मुलुकको जेठो र यतिबेला संसद्को समेत ठूलो दल नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको रस्साकस्सीमा छ । झन्डै वर्ष दिन गुजारेर, कार्यकर्ताको लामो प्रतीक्षा एवं दुनियाँको खिसिट्युरीमा परेपछि बल्ल प्रमुख दलको कार्यसमितिको बैठक बसेको छ ।
यसो हुन हुन्थ्यो कि हुन्थेन वा केन्द्रीय समितिको बैठक बस्दै नबसी एक बर्ष गुजार्न सुहायो कि सुहाएन ? नेपाली कांग्रेसमा आबद्धहरूले बुझ्ने कुरा हो । बाँकी विश्वले तदर्थवादी शैलीमा कांग्रेसको गतिप्रति अनौठो मान्नु यस्तो बेला स्वाभाविकै हो ।
यो बैठक पनि बाध्यताको सिलसिला हो कि, नेतृत्वको इच्छाशक्तिको परिणाम ? प्रस्ट छैन । लाजमर्दो अवस्था बोध भने सबैलाई भएको हुनुपर्छ । किनभने लामो समय केन्द्रीय समितिको बैठक नबस्नु र कार्यकर्तादेखि, शुभेच्छुक र कांग्रेसको अवस्थाप्रति चासो राख्ने सबैले बैठक नहुनुमा व्यक्त गरेको आश्चर्यलाई थेग्न गाह्रो भएको परिणाम मानियो भने बैठक पनि बाध्यताकै प्रतिफल मानिनेछ । पार्टीभित्रै बैठकको माग पनि चर्कैसँग आइरह्यो । बल्ल बेला भएछ !
यसबीच तीनै तहको निर्वाचनसमेत नेपाली राजनीतिमा महत्त्वपूर्ण गतिविधि भए । नेपाली कांग्रेस यसबीच प्रायः पदाधिकारी, पूर्वपदाधिकारी वा कार्यसम्पादन समितिको बैठकबाट निर्णय लिँदै यहाँसम्म आयो ।
त्यसो त कांग्रेस बैठक 'देर आया दुरुस्त आया' भनेजस्तै हुने संकेत छ । यसका केही कारण छन् । पहिलो कारण त प्रविधि प्रयोग अर्थात् सञ्चार माध्यम (फेस बुक)बाट बैठकको प्रत्यक्ष प्रसारण । दोस्रो कार्यसूचीको प्रस्तुति, सदस्यहरूबीच गहिरो वा स्वतन्त्र अभिव्यक्ति र छलफल वा हल्का प्रस्तुति ।
आज तीन दिनदेखि बैठक यही प्रक्रियामा जारी छ । लामो समय र यसबीच धेरै राजनीतिक गतिविधि खासगरी चुनाव, दलहरूबीचको बन्दै, फेरिँदै भएका गठजोड र सरकारको मिलीजुली बनोट देशको राजनीतिक अभ्यासमा देखियो ।
देशै हल्लाउने र अन्तर्राष्ट्रिय छविमा समेत धक्का पुग्ने आर्थिक घोटाला (भ्रष्टाचार) को फेहरिस्त पनि यसैबीच सार्वजनिक भए । छानबिनको दायरामा ल्याइएका त्यस्ता घटनाले सार्वजनिक जानकारीमा रहेका अन्य यस्तै भ्रष्ट कृत्यको पनि कुनै दिन पर्दाफास हुने आशा बलियो भएको छ ।
यी यस्ता विषय हुन् जसले कांग्रेसको धारणा मागी रहेका छन् । चुनावी परिणामको समीक्षा, दलीय गठबन्धको सैद्धान्तिक पक्ष र उपयोगिता वा यो कतिबेला, कुन अवस्थामा, कोसँग गर्ने भन्ने सबालमा कांग्रेसको धारणा अपेक्षित छ ।
त्यस्तै पार्टीको लथालिङ्ग आन्तरिक संरचना र संगठनात्मक गतिविधिप्रति खासगरी कार्यकर्ताले यसै बैठकबाट परिणाम वा निर्णायक निर्देश आउनुपर्ने अपेक्षा गरेका छन् । अर्थात्, भाइ संगठनहरूको गठन वा पूर्णता र परिचालन, सैद्धान्तिक र वैचारिक मान्यता उजिल्याउने र सुशासनसमेत विकास चिन्तनलाई अगाडि बढाउने प्रकारको प्रतिफल आउनुपर्ने बाहिरी प्रतीक्षा छ ।
बैठक सकिँदा कांग्रेसले के कस्तो सन्देश दिने हो त्यो त त्यतिबेलै थाहा होला । आशा गरौँ –हात्ती आयो.. फुस्सा भनेजस्तो पक्कै हुने छैन । नेपाली कांग्रेसले देशको खाँचो, सार्वजनिक अपेक्षा र अन्तर्राष्ट्रिय चासोप्रति जानकार हुनेसमेत दायित्वबोध गरेकै हुनुपर्छ । यही पृष्ठभूमिमा भएको ठूलो दलको बैठकको निर्णयले देशको राजनीतिमा गहिरो प्रभाव राख्ने नै छ । बैठक दूरगामी परिणामको सन्देश दिन सफल बन्ने अपेक्षा कार्यकर्तामा पाइन्छ ।
पहिलोपटक प्रत्यक्ष प्रसारणसहित भएको बैठकले नयाँ चासो उत्पन्न गरेको छ । राजनीतिक वृत्तमा किन प्रत्यक्ष प्रसारण ? भन्ने जिज्ञासामा विभिन्न तर्क गरिएका छन् । हल्काफुल्का टिप्पणी पनि भएका छन् । आफ्नो घनघोर विरोध हुने भयले सभापति शेरबहादुर देउवाले प्रत्यक्ष प्रसारणको राजनीतिक फन्डा गरेको धारणा पनि व्यक्त भएका छन् ।
बैठक सञ्चालनमा कांग्रेस प्रविधि मैत्री भयो वा प्रविधि प्रयोगमा पनि अग्रणी देखियो भन्ने मान्य तर्क पनि आएका छन् । बैठकमा एकथोक र बाहिर अर्कै वा आक्रामक धारणा व्यक्त गरेर क्रान्तिकारी बन्ने प्रवृत्ति नियन्त्रण गर्न पनि सार्वजनिक प्रसारण प्रविधि प्रयोग गरिएको तर्कसमेत आएका छन् ।
यस्ता सबै टिप्पणीको आआफ्नै अर्थ होलान् । तीमाथि थप भनाइ उचित छैन । तर लामो प्रतीक्षापछि जारी प्रत्यक्ष प्रसारित बैठक केन्द्रीय (मनोनीत समेत) सदस्यहरूको औपचारिक परिचय बैठकजस्तै भयो । तिनले आआफ्नो अनुहार, हाउभाउ र ताउरमाउर सार्वजनिक माध्यममा प्रत्यक्ष प्रसारण गर्ने अवसर पाए, चिनाए ।
कसले 'नुनको सोझो' गर्यो र को वैचारिक, नैतिक र संस्थागत सोचको धरातलमा प्रस्तुत भए ? आदि जानकारीसँग प्रत्यक्ष साक्षात्कार हुन र मूल्यांकन गर्न नेपाली नागरिकले पाए । केन्द्रीय सदस्यका लायक कति र नेताका कृपापात्र कति भन्ने ? जानकारी पनि कार्यकर्ताले पाए । तिनको क्षमता र हैसियत सार्वजनिक भयो ।
राष्ट्रिय जनमोर्चाका पाका नेता र चित्रबहादुर केसीले दलहरूको कार्यसमिति सदस्यको असीमित संख्या देखेर टिप्पणी गरेका थिए –'भेडी गोठ' । कांग्रेसको यही स्वरूप पनि प्रत्यक्ष सार्वजनिक भएको छ । योग्य, अयोग्य, इमान, लगाव र योगदान पनि हेरीहेरी ती बैठकमा उपस्थितको प्रविधि माध्यमले समीक्षा पनि हुनसक्ने अवसर भयो ।
सबैभन्दा ठूलो कुरा त सभापति देउवाले पार्टी रूपान्तरणको आग्रहलाई केही नबोली सार्वजनिक गरिदिएका छन् । प्रविधिको प्रयोग र प्रसारणबाट आफ्ना केन्द्रीय सदस्यहरूको हैसियत र खुबी सार्वजनिक गरिदिएका छन् ।
आफू कस्ता, कस्ताको सभापति हो ? भन्ने रहस्य पनि सबैका अघिल्तिर खुलाइदिएका छन् । सभापति देउवाको अनुहारमा लामो समयदेखि गायब हाँसो बैठकमा यसपटक (एकपटक देखेको) खित्कै छोडेर मुक्त रहस्य हाँसेको रूपमा फर्केको दृश्यसमेत बाहिरियो ।
यसो गरिनु रूपान्तरणको सन्देश होइन ? प्रविधिमा रूपान्तरण । प्रक्रियामा रूपान्तरण । अभिव्यक्तिमा रूपान्तरण । हाउभाउ र ताउरमाउर वा विचार अभिव्यक्तिमा रूपान्तरित हुन बाध्य पार्ने प्रविधि प्रसारण प्रयोग अग्रगामी र रूपान्तरणको सन्देश रचित प्रक्रिया नै हो ।
प्रविधि प्रसारण कति प्रभावी र निरन्तर हुन्छ वा पार्टी जीवनको लागि कति सार्थक परिणामदायी होला ? हेर्नै छ । जे होस् नयाँ प्रक्रिया सुरु भयो । अरूले सिको गर्नसक्छन् । प्रसारण प्रक्रियाले पार्टी संगठन र कार्यकर्तालाई कति उत्साहित र सक्रिय पार्छ ? यो पनि हेर्नै छ ।
सार्वजनिक प्रसारणबाट आफ्ना अगाडिको बहुमुखी चुनौती सामना गर्ने हैसियत वा इच्छाशक्ति कांग्रेसले कति पाउँ छ ? सभापतिले पार्टीभित्र गुट वा तेरोमेरो प्रवृत्ति मुखर बनाएको आरोप हट्छ कि हट्दैन ? गुटको खुबी वैचारिक वा नीतिगत हुने कि व्यक्ति नेताको छत्रछाया मान्ने ? वैचारिक समूह बन्ने कि गुटको स्वार्थी ताबेदार बन्ने ? आदि जिज्ञासाको उत्तर त आगामी दिनमै मिल्नसक्ला । त्यो पनि हेर्नै छ ।