site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

नेपालको संविधान, २०७२ को धारा २८४ को उपधारा (३) मा प्रधान न्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । परन्तु, प्रधान न्यायाधीश नियुक्तिको सिफारिस गर्न मंगलवार बसेको संवैधानिक परिषद्को बैठक भने बिना निर्णय टुंग्याइयो । 

बहालवाला प्रधान न्यायाधीशले उमेरहदका कारण यही शुकवार अवकाश पाउँदैछन् । यसअघि करिब डेढ वर्षसम्म पनि संवैधानिक परिषद्का पदाधिकारी मूलतः विपक्षी दलका नेताकै असहयोगका कारण प्रधान न्यायाधीश पदमा नियुक्तिको सिफारिसै नभई कायममुकायमका भरमा बितेको थियो ।  

संवैधानिक परिषद्लाई यति व्यापक र प्रतिनिधिमूलक बनाउँदा राज्यका विभिन्न अङ्ग र निकायका पदाधिकारी नियुक्त हुँदा राष्ट्रिय हितले प्राथमिकता पाउने विश्वास राखिएको हुनुपर्छ । विडम्बना, दलका नेताहरूले संवैधानिक प्रावधानलाई नै विकृत तुल्याइदिए । 

नेपालमा संवैधानिक परिषद्को अवधारणा २०४७ को संविधानबाटै भित्र्याइएको भए पनि चरम विकृति भने नेकपा ९एमाले०का अध्यक्ष खड्गप्रसाद ओलीले परिषद्को ऐनमा अध्यादेशबाट संशोधन गराएपछि सुरु भएको हो । उनले खलबल्याएको संवैधानिक परिषद्लाई पछिल्ला दुई प्रधानमन्त्रीले पनि लयमा फर्काउन सकेनन् । 

प्रधानमन्त्रीसँग विपक्षका थुप्रै समस्या होलान् । तिनलाई आफ्नो हितमा हुनेगरी समाधान गराउन लबाब दिनु पनि नेपालको राजनीतिकमा नौलो अभ्यास होइन । तर, सामान्यतः वरीयताका आधारमा नियुक्त गरिने प्रधान न्यायाधीशको नियुक्तिमा समेत मोलतोल गर्ने प्रवृत्ति भने अनुचित र आपत्तिजनक दुवै हो । 

संसदीय प्रणालीमा सभामुख र राष्ट्रिय सभाका अध्यक्ष दलगत राजनीतिभन्दा माथि उठ्नुपर्ने नेपालमा भने प्रायः सम्बन्धित दलको नेताका ‘प्यादा’जस्तै देखिनेगरेका छन् । यसका साथै संवैधानिक परिषद्को संरचना तथा नेपालका राजनीतिकर्मीहरूको चरित्रका कारणले अहिले संवैधानिक परिषद्मा विपक्षीको बहुमत देखिन्छ । 

यही बहुमतलाई पटकपटक दुरुपयोग गरिएको छ । यसअघि ओली प्रधानमन्त्री हुँदा संसदीय सुनुवाइसमेत छलेर विवादास्पद संवैधानिक नियुक्ति गरिएको थियो । ती ‘असंवैधानिक’ नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाले पनि प्राथमिकता पाउन सकेन । विडम्बना, त्यसको सबैभन्दा बढी मार सर्वोच्च अदालतले नै सहनु पर्‍यो  । 

गलत पात्रहरूले पद्धतिलाई कसरी विकृत बनाउँछन् भन्ने दृष्टान्त नेपालको संवैधानिक परिषद् बन्न पुगेको छ । नेपालको लोकतान्त्रिक इतिहासका विसं २०७४ को संसदीय निर्वाचनपछिको कालखण्ड अनेकौं विकृतिको वाहक बनेको देखिन्छ । दुर्भाग्य, प्रमुख दलको नेतृत्वमा अहिलेको  विकृति हट्ने कुनै लक्षण छैन ।

रिक्त रहेका संवैधानिक पदमा योग्य व्यक्ति होइन नेताका कृपापात्र छानिन्छन् भन्ने सबैले बुझेकै छन् ।  त्यसैले ती पदमा भागबन्डा गर्नका लागि वरीयताका आधारमा नियुक्त हुने प्रधान न्यायाधीश नियुक्तिको सिफारिस रोक्नु कसैका लागि पनि लाभदायक हुँदैन । संवैधानिक परिषद्को बिहीवारको बैठक अनिर्णित नहोस् !

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro