काठमाडौं । म्यानुएला भेनेगसले इन्जुरी समयमा निर्णायक गोल गरेपछि जर्मनीलाई हराउँदै कोलम्बिया फिफा महिला विश्वकपको प्रि–क्वार्टरफाइनल प्रवेश गरेको छ ।
आइतबार अस्ट्रेलियाको एलिएन्ज रंगशालामा सम्पन्न खेलमा जर्मनीविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै कोलम्बिया समूह ‘एच’को अन्तिम खेलअगावै नकआउट चरणमा प्रवेश गरेको हो ।
जर्मनीविरुद्ध जित दिलाउन कोलम्बियाका लिन्डा काइसेडो र भेनेगसले गोल गरे । जर्मनीकी एलेक्सान्ड्रा पोपले गोल गरे पनि हार टार्न भने सकिनन् ।
एलिएन्ज रंगशालामा काइसेडोले ५२औँ मिनेटमा गरेको गोलबाट कोलम्बियाले अग्रता बनाएको थियो । खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा पोपले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई खेलमा फर्काएकी थिइन् । कोलम्बियाकी गोलकिपर क्याटालिना पेरेजले लेना अबेरडोर्फमाथि पेनाल्टी बक्सभित्र फाउल गरेपछि जर्मनीले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा पोपले कुनै गल्ती नगरी बललाई जालीको दिशा दिइन् ।
तर, इन्जुरी समयको अन्तिम मिनेटमा भेनेगसले हेडर गोल गरेपछि कोलम्बियाले जर्मनीविरुद्ध २–१ को सनसनीपूर्ण जित निश्चित गर्यो । फिफा विश्वकपमा कोलम्बियाको यो समग्रमा तेस्रो जित हो । कोलम्बियाले सन् २०११ को संस्करणबाट विश्वकपमा ‘डेब्यू’ गरेको थियो ।
जर्मनीको भने यो सन् १९९५ पछि समूह चरणमा बेहोरेको पहिलो हार हो ।
जितसँगै दुई खेलबाट ६ अंक जोडेको कोलम्बिया समूह चरणको अन्तिम खेलअगावै अन्तिम–१६ मा प्रवेश गरेको छ । यता, कोलम्बियासँगको हारले जर्मनीलाई भने नकआउट चरणमा प्रवेशका लागि अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ । दुई खेलबाट तीन अंक जोडेको जर्मनी तालिकाको दोस्रो स्थानमा छ । यस समूहको तेस्रो स्थानमा तीन अंक जोडेको मोरोक्को र पुछारमा अंकविहीन दक्षिण कोरिया छन् ।