site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकातिर कांग्रेस सुधारको संकल्प, अर्कोतिर बालकृष्ण नजोगाएको आक्रोश
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रत्यक्ष प्रसारण गरेर चर्चाको शिखरमा रहेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सभापति भर्सेस महामन्त्रीद्वय भएको देखिन्छ । शुक्रबार ३३ जनाले बोले । बोल्नेहरूको कित्ता स्पष्ट थियो– कि महामन्त्रीको पक्षमा, कि विपक्षमा ।

संस्थापन पक्ष सभापति शेरबहादुर देउवालाई जोगाउँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचनामा उत्रिने क्रम आज पनि जारी रह्यो । संस्थापनइतर पक्ष सभापतिको कार्यशैलीमाथि प्रश्न उठाइरह्यो । बैठक लाइभ गरेर 'नवीन कांग्रेस' देखाउन त खोजियो, तर पुरानै संवाद र शैली देखाएर ।

जारी बैठकमा नेताहरू स्पष्ट गुटगतरूपमै आरोप–प्रत्यारोपमा उत्रिएका छन् । केन्द्रीय सदस्य बलबहादुर केसीको भनाइमा बैठकबाट सभापति र महामन्त्रीबीच द्वन्द्व बढाउने काम भयो ।

Agni Group
NIC Asia

“यो बैठकको सन्देश राम्रो गएको छैन । सभापति र महामन्त्रीको द्वन्द्व बढाउने काम भयो । ठिक ढंगले भएन । हिजो हमी जुन टिमबाट लडे पनि आजको बहसमा हेर्नुपर्दा महामन्त्री एउटा क्याम्पमा, सभापति एउटा क्याम्पमा जस्तो देखिन्छ । हाम्रो एजेन्डा यही हो ?,” केसीको प्रश्न छ । 

शुक्रबारको बैठकमा नेताहरूले पार्टी सुधार र राष्ट्रिय राजनीतिमा दीर्घकालीन प्रभाव पार्ने खालको मन्तव्य राखे । अधिकांश नेताहरू आरोपप्रत्यारोपमा उत्रिरहँदा केन्द्रीय सदस्य प्रदीप पौडेल, सरिता प्रसाईं, गोविन्द भट्टराईले फरक ढंगले मत राखे । उनीहरूको निष्कर्ष थियो– कांग्रेसलाई जनताले सच्चिने म्यान्डेट दिएका छन्, अब सचिऔँ ।

Global Ime bank

सांसदसमेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसले कांग्रेस सिटामोल खाएर ठिक नहुने बताए । बरु सर्जरी नै आवश्यक भएको उनको भनाइ छ । उनले वार्षिक क्यालेन्डरले कांग्रेसलाई सुधार गर्न नसक्ने पनि बताए । उनले संवैधानिक प्रावधानमा सुधार र निर्मम परिवर्तन अहिलेको आवश्यकता रहेको बताए ।

पौडेलले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने, पार्टीबाट एउटा व्यक्ति बढीमा चारपटक सांसद, दुईपटक प्रदेश सभा र एकपटक स्थानीय तह लड्ने प्रावधान राखिनुपर्ने बताए । उनले पार्टी नेतृत्व चयनमा पनि सबै कार्यकर्ताको सहभागिताका लागि 'प्राइमरी इलेक्सन'को व्यवस्था गरेर टिकट वितरणमा जानुपर्ने विचार राखे । 

“केही संवैधानिक प्रावधान सुधार्न कांग्रेसले नेतृत्व गर्नुपर्छ । समानुपातिक प्रतिनिधित्व हुने गरी २०१ सिटको चुनाव होस् । प्रदेशमा पनि समावेशी प्रतिनिधित्व हुने व्यवस्था गरौँ । राष्ट्रिय सभा ३५ सदस्य होस् र पार्टीको चुनावमा सबै सदस्यले भोट हाल्ने व्यवस्था गरौँ । प्राइमरी इलेक्सनको व्यवस्था गरेर टिकट वितरण गरौँ,” पौडेलले भने । “पार्टीबाट एउटा व्यक्तिलाई चारपटक भन्दा बढी संघीय सांसदको टिकट दिनुहुँदैन । प्रदेशमा दुईपटक र समानुपातिकमा एकपटक मात्रै अवसर दिनुपर्छ । प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री दुईपटक भन्दा बढी हुन नपाइने व्यवस्था गरौँ । कार्यसम्पादन समितिको निर्णयलाई दुई महिनाभित्र अनुमोदन गर्नुपर्ने भनिएको छ भने दुई महिनाभित्र अनुमोदन नगरे स्वत: अस्वीकृत हुने व्यवस्था गरौँ ।”

केन्द्रीय सदस्य सरिता प्रसाईंले विश्वविद्यालयमा हुने राजनीतिक भागबन्डाका कारण कांग्रेसको साख गिरेको बताइन् । उनले विश्वविद्यालयमा र राजदूत नियुक्तिका क्रममा हुने राजनीतिक भागबन्डालाई अन्त्य गर्नुपर्नेमा जोड दिइन् । उनले राजदूतमा पार्टीको मान्छे नियुक्त गर्नैपर्ने भए योग्य र क्षमतावान व्यक्ति नियुक्त गर्न आग्रह गरिन् ।

उपनिर्वाचनको नतिजाले कांग्रेसलाई जनताले सुध्रने मौका दिएको उनको तर्क छ । “उपचुनावको हारले जनताले संकेत गरेका छन् कि हाम्रो विश्वासलाई अविश्वासमा परिणत गर्दैछौँ भन्ने संकेत दिएका छन् । यसलाई महसुस गरेर कांग्रेसलाई सुधारेर लानुपर्छ,” उनले भनिन् ।

अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले भाषण सुनाएर संगठन विस्तार नहुने बताए । बरु १० कक्षा मुनिका विद्यार्थीलक्षित कार्यक्रम अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । 

“एक सयपटक तपाईंहरूको भाषण सुनाएर, मेरो भाषण सुनाएर संगठन विस्तार हुँदैन,” उनले भने, “अब हाम्रो संगठनको लक्ष्य क्षेत्र युवा विद्यार्थी हुनुपर्छ । अहिले ८ कक्षामा पढ्ने विद्यार्थी चार वर्षमा १२ मा पुग्छ । उसका लागि योजना बनाऔँ ।”

भट्टराईले कांग्रेसमा नेतृत्व गर्न चाहनेको पंक्ति ठूलो भएकाले सबैले अवसर पाउनुपर्ने बताए । उनले समानुपातिक, राष्ट्रिय सभा, राजनीतिक नियुक्ति र स्थानीय तहका जनप्रतिनिधिहरूलाई दोहोर्‍याएर अवसर दिन नहुने बताए । 

“अब हामी समानुपातिक र राष्ट्रिय सभा कसैलाई दाहोर्‍याएर दिदैनौँ भनेर यो मिटिङबाट पास गरौँ । पोलिटिकल अपोइन्मेन्ट र पालिका प्रमुख र उपप्रमुख दोहोर्‍याएर नदिने निर्णय यो मिटिङले गर्नुपर्छ । किनभने पुरानो पार्टी हो धेरै नेतृत्वमा जान चाहन्छन्,” उनले भने

उनले जारी बैठकले कांग्रेसको गुट उपगुट अन्त्य भएको संकल्प पनि पारित गर्नुपर्ने पनि बताए ।

संविधान दिवस मनाउने विषयमा आपत्ति 

बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीले संविधान दिवस मनाउने विषयमा आपत्ति जनाए । उनले महामन्त्रीले संविधान दिवस मनाउने प्रस्ताव गरेको भन्दै आपत्ति जनाए । 

“विवादास्पद कतिपय विषय उल्लेख भएको संविधानलाई कांग्रेसले दिवस मनाउन सक्छ ? यसमा मेरो घोर असहमति छ,” उनले भने । ०४७ सालमा कांग्रेसकै स्वामित्वमा संविधान जारी गरिएको र अहिले ती एजेन्डा नभएकाले पहिले जस्तो स्वामित्व अहिले नरहेको उनको भनाइ छ । 

“संविधान हामीले बनाएको हो । ०४७ सालमा हामीले बनाएको हो । ०४७ सालको संविधान बनाउँदा जति हाम्रो ओनरसिप थियो । अहिले ओपनसिप त्यति छैन,” उनले थपे ।

संविधानमा उल्लेखित ‘धर्मनिरपेक्ष’ भन्ने शब्द हटाउनुपर्छ भनेर कांग्रेस बोल्नुपर्ने बताए । संघीयता महँगो भएकाले विकल्प खोज्नुपर्ने उनको भनाइ छ । निर्वाचन प्रणालीमा पनि विचार गर्नुपर्ने भण्डारीको तर्क छ । 

गठबन्धनमा प्रश्न के गर्ने ?

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले गठबन्धनले गर्दा कांग्रेस कमजोर भएको बताएका छन् । गठबन्धनका कारण कांग्रेस जनतामा कमजोर बनेको र संगठन भताभुङ्ग भएको उनीहरूको भनाइ छ । 

तर, केन्द्रीय सदस्य तथा पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका कारण कांग्रेस पहिलो दल भएको दाबी गरे । उनले वर्तमान सत्ता गठबन्धनलाई सफल बनाउनु पार्टीको अहिलेको आवश्यकता भएकोमा जोड दिए । 

“एउटा ठूलो उपलब्धि गरेका छौँ । नेपाली कांग्रेस तीन तहको सरकारमा सबैभन्दा ठूलो पार्टी भएको छ,” लेखकले भने, “यो गठबन्धनको राजनीतिक नेतृत्व कांग्रेसले गरेको छ । यो गठबन्धनको स्थिरता र स्थायित्वका लागि के निर्णय गर्छौं, त्यसले पनि ठूलो अर्थ राख्छ ।”

खाँणबारे के भने ?

कांग्रेस बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका नेता बालकृष्ण खाँण निकट नेताहरूले उनको बचाउ गरिहरेका छन् । उनीहरूले खाँणबारे संस्थापन इतर समहूले तर्को आलोचना गरेका छन् । यद्यपि कांग्रेस बैठकमा भ्रष्टाचारविरुद्ध पनि आवाज उठिरहेको छ ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले भ्रष्टाचारका काण्डलाई निष्पक्ष छानबिन गर्न कांग्रेसले सहयोग गर्नुपर्ने धारणा राखे ।

“गणतन्त्रपछिका चर्चित काण्डको छानबिन गर्न कांग्रेसले सहयोग गर्नुपर्छ । गणतन्त्रपछि सबै नेताको छानबिन गर्न कांग्रेसले नेतृत्व गर्नुपर्छ,” उनले भने, “व्यक्तिले कमजोरी गर्न सक्छ. पार्टीले गर्न सक्दैन । ०८४ को निर्वाचनमा सरकार बनाउन हामीलाई मत देऊ भन्दा मत पाइँदैन । अहिले सरकारमा रहँदा हामीले यति काम गर्‍यौँ र हामीलाई मत देऊ भन्ने स्थिति हुनुपर्छ ।”

तर, संस्थापन निकट नेताहरू खाँणलाई बचाउ गरिरहे । प्रचार विभाग प्रमुखसमेत रहेका मीन विश्वकर्माले त 'दोषी छुट्यान कांग्रेस सर्वोच्च अदालत हो ?' भन्दै प्रश्न नै गरे । उनले कांग्रेस परिवार भएको र परिवारको सदस्यमाथि कुनै अभियोग लागेमा 'वकिल राख्ने कि थपक्कै स्वीकारेर जेल पठाउने ?' भन्दै प्रश्न गरे । 

“हाम्रो परिवारका कुनै सदस्य सार्वजनिक अभियोगमा मुछियो भने हामी लुकाउँछौँ कि थपक्क लगेर थानामा बुझाउँछौँ ? मलाई यत्ति जवाफ चाहियो,” उनले भने, “होइन भने, कांग्रेस एउटा घर हो, घरको एउटा सदस्यलाई आरोप लाग्यो अनि छिटो पक्रिनु भनेर डेलिगेसन जाने ?”

विश्वकर्माले थपे, “दोषी ठहर यही कार्यसमितिले गर्छ भने वकिल पनि राख्नुभएन वकिलले बहस पनि गर्नुभएन । अदालतले ठहर नगरुन्जेलसम्म दोषी हो कि निर्दोष पत्ता नलाग्दा नेपाली कांग्रेस त्यस्तो सर्वोच्च अदालतले हो, त्यसले दोषी अहिले नै ठहर गर्ने ?”

अर्का केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ पनि खाँणको पक्षमा उभिए । श्रेष्ठले खाँणलाई थुनामा पठाउनबाट पार्टीले 'किन रोक्न सकेन ?' भन्दै प्रश्न नै गरे । 

“एउटा साथी पुर्पक्षमा थुनिएको छ । उनलाई रोक्न सकिन्थ्यो होला किन रोकिएन ?,” श्रेष्ठले बैठकमा भने, “अदालतमा भएको कुराले गल्ती गरेको नगरेको भन्ने कुराको निर्णय आएको छैन । पुर्पक्ष भनेको जसलाई पनि लाग्न सक्छ । साथीहरूले उहाँको बारेमा छलफल नगरौँ । आफ्नो परिवारको सदस्य जेलमा भएकोमा सहयोग गर्नुपर्छ । निस्कोस् भनेर हामीले त्यसबारेमा लाग्नुपर्छ भन्ने मेरो भनाइ छ ।”

खाँण निकट केन्द्रीय सदस्य जितजंग बस्नेतले पनि खाँणको विरोध भइरहेकोमा असन्तुष्टि पोखे । उनले खाँण पक्राउ गर्ने गृहमन्त्री नारायकाजी श्रेष्ठलाई भेट्न गएकोमा आपत्ति मात्र जनाएनन् १५० किलो सुन पक्राउ प्रकरणमा गृहमन्त्रीको समेत नाम मुिछएको भन्दै राजीनामा माग्न जाने कि नजाने भन्दै प्रश्न गरे । 

“१५० केजी सुन पकडेको छ । गृहमन्त्रीको नाम आएको छ, महराको नाम आएको छ । केपी ओलीको नाम आएको छ, यो विषयमा,” उनले भने, “हाम्रो साथीहरूको नाम आए चर्को कुरा गर्ने. हिजो गृहमन्त्री भेट्न जाने साथीहरू यो काण्डमा नारायणकाजीको नाम आएको छ, म पनि जान्छु राजीनामा माग्न, हाम्रो साथीहरू गृहमन्त्रीको जाने कि नजाने ?”

उनले महामन्त्री र इतर समूहका नेताहरूप्रति लक्षित गरेर 'आफ्नै नेता र सभापतिलाई खुइल्याएर आफू चर्चित बन्न खोजेको हो ?' भन्दै प्रश्न गरे । नेपाल मजुदर किसान पार्टीको उदाहरण दिँदै उनले पार्टीलाई 'नेमकिपा बनाउन खोजेको हो ?' भन्दै प्रश्न गरे । 

साउन २ गतेबाट जारी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ । पार्टीको अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  २०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu