काठमाडौं । नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबारबाट ‘अपरेसन चार्ली फक्सट्रोट’ सुरु गरेको छ । यो अपरेसनको उद्देश्य नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक बनेकालाई कारबाहीको दायरामा ल्याउनु हो ।
पछिल्लो २४ घण्टामा सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक बनेका शंकास्पद आठजनालाई पक्राउ गरिसकेको छ । अपरेसन जारी छ, एक दर्जनभन्दा बढी चिकित्सक पक्राउ पर्ने स्रोतको दाबी छ ।
सीआईबीले यसअघि २०७३ सालमा नक्कली प्रमाणपत्रधारी चिकित्सकविरुद्ध ‘क्वाक अपरेसन’ चलाएको थियो । उक्त अपरसेनका बखत शंकास्पद व्यक्तिको पहिचान गरिए पनि राजनीतिक प्रभावका कारण प्रक्रिया अगाडि बढाउन सकेको थिएन । बिहीबार सीआईबीले सोही अपरेसनलाई अर्को नाम दिएर पुनः सुरु गरेको हो ।
सीआईबीले हाल मात्रै नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी घटनालाई अघि बढाए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने यस्ता मुद्दा हेर्न थालेको वर्षौँ भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ लागु भएपछि आर्थिक वर्ष २०५९/६० देखि शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्रसमेत अख्तियारमा दर्ता हुन थालेको हो । त्यसयताका २१ वर्षमा अख्तियारले दायर गरेका मुद्दाहरुमध्ये शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा सबैभन्दा बढी रहेका छन् ।
पछिल्ला २१ आर्थिक वर्षमध्ये तीनवटा बाहेक सबै वर्ष अख्तियारले दायर गरेका सबैभन्दा बढी मुद्दा नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित छन् ।
अख्तियारका अनुसार पछिल्लो २१ वर्षमा अख्तियारले कुल तीन हजार १६८ मुद्दा अदालतमा दायर गरेको छ । दायर गरेका मुद्दामध्ये एक हजार २०८ वटा नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित छन् । अर्थात, कुल मुद्दाको ३८.१३ प्रतिशत नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित छन् । अख्तियारले प्रत्येक वर्ष नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित औषतमा ५७.५२ वटा मुद्दा दायर गर्दै आएको छ ।
अख्तियारको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०५९/६० मा ८१, २०६०/६१ मा ४७, २०६१/६२ मा ८५, २०६२/६३ मा ६९, २०६३/६४ मा ९३, २०६४/६५ मा ५४, २०६५/६६ मा ३६, २०६६/६७ मा १९, २०६७/६८ मा ४६, २०६८/६९ मा ८६, २०६९/७० मा ७० र २०७०/७१ मा ८० वटा मुद्दा नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित दायर गरिएको थियो ।
यस्तै, आर्थिक वर्ष २०७१/७२ मा ९६, २०७२/७३ मा ५२, २०७३/७४ मा ४०, २०७४/७५ मा ६४, २०७५/७६ मा ८८, २०७६/७७ मा ८५, २०७७/७८ मा तीन, २०७८/७९ मा ६ र २०७९/८० मा आठवटा मुद्दा अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित विशेष अदालत काठमाडौंमा दायर गरेको थियो ।
पछिल्लो २१ वर्षमा अख्तियारले एक हजार २०८ जनाभन्दा बढी सरकारी कर्मचारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दा दायर गरेको छ । यसमा शिक्षक, प्रहरी, निजामती कर्मचारीलगायत रहेका छन् । सार्वजनिक सेवामा प्रवेश गर्ने वा पदोन्नति हुने उद्देश्यले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र कर्मचारीहरुले बुझाउने गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले आफ्नो पछिल्लो वार्षिक प्रतिवेदनमा भनेको छ, “शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रका आधारमा सेवा प्रवेश हुँदा योग्य व्यक्तिको छनोटमा यसले असर पार्दछ भने शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आधारमा पदोन्नति हुँदा योग्य र सक्षम कर्मचारीको मनोबल र कार्यालयको कार्य सम्पादनमा नकारात्मक असर पर्दछ ।”
अख्तियारमा प्रत्येक वर्ष नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी ठूलो संख्यामा उजुरी पर्ने गर्छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा मात्र नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी एक हजार ३७३ वटा उजुरी अख्तियारमा परेको थियो । आर्थिक वर्ष २०७७/७८ मा यो संख्या एक हजार २४७ रहेको थियो ।
“शिक्षक, निजामतीलगायत अन्य सरकारी सेवा र संस्थाका कर्मचारीलगायतले भर्ना र पदोन्नतिका लागि पेस गर्ने उल्लिखित शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक प्रमाणपत्रहरूको आधिकारिकताबारे समयमै यकिन गरेर मात्र कर्मचारी भर्ना र बढुवा गर्ने पद्दतिको अवलम्बन हुनसकेमा यसबाट योग्यता प्रणाली र कार्यसम्पादनस्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गर्न सकिन्छ,” अख्तियारले प्रतिवेदनमा सुझाव दिएको छ ।