काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले जिन्दगीभर रुखमा भोट हाल्ने प्रशिक्षण चलाएर मतपत्रमा चिह्न नै नराख्ने प्रवृत्ति डरलाग्दो भएको बताएका छन् । बीपी स्मृति दिवसमा आयोजित एक कार्यक्रममा उनले निर्वाचनमा गरिएको गठबन्धनप्रति असन्तुष्टि जनाए ।
“जिन्दगीभर रुखमा भोट हाल भनेर प्रशिक्षण चलाउने, चुनावको बेला रुख चिह्न नभएको मतपत्र पठाउने त्यो प्रवृत्ति डरलाग्दो छ,” उनले भने । भ्रष्टाचार अहिलेको चुनौती रहेको उनले बताए ।
“अहिलेको चुनौती भ्रष्टाचार हो । सात पुस्तालाई पुग्ने कमाउने भन्थे, अहिले १४ पुस्ता पुग्ने कमाउने प्रवृत्ति देखिएको छ,” उनले भने । आचार्यले भ्रष्टाचार काण्डको एक–एक छानबिन गर्न नसके त्यसले आफूहरुलाई नै खाने टिप्पणी गरे ।
“चर्चामा आएको भ्रष्टाचार काण्डको एक एक छानबिन गर्न सकेनौँ भने त्यसले हामीलाई खान्छ । यो राजनीतिक व्यवस्थालाई खान्छ,” आचार्यले भने ।
उनले भ्रष्टाचारको फाइल खोल्न गृहमन्त्री कहाँ मात्र होइन, प्रधानमन्त्रीकोमा पनि जाने बताए । जारी केन्द्रीय कमिटी बैठकमा केही नेताहरुले बालकृष्ण खाँणको बचाउ गर्दै गृहमन्त्री भेट्न गएकोमा पार्टीका नेताहरुप्रति आपत्ति जनाएका थिए ।
उनले हरेक भ्रष्टाचारको छानबिनमा सहयोग गर्नुपर्ने बताए । उनले पार्टीले खाली सत्ता हेरेको भन्दै सडक पनि हेनुपर्ने बताए । शून्य खर्च हुने निर्वाचन प्रणालीमाथि बहस हुनुपर्ने बताउँदै उनले प्राइमरी इलेक्सनमा जानुपर्ने बताए ।