार्कमा गरिने उनले जानकारी दिए ।

“पोखरा–मुग्लिङ सडक बन्दै छ । बीचमा अमरसिंह थापाको सालिक छ । त्यसको व्यवस्थापन गर्नै छ । त्यो लगायतका अन्य सालिकहरूको पनि व्यवस्थापन गर्ने, हाम्रो महानगरले बनाएको विभूति पार्कमा बाजागाजासहित सम्मानपूर्वक व्यवस्थापन गर्न समय माग्यौँ । साथीहरूले त्यसमा सहमति जनाउनुभएको छ,” आचार्यले भने ।

गत शनिबारको सर्वदलीय बैठकमा एक महिनाभित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

सर्वदलीय/सर्वपक्षीय बैठकको निर्णयमा भनिएको छ, “पोखरा महानगरपालिकाभित्र सडकमा रहेका सबै सालिकहरूको सम्बन्धमा महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरूसँग आवश्यक समन्वय गरी एक महिनाभित्र स्थानान्तरण/व्यवस्थापन गर्ने निर्णय गरियो ।”

बढ्दै छ विवाद

सालिकभित्रको राजनीतिमा विस्तारै दलीय र जातीय द्वन्द्व पनि देखिन थालेको छ । २०७५ मा तत्कालीन मेयर मानबहादर जीसीले गरेको सहमतिपत्रलाई केलाउने हो भने पनि पृथ्वीचोकमा कसको सालिक राख्ने भन्ने विषयमा प्रष्टरूपमा दुई जातीय धार देखिन्छ ।

आदिवासी जनजातिहरूले लखन चोकमा लखन थापाको सालिक हुनुपर्ने पक्षमा छन् । पृथ्वीनारायण शाहको प्रतिमा राख्ने विषयमा भने क्षेत्री समाज, ब्राह्मण समाजलगायतका १० समुदायको संलग्नता देखिन्छ ।

जातीय रूपमा दुई समुदाय देखिए तापनि अहिलेको विवादमा भने राजनीतिक पक्षधरता समेत देखिएको छ । महानगरले सर्वदलीय बैठकको निर्णय भनेर सार्वजनिक गरेको ध्यानाकर्षण पत्रमा कांग्रेसले प्रस्ट विमति राखेको छ भने राप्रपाले त झन्डासहित नै प्रदर्शन र नाराबाजी गर्दै आएको छ ।

आदिवासी जनजातिहरूले फालिदिएको प्रतिमा राप्रपाले भोलिपल्टै राखे तापनि महानगरले शनिबार बिहानै फालिदियो । यही विषयलाई लिएर राप्रपा मेयर आचार्यसँग असन्तुष्ट छ भने पुत्ला दहनदेखि दिनहुँ प्रदर्शनका कार्यक्रम गरिरहेको छ ।

आइतबारको प्रदर्शनमा सहभागी अरूण गिरीका अनुसार थप कार्यक्रमको घोषणा गर्ने र आन्दोलनलाई अझै अगाडि बढाउने तयारी भइरहेको छ ।

प्रदेश सभा सदस्य तथा राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ पनि पृथ्वीनारायणको प्रतिमा राख्ने पक्षमा उभिएका छन् ।

rpp1691944435.jpg

“यो ठाउँमा सहिदको सालिक होइन, मिल्छ भने पृथ्वीनारायण शाहको सालिक राखौँ, होइन भने कसैको नराखौँ,” उनले भने । तत्कालीन मेयर मानबहादुर जीसी हुँदा पनि पृथ्वीचोकमा कसैको सालिक नराख्ने भन्ने सहमति भएको तर, कार्यान्वयन नभएको उनले बताए ।

लखन थापाको सालिक नहटेपछि आफूहरूले नै पृथ्वीजयन्तीको दिन प्रतिमा राखेएको उनले बताए ।

सर्वदलीय बैठकमा मेयर आचार्यले एक महिनाभित्र दुवै प्रतिमा र सालिक हटाउने बताएको हुँदा आफूहरू त्यसलाई विश्वास मानेर फर्किएको बताए । 

तर, रातमा नै मेयरले कुरा फेरेर प्रतिमा मात्र हटाइएको हुँदा राप्रपा अब सशक्त रूपमा अगाडि बढ्ने उनले बताए । सोमबार नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि पोखरा आउने उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  २२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय