site stats
बाह्रखरी :: Baahrakhari
कला
रेडियो संचालकहरूको निर्णय रोयल्टीको अधिकार निस्तेज पार्ने षड्यन्त्र : सुरेश अधिकारी

काठमाडौं । संगीतकार सुरेश अधिकारीले नेपालका स्वतन्त्र रेडियो सम्वद्ध छाता संगठन, रेडियो ब्रोडकास्टर्स फोरम नेपाल, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ नेपालको निर्णय समग्र बौद्धिक अधिकारमाथिको प्रहार भएको बताएका छन् । एफएम रेडियोहरूको संबद्ध संस्थाहरूले अब एफएम रेडियोहरूबाट सुरेश अधिकारी जोडिएका कुनै पनि गीतसंगीत नबजाउने निर्णय गरेपछि सुरेश अधिकारीले बौद्धिक अधिकारलाई कुण्ठित पार्ने योजनाबद्ध प्रयास भएको बताएका छन् । 

एफएम रेडियोका हकहितको लागि खुलेका संघसंस्थाको नेतृत्वले पदीय दुरुपयोग गरेको भन्दै उनले प्रतिलिपि अधिकारको अभियानलाई निस्तेज पार्ने षड्यन्त्र भएको बताए । “म अहिले प्रतिलिपि अधिकारका लागि लडिरहेको छु । यो अभियानको नेतृत्व गरिरहेको छु । त्यसैले सुरुमै म माथि आक्रमण भएको छ,” उनले बाह्रखरीसँग भने, “व्यक्तिका रूपमा म जोडिए पनि समग्रमा यो प्रतिलिपि अधिकारको अभियानलाई बिचमै निस्तेज पार्ने योजनासहितको षड्यन्त्र हो यो ।” 

संगीत रोयल्टी संकलन समाजका अध्यक्षसमेत रहेका उनले यस्तो षड्यन्त्रलाई सफल हुन नदिने उनले स्पष्ट पारे । 

Argakhachi Cement Island Ad

एफएम सञ्चालकहरूका संस्थाले हिजो संयुक्त विज्ञप्ति जारी गर्दै सुरेश अधिकारीसँग जोडिएका गीतसंगीतलाई देशभरका सबै एफएममा नबझाउने निर्णय गरेका थिए । सुरेश अधिकारीले सामाजिक सञ्जालमार्फत अमर्यादित गाली गलौच, मानमर्दन र भ्रम सिर्जना गर्ने काम गरेको भन्दै उनीहरूले आपत्ति जनाएका थिए । अधिकारीको  अभिव्यक्तिले समग्र नेपाली संगीत क्षेत्रकै गरिमा घटाएको र सञ्चारमाध्यमसँगको सम्बन्धमा समेत दूरी बढाउने काम गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

121689937706.jpg

संगीत रोयल्टी संकलन समाजले राज्यको चौथो अंगको रूपमा स्थापित संचार उद्योगको सुसञ्चालन गर्न पाउने अधिकारमाथि नै ठाडो उल्लंघन गरेको उनीहरूको आरोप छ । “आमसञ्चार गृहका उपकरणहरूसमेत उठाउने विषयमा समेत दिएको अभिव्यक्तिप्रति खेद् व्यक्त गर्दै, नेपाल सरकारसँग आम संचारगृहको सुरक्षाको मागसमेत गर्दछौं,” विज्ञप्तिमा उल्लेख छ । 

यता, अधिकारीले भने आफूमाथि विभिन्न आरोप लगाए पनि यो समग्र स्रस्टा तथा कलाकारको विगत सोह्र वर्षदेखिको सांगीतिक सिर्जना एफएमबाट प्रशारण गरे बापत प्रशारकले कानुनी दायित्वको रूपमा तिर्नु पर्ने रोयल्टीको संघर्ष भएको बताएका छन् ।
 
कानुनले नै संरक्षण गरेको अधिकार हनन् हुँदा आफूहरू टुलुटुलु हेरेर बस्न नसक्ने उनले बताए । उनले प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ११ बमोजिम गीतसंगीत लिन र प्रयोग गरेवापत सोही ऐनको दफा ३९ अनुसार रोयल्टी तिर्न पनि आग्रह गरेका छन् । 

“उत्पादक, प्रकाशक, प्रस्तोता, गीतकार, संगीतकारसँग हरेक सिर्जनाको सोही ऐनको दफा २५ बमोजिमको अनुमति लिएर आफ्नो एफएममा प्रशारण गर्नुस् । यो सिधा र स्पष्ट कानुनी मार्ग हो,” सुरेश भन्छन्, “कसैमाथि चोर औंला उठाएर, कुनै रुवाबासी र हुलहुज्जत गरेर अरुको सम्पत्ति हडप्न वा उपभोग गर्न पाउँनुहुन्न ।” 

सर्जक र कलाकार बौद्धिक सम्पत्तिका मालिक भएको भन्दै उनले अरुको सम्पत्तिमा राज गर्ने अधिकार दोस्रो वा तेस्रो पक्षलाई नभएको बताए । 

“हामी हाम्रो सम्पत्ति कुनै धम्की, दादागीरी वा शक्तिको आडमा लुट्न दिदैनौं । अटेर गरेर हाम्रो सम्पत्तिमाथि  लुटमार कायम राख्नुहुन्छ भने उपरोक्त ऐनको दफा २७ हेरि राख्नुस्,” उनी चेतावनी दिन्छन् । 

उनले आफू स्रस्टा तथा कलाकारका लागि सहिद हुन तयार रहेको तर मैदान छोड्ने पक्षमा नरहेको पनि स्पष्ट पारेका छन् । 

रेडियो ब्रोडकाष्टर्स फोरम, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ नेपालको निर्णयविरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा संगीत रोयल्टी संकलनसमाजको पहलमा गीतसंगीतसँग सम्बद्ध सबै संस्थाको आज संयुक्त बैठक बसेको छ । बैठकले कसरी प्रभावकारी रूपमा अगाडि बढ्ने भन्ने निर्णय गर्ने अधिकारीले जानकारी दिए ।  

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्