यात्रीको भर नै के छ र ?
ऊ हिँडेको हुन्छ
आफ्नो यात्रा तय गर्न
उसले त्यो यात्रा
योजना बनाएर हिँडेको पनि हुनसक्छ
दिशाहीन भएर हिँडेको पनि हुनसक्छ
गन्तव्यहीन भएर हिँडेको पनि हुनसक्छ
यात्री सायद आफ्नै दुनियाँमा हुन्छ
कहाँ कता पुग्ने हो,
यो विश्व मानचित्रमा
उसलाई पनि सायदै थाहा हुनसक्छ
यात्री यात्रा गर्दागर्दै
आफ्नो योजना बदल्न सक्छ
योजनाले उसलाई बदल्न सक्छ ।
यात्रीले यात्रामा संगत कसको पाउँछ
उसको यात्रा त्यसमा पनि भर पर्छ
माथि हिमालका चुचुराहरूमा धुम्मिने कि
तराईका फाँटहरूमा पुग्ने
उसलाई उसको
मनोभावना,
बुझाइ अनि सोचले फरक पार्दो हो
यात्री एक्लै हिँड्न मन पराउन सक्छ
समूहमा हातेमालो गरेर यात्रा गर्न सक्छ
दामहरूले भरिएर गोजी खुसी भएजस्तै
सायद यात्रामा यात्रीको अन्तर्मन खुसी हुनुपर्छ ।
यात्रा ज्ञानको विशाल भण्डार हो
आफ्नै आँखाले नियाल्दै हिँड्छ
अघाउँदैन ऊ कुनै एक पाना पढेर
यात्री जतिसुकै जान्ने छु भन्ने ठानोस्
उसलाई यात्रा गर्दा केही न केही
सिक्ने खुराक अवश्य मिल्छ
यात्रा गर्दै अघि बढ्दै गर्दा
यात्रीले संसारकै किताब पढ्न खोज्छ
यात्रा गरेर लिएको ज्ञान
सर्वश्रेष्ठ ज्ञान हो जस्तो लाग्छ
यात्रा नै एक उपचार विधि पो हो कि !
आफ्ना सारा दुःख बिर्साउनेजस्तो हुन थाल्छ
यात्रा त एक स्वस्थ्यकर नशा हो जस्तो लाग्न थाल्छ
यात्री हुनुको अन्तर्य सायद यही हो ।
यात्रीका लागि जीवन छोटो छ
तर, संसार विशाल छ
यात्री केवल सम्झनाहरु बोकेर
मर्न चाहन्छ, सपना साँचेर होइन ।
त्यसैले तिमी पनि यात्रा गर्न सिक
आरामको जिन्दगी बाँचेर बेचैन हुनुभन्दा
यात्रामा निस्केर रमाउन सिक तिमी
दिशाहीन यात्री भएर अघि बढ
समयको पावन्दीले तिमीलाई रोक्न नसकोस्
जहाँ तिम्रा पाइलाहरू
अघि बढ्दै जान्छन्
तिमीलाई अझ बढी बाँचेको अनुभूति हुनेछ
त्यसैले अब तिम्रो यात्रा,
तिम्रा यात्राका पाइलाहरू
अविरल अघि बढिरहून्
तिमीलाई थाहै होला,
हजारौँ कोसको यात्रा पनि त
एक पाइलाबाट नै सुरु हुन्छ ।
(काठमाडौं/हाल : नेपालगन्ज)