site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तातोपानी नाकाबाट ३३ अर्बको आयात, ५९ लाखको निर्यात
फाइल तस्बिर।

काठमाडौं । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि सुस्ताएको तातोपानी नाका अझै लयमा फर्कन सकेको छैन ।

भूकम्पको दिनसम्म तातोपानी नेपाल–चीन व्यापारको प्रमुख नाका थियो । भूकम्पले ठूलो क्षति गरेपछि बन्द भएको तातोपानी नाका खुल्न निकै समय कुर्नुपर्यो । तर लामो समयपछि नाका खुल्दा पनि नेपालले उक्त नाकाबाट चीनमा वस्तुहरु पठाउन सकेको छैन ।

भन्सार विभागका अनुसार पछिल्लो तीन वर्षमा नेपालले तातोपानी नाकाबाट मात्र ५९ लाख १५ हजार रुपैयाँको वस्तु मात्र निर्यात गरेको छ ।

Dabur Nepal
NIC Asia

“तातोपानी नाका धेरै सुस्ताएको छ,” भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बाह्रखरीसँग भने, “पहिला तातोपानी नाका नजिक (खासा) बस्ने चिनियाँले आवश्यक पर्ने वस्तु नेपालबाट लग्थे । भूकम्पपछि बस्ती धेरै माथि सारियो । आवश्यक वस्तु पनि नेपालबाट लैजान छोडे । यसले गर्दा पनि नेपालबाट निर्यात हुने बस्तु घटेको हो ।”

तातोपानी नाका सुस्ताएको नेपालबाट हुने निर्यातमा मात्र हो । नेपालले गर्ने आयातमा नाका चलायमान नै छ । पछिल्लो तीन वर्षमा चीनले तातोपानी नाकाबाट नेपालमा ३३ अर्ब आठ करोड ३० लाख ७२ हजार रुपैयाँको बस्तु पठाएको छ ।

भूकम्पपछि गत आर्थिक वर्ष २०७९/८० सम्म तातोपानी नाकाबाट चीनले नेपालमा ४३ अर्ब २८ करोड ७५ लाख ४४ हजार रुपैयाँको बस्तु पठाएको छ । सोही अवधिमा तातोपानी नाकाबाट नेपालले चीनमा मात्र १४ करोड ३५ लाख ९४ हजार रुपैयाँको निर्यात गरेको छ ।

२०७२ सालको विनाशकारी भूकम्पले तातोपानी नाकामा रहेका संरचनामा ठूलो क्षति गरेको थियो । दुवैतर्फ जनधनको ठूलो क्षति भएपछि भूकम्पको जोखिमलाई कारण देखाउँदै चीनले खासामा रहेको बस्तीलाई सारेको थियो । त्यसपछि तातोपानी नाका बन्द गरिएको थियो ।

आर्थिक वर्ष २०७२/७३ मा चीनबाट तातोपानी नाका हुँदै ६१ करोड ८३ लाख ११ हजार रुपैयाँको बस्तु आएको थियो । उक्त वर्ष तातोपानी नाका हुँदै नेपालबाट चीनमा एक रुपैयाँको बस्तु पनि निर्यात भएन ।

आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा तातोपानी नाकाबाट हुने आयात तथा निर्यात शून्य रह्यो । आर्थिक वर्ष २०७५/७६ मा चीनबाट तातोपानी हुँदै चार करोड ८५ लाख १५ हजार रुपैयाँको बस्तु आएको छ, तर नेपालबाट भने कुनै बस्तु गएन ।

आर्थिक वर्ष २०७६/७७ मा तातोपानी नाका दुईतर्फी खुला भयो । तर, थोरै अवधिको लागि मात्र । उक्त वर्ष तातोपानीबाट नेपालमा नौ अर्ब ५३ करोड ७६ लाख ४६ हजार रुपैयाँको बस्तु आएको छ भने चीनमा १३ करोड ७६ लाख ७९ हजार रुपैयाँको बस्तु गएको थियो ।

कोरोना महामारीका कारण २०७६ चैतबाट तातोपानी एकतर्फी बन्द भयो । चीनबाट तातोपानी नाका हुँदै नेपालमा बस्तु आउने भए पनि नेपालबाट चीन जान सकेन । कोरोनाका कारण चीनले तातोपानी नाकाबाट बस्तु प्रवेशमा रोक लगायो तर आफूले भने पठाई नै रह्यो ।

कोरोनाका कारण एकतर्फी चलेको तातोपानी नाका केही महिनाअघि मात्र दुईतर्फी रुपमा सञ्चालनमा आएको थियो । २०७६ चैत महिनादेखि २०८० असार मसान्तसम्मको अवधिमा तातोपानी नाकाबाट चीनमा नेपालले मात्र ५९ लाख १५ हजार रुपैयाँको बस्तु पठाएको छ । जबकि, सो अवधिमा चीनले तातोपानी नाकाबाट नेपालमा ३३ अर्ब आठ करोड ३० लाख ७२ हजार रुपैयाँको बस्तु पठाएको छ ।

भन्सार विभागका अनुसार चीनले तातोपानी नाकाबाट आर्थिक वर्ष २०७७/७८ मा पाँच अर्ब ८४ करोड ९१ लाख ८६ हजार रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ मा १४ अर्ब दुई करोड ३७ लाख २० हजार रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा १३ अर्ब २१ करोड एक लाख ६६ हजार रुपैयाँको बस्तु नेपाल पठाएको छ ।

नेपालले भने सो नाकाबाट आर्थिक वर्ष २०७७/७८ मा शून्य, २०७८/७९ मा शून्य र २०७९/८० मा ५९ लाख १५ हजार रुपैयाँको बस्तु चीनतर्फ पठाएको छ ।

“अहिले नेपालबाट चीनमा धेरै बस्तु रसुवागढी नाका र त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाने गरेको छ । जसले गर्दा पनि तातोपानी नाकाबाट हुने निर्यातमा कमी देखिएको छ,” भन्सार विभागका प्रवक्ता खड्काले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro