सुशील लामा
आमा,
यो साल यता म भाकोतिर
गत सालको भन्दा
गर्मी उधुम बढेको छ
यो बेला हाम्रोतिर
जताततै हरियालीले
गर्दैगर्दा राज
यता कर्मभूमि देशान्तरको
फुजेरा र अल्यान्डको रातो बालुवा
डढेलो सल्केको खरपाखाजस्तै जलेर
प्रचण्ड बढेर तापक्रम
पचास डिग्री कटेको छ ।
बाटोको अलकत्रा पग्लेर बग्दै छ
तातो आँसु र पसिनासँग मिसिएर
पसिनाको नदीसँगै
बग्दै गएको धनी सपनाहरू
अनि, तिम्रो सधैँ आइरहने याद
यस्तै छ खाडीको ग्रीष्मसँगै
बग्दै गरेको परदेशीको दिनरात ।
आमा,
यहाँ मनसुनले बाटो बिराएर आउँदैन
पानी बोकेको बादल गर्जेर
रुझ्ने गरी झरी पर्दैन
यहाँ हिमाल छैन
हिमाललाई सजाउने हिउँ पर्दै पर्दैन
यहाँ हिमालको बाटो हुँदै
सल्लाघारी सुसाउँदै बग्ने चिसो बतास पाइँँदैन
एयर कन्डीसनद्वारा फ्याँकेको
कृत्रिम चिसोमा बस्ने सौभाग्य
मजस्तो गैँतीबेल्चा चलाउनेको भागमा
विपनामा कहिल्यै पर्दैन
हो आमा,
गर्मी, गाह्रो, गरुंगो छ दैनिकी
तिम्रो यादको बाडुली
हिक्कहिक्क
साँझ, बिहान अनि अनिदो रात
तिम्रो फाटेको मजेत्रो
अनि, तिम्रो पुरानो भएको आशा
बाको बूढो भएका सपनाहरू
भाइको इन्जिनियर बन्ने चाहना
के–के के–के !
थुप्रैथुप्रै सपनाहरूको डंगुर बोकेर
कटाउँदै गरेको जिन्दगी
खाडीको तातो ग्रीष्म ।
आमा,
पल्लो गाउँको कुबेरे दाज्यू
छुट्टी सकाएर फर्कंदै छ
मलाई थाहा छ,
तिमीले पठाउने पार्सल
मकै, भटमास, सिन्की र गुन्द्रुक
त्यसका साथमा हिमालसँग अलिकति चिसो
सापटी मागेर
बादलको पछ्यौरीमा पोका पारेर पठाऊ है,
देहलाई चिसो बनाउन ।
जलेको छ तन
तड्पेको छ मन
टुट्दैटुट्दै जाँदै छ सम्बन्धको सेतु
यस्तै छ आमा
खाडीको ग्रीष्म ऋतु ।
(काभ्रेपलाञ्चोक/हाल– लिमासोल, साइप्रस)