site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको चासो, सिचुवानले अगस्टदेखि उडान गर्ने

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि चिनियाँ कम्पनीहरूले चासो देखाएका छन् । चीनबाट नेपालमा उडान गर्दै आइरहेका चिनियाँ एयरलाइन्स कम्पनीहरूले पोखरा उडानको लागि चासो दिएका हुन् ।

सिचुवान, एयर चाइनालगायत कम्पनीले अहिले विमानस्थलबाट नियमित उडानका लागि चासो देखाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशकुमार अधिकारीले बताए ।

“पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडानको लागि चाइनिज एयरलाइन्स कम्पनीहरू सिचुवान, एयर चाइनाले चासो राखिरहेका छन्,” अधिकारीले बाह्रखरीसँग भने, “उनीहरूको आकाशबाट पोखरा उडान गर्ने विषयमा चासो देखिएका छन् ।”

अन्य विदेशी कम्पनीले भने पोखराबाट उडानको लागि चासो देखाएका छैनन् ।

२०७३ वैशाख १ मा शिलान्यास गरिएको विमानस्थल करिब सात वर्षपछि सञ्चालनमा आएको हो । सन् २०२३ को जनवरी १ तारिखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थलको तामझामका साथ उट्घाटन गरेका थिए । विमानस्थल सञ्चालनमा आएको ६ महिना पुगिसक्दा पनि अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन ।

यसअघि, पोखराबाट कतार एयरवेजले अन्तर्राष्ट्रिय उडान गर्न ५/६ पटक पत्राचार गर्दा पनि सम्बन्धित निकायले जवाफ नदिएको नेपालका लागि कतारी राजदूतले बताएका थिए ।

तर, त्यो कुरा सत्य नभएको विमानस्थल सञ्चालन गर्दै आएको क्यानका अधिकारीहरू बताउँछन् । त्यसबाहेक अन्य कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि कुनै पनि कम्पनीले चासो नदिएको सचिव अधिकारीले बताए ।

अगस्टदेखि उडान गर्ने सिचुवानको प्रतिबद्धता

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान भरेको सिचुवानले आगामी अगस्ट महिनादेखि उडान गर्ने प्रतिबद्धता गरेको मन्त्रालयका सचिव अधिकारीले बताए ।

“अहिले यात्रु कम रहेको भन्दै आगामी अगस्टबाट सिचुवानले नियमित उडान गर्छु भनेको छ । अगस्टबाट पर्यटकीय गतिविधि बढ्ने र त्यसपछि उडान नियमित गर्ने प्रतिबद्धता जनाएको हो,” उनले भने ।

सिचुवानले गत असार ६ गते चिनको छेन्दुबाट पहिलो अन्तर्राष्ट्रिय उडान भरेको थियो । पोखरामा भएको ‘नेपाल–चीन ड्रागन बोट रेस फेस्टिवल’ मा सहभागी हुने खेलाडीहरूलाई चार्टर उडान गरेको थियो । त्यसबेला नै उसले नियमति उडान गर्ने प्रतिबद्धता जनाएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले भने अनौपचारिक रुपमा धेरैले चासो दिएको तर औपचारिक रुपमा नियमित उडानको लागि ठोस प्रस्ताव कतैबाट नआएको बताए ।

“सिचुवानले अनौपचारिक रुपमा विन्टर सेडुलबाट उडान गर्ने भनेको हो । तर, सिचुवानले चार्टर उडानको रिपोर्ट हालसम्म पेस गरेको छैन,” भुलले भने, “एयर चाइना, एयर अरेबिया, जजिराले पनि पोखरामा भिजिट गरेको छ । तर, औपचारिक रुपमा उडानको लागि कुनै पनि कम्पनीले अप्लाइ गरेको छैनन् ।”

आन्तरिक उडानमा सीमित

पोखरा विमानस्थल हाल आन्तरिक उडानमै सीमित भएको छ । अन्तर्राष्ट्रिय उडान नहुँदा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्रै सीमित भएको हो ।

पोखराबाट अन्तरप्रदेशीय उडान पनि नियमित हुन सकेको छैन । तीन कम्पनीले अन्तरप्रदेशीय उडान गरे पनि हाल बुद्ध एयरले मात्र नियमति रुपमा उडान गर्दै आइरहेको विमानस्थल प्रमुख गौतमले बताए ।

हाल बुद्ध एयरले पोखरालाई ‘दोस्रो हब’ बनाएर पोखराबाट भैरहवा, चितवन र नेपालगञ्ज उडान गर्दै आइरहेको छ । यसअघि, बुद्धले पोरखाबाट चन्द्रगढी, विराटनगर, भरतपुर, धनगढी, जनकपुर पनि उडान सुरु गरेका थियो । तर, यात्रु कम हुँदा उक्त क्षेत्रको पोखराबाट उडान रोकेको हो । छिट्टै पोखराबाट उक्त क्षेत्रमा उडान गर्ने तयारी गरेको बुद्ध एयरले जनाएको छ ।

यसअघि, गुण एयर र यती एयरलाइन्सले पनि अन्तरप्रदेशीय उडान सुरु गरेका थिए । तर, गुण एयर वित्तीय संकटमा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्द लगाएको थियो ।

यस्तै, यती एयरलाइन्सले भने उडान सुरु गरेको तर पछि आफै रोकेको विमानस्थलका प्रमुख विक्रमराज गौतमले बताए ।

चीनको एक्जिम बैंकबाट २३ अर्ब ऋण लिएर विमानस्थल निर्माण गरिएको हो । एक्जिम बैंकले ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान दिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro