काठमाडौं । न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकपमा पोर्चुगलले पहिलो जित निकालेको छ । समूह ‘ई’मा रहेको पोर्चुगलले बिहीबार भएको खेलमा एसियाली मुलुक भियतनामविरुद्ध २–० को जित निकालेको हो ।
न्युजिल्यान्डको हेमिल्टनस्थित वाइकाटो रंगशालामा सम्पन्न खेलमा पोर्चुगललाई जित दिलाउन टेल्मा इनकार्नाकाओ र फ्रान्सिस्का नाजारेथले समान एक गोल गरे ।
पोर्चुगलले दुवै गोल पहिलो हाफमा गरेको थियो । सातौँ मिनेटमा इनकार्नाकाओले गरेको गोलबाट पोर्चुगलले अग्रता बनाएको थियो । २१औँ मिनेटमा नाजारेथको गोलमा पोर्चुगलले अग्रता दोब्बर बनाएको थियो ।
जितसँगै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम राखेको पोर्चुगलले समूह ‘ई’मा दुई खेलबाट तीन अंक जोडेको छ । दुई खेल खेल्दा पनि अंकविहीन भियतनाम भने समूह चरणको अन्तिम खेलअगावै बाहिरिने निश्चित बनेको छ ।
पोर्चुगल यसअघि पहिलो खेलमा नेदरल्यान्ड्ससँग १–० ले पराजित भएको थियो । यता, भियतनाम भने यसअघि पहिलो खेलमा साविक विजेता अमेरिकासँग ३–० ले हारेको थियो ।