site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
किसानलाई पहिले भुक्तानी, त्यसपछि मात्र गोलभेँडा ढुवानी !
धनकुटाबाट तराईतर्फ पठाउन डोकोमा भरेर ठिक्क पारिएको गोलभेँडा ।

विराटनगर । गोलभेँडाको मूल्यमा अत्यधिक वृद्धि भएको छ । अहिले कोसी प्रदेशको राजधानी विराटनगरमा गोलभेँडा प्रतिकेजी १६० देखि २०० रुपैयाँसम्म बिक्री भइरहेको छ ।

विराटनगरका थोक बिक्रेताले गएको असार पहिलो सातासम्म किसानले पठाएको गोलभेँडा मात्र अन्कनाउँदै बिक्री गर्ने गरेका थिए । खरिद गर्न आफैँ अग्रसर हुँदैन थिए ।

तीन सातामा यो अवस्था ठ्याक्कै उल्टो भएको छ । अहिले व्यापारीले किसानको खातामा अग्रिम रकम भुक्तानी गरिदिएपछि मात्र गोलभेँडा विराटनगर पठाइन्छ ।

कोसी प्रदेशमा विशेष गरी धनकुटामा धेरै गोलभेँडा फल्छ । त्यहाँबाट दैनिक ३० टनसम्म गोलभेँडा तराईका विभिन्न बजारमा पठाइन्छ ।

अहिले किसाले गोलभेँडाको हालसम्मकै धेरै मूल्य लिइरहेका धनकुटा नगरपालिका–४, ठोकागाउँका स्थानीय अगमशेर राई बताउँछन् । “पहिले गोलभेँडा बिक्री गरिदिनुहोस् भन्दै व्यापारीलाई अनुरोध गर्नुपर्ने अवस्था थियो,” उनी भन्छन्, “अहिले भने व्यापारीले पहिले पैसा पठाउनुहुन्छ अनि यताबाट गोलभेँडा पठाउँछौँ ।”

मूल्यवृद्धिले यस क्षेत्रका किसानलाई निकै राहत मिलेको छ । असार पहिलो साता प्रतिकिलो १० रुपैयाँमा पनि गोलभेँडा बिकेको थिएन । अहिले किसानले बारीमै गोलभेँडाको मूल्य प्रतिकेजी १२० रुपैयाँसम्म पाइरहेका छन् । त्यो पनि अग्रिम भुक्तानी ।

गुदरी बजारका थोक बिक्रेता गुड्डु मियाँका अनुसार व्यापारीले पहिल्यै रकम भुक्तानी गरेपछि मात्र किसानले गोलभेँडा पठाउने गरेका छन् । “हामीले किसानको खातामा रकम ट्रान्सफर गरिदिएपछि उहाँहरूले अर्डरअनुसारको परिमाण पठाइदिनुहुन्छ,” मियाँले भने ।

भारतमा समेत गोलभेँडाको मूल्य बढेर नेपालतर्फ पठाइन छाडेपछि आफूहरूको उत्पादनले उचित मूल्य पाएको धनकुटा–७, श्रीवानीका किसान मात्रिका राई बताउँछन् ।

“हामी त छक्क परेका छौँ, जीवनमै नपाइएको मूल्य यो सिजनमा पाइयो,” राई भन्छन्, “कतिपय किसानको बोट बर्खाका कारण सुक्न समेत थालेका छन् । तर, व्यवस्थित र टनेल प्रविधि अपनाएका किसानलाई भने राम्रो फाइदा भएको छ ।”

यहाँको पहाडी क्षेत्रको उत्पादन भारततर्फ समेत निर्यात गर्न थालिएको छ छ । औपचारिक ‘च्यानल’बाट भने भारततर्फ निर्यात नगरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका अनुसार कतिपय व्यापारीले रिक्साठेलामा ‘लोड’ गरेर गोलभेँडा भारततर्फ लैजाने गरेका छन् । यसरी कर नलाग्ने र सामान्य फाराम भरेर लैजान पाइने भएकाले कति परिमाणमा गयो भन्ने तथ्यांक नराखिएको कार्यालयले जनाएको छ ।

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लाका अधिकांश स्थानीय तहमा व्यावसायिक रूपमा गोलभेँडा खेती गर्ने गरिएको छ । केन्द्रका प्रमुख नगेन्द्र रानामगर भन्छन्, “अहिले गोलभेँडाको माग अधिक बढेका कारण किसानले पनि राम्रो मूल्य पाउनुभएको छ ।”

धनकुटामा उत्पादन हुने गोलभेँडा विराटनगर, दमक, बिर्तामोड, इटहरी, धरान, लहान, इनरुवालगायत क्षेत्रमा बिक्री गर्ने गरिन्छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ११:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro