site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सामान फालेर चोरीको निवेदन !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल पर्यटक प्रहरीमा आर्थिक वर्ष २०७९/०८० मा ५३२ वटा उजुरी परेका छन् ।  एक वर्षमा विभिन्न देशबाट नेपाल घुम्न आएका ५३२ जना पर्यटकले उजुरी दिएका हुन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार नेपालमा सन् २०२२ मा साढे ६ लाख विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२३ को जुनसम्म चार लाख ७६ हजार पर्यटक आएका छन् । 

धेरै उजुरी सामान चोरी वा हराएको विषयसँग सम्बन्धित रहेका छन् । आफू हराएको, दुर्व्यवहार भएको, उत्पीडनमा परेको, दुर्घटनामा परेको, लुटिएकोजस्ता उजुरी पनि परेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गत आर्थिक वर्ष २०७९/०८१ मा सबैभन्दा धेरै सामान हराएको विषयमा उजुरी परेको छ । एक वर्षको अवधिमा ३४५ जना पर्यटकले सामान हराएको भन्दै पर्यटक प्रहरीमा उजुरी दिएका छन् । सामान चोरी भएको विषयमा ८२ जना पर्यटकले उजुरी दिएका छन् । तर, सबै अवस्थामा चोरी भने नहुने गरेको प्रवक्ता चन्द्रकिशोर शाहले बताए । 

“सामान चोरी भयो वा हरायो भनेर उजुरी दिनुहुन्छ,” शाहले बाह्रखरीसँग भने, “तर, पर्यटक आफैँले सामान छाड्ने, ध्यान नदिने, बिर्सेर जाने र पुराना सामान फालेर पनि चोरीको उजुरी गर्छन् ।” 

Global Ime bank

विभिन्न व्यक्तिहरूबाट झुक्काइएको अथवा धोका पाएको भन्दै ३३ जनाले उजुरी दिएका छन् । २८ जनाले दुर्व्यवहारमा परेको र १३ जनाले लुटिएको भन्दै उजुरी दिएका छन् । 

चारजना पर्यटकले आफू हराएको भनेर सूचना दिएका छन् । विभिन्न ठाउँमा पर्यटकहरू फ्री इन्डिभिजुअल ट्रेकर (एफआईटी)मा जाँदा बाटोमा हराउने र परिवारको सम्पर्कमा नआएपछि उनीहरूको परिवारबाट उजुरी आउने गरेको प्रवक्ता शाहले बताउँछन् । 

उनका अनुसार एफआईटीमा जाँदा गन्तव्य पत्ता लगाउन नसकेर बाटोमा हराउने, बिरामी पर्ने, कतिपयको मृत्युसमेत हुने गर्छ । पछिल्लो समय एफआईटी प्रणाली हटाइएसँगै यस्ता खालका उजुरी कम भएको शाहले बताउँछन् ।

पकेटमार, दुर्घटना, आक्रमण परेका र दुर्व्यवहारमा, अपहरणमा परेको भन्दै १४ जनाले उजुरी दिएका छन् ।

२७५ उजुरी फर्छ्योट

प्रवक्ता शाहका अनुसार ५३२ उजुरीमध्ये २७५ उजुरीको मात्र पर्छ्योट भएको छ । ६९ जना पर्यटकको मिलापत्र भएको छ । विभिन्न सामान हराएको तथा प्रमाणपत्र भेटाएर पर्यटकलाई जिम्मेवारी लगाएको प्रवक्ता साह बताउँछन् ।

उनले ५७ जनाको उजुरी सम्बन्धित निकायसँग समन्वय गरेर समाधान गरिएको बताए ।

पर्यटक प्रहरीमा परेकामध्ये २५७ उजुरी फर्छ्योट हुन बाँकी छ । तीमध्ये कतिपय उजुरीकर्ता निवेदन दर्ता गरेपछि सम्पर्कमा नआउने गरेको प्रवक्ता शाहले बताए । 

आठ पर्यटक कारबाहीमा

एक वर्षको अवधिमा आपराधिक गतिविधिमा संलग्न आठ विदेशी पर्यटक कारबाहीमा परेका छन् । दुईजना चिनियाँ, युगान्डा, इटाली, रुस, स्विडेन र कोरियाका एक/एकजना पर्यटक कारबाहीमा परेका हुन् ।

पर्यटकका रूपमा नेपाल आएर विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरेर थप कारबाहीका लागि सम्बन्धित निकायमा जिम्मा लगाएको प्रवक्ता शाहले बताए ।

तीन पर्यटकको उद्धार

एक वर्षको अवधिमा पर्यटक प्रहरीले तीनजना विदेशी पर्यटकको उद्धार गरेको छ । अमेरिकी पर्यटक अना सोफियाले गत वैशाख १६ गते पर्यटन प्रहरी ठमेलमा पासपोर्ट र नगद चोरी भएकाले खान र बस्न समस्या भएको भन्दै आश्रमका लागि व्यवस्था गर्न निवेदन दिएकी थिइन् । त्यसपछि उनलाई उद्धार गरेर मानव सेवा आश्रम काठमाडौंमा पठाइएको प्रर्यटक प्रहरीले जनाएको छ । उनलाई स्वदेश फिर्ता पठाउन अमेरिकी दूतावासलाई पत्राचार गरिएको प्रहरीले जनाएको छ । 

फ्रान्सका अलाइन जेन क्युमेनर गत जेठ १४ गते काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएका थिए । सोधपुछ गर्दा उनले पनि पासपोर्ट र नगद हराएको बताए । त्यसपछि उनलाई पनि मानव सेवा आश्रममा पठाइएको थियो । अहिले उनलाई आफ्नो देश फिर्ता पठाइएको प्रवक्ता शाहले बताए ।

आइरिस नागरिक टिमोथी डेन्हीले जेठ २३ गते नर्भिकमा उपचारका क्रममा स्वास्थ्यकर्मीले हातपात र अभद्र व्यवहार गरेको भन्दै पर्यटक प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि उनलाई खुमलटारमा रहेको ट्रान्क्विलिटी अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी प्रवक्ता शाहले बताए ।

पर्यटक प्रहरीले के गर्छ ? 

नेपाल पर्यटन बोर्डमा केन्द्रीय कार्यालय रहेको पर्यटक प्रहरीले हाल देशभरका १४ कार्यालयबाट सेवा दिँदै आएको छ । कुनै पर्यटक नेपाल प्रवेश गरिसकेपछि यहाँ रहेसम्म सुरक्षित रूपमा घुमफिर गर्ने वातावरण मिलाउने जिम्मेवारी पर्यटन प्रहरीलाई छ । समग्रमा नेपाल आउने विदेशी पर्यटकको सुरक्षा र संरक्षण गर्ने दायित्व पर्यटक प्रहरीको हुन्छ । 

उजुरी लिएर पर्यटक प्रहरीसमक्ष पुगेमा प्रहरीले पर्यटकलाई सम्बन्धित मुलुकको दूतावाससमक्ष सम्पर्क गराइदिन्छ । त्यसपछि आफ्ना नागरिकको बाँकी व्यवस्थापन दूतावासले गर्छ ।

कुनै पर्यटकलाई अप्ठेरो परेमा वा बिरामी परेमा पैसा नभएको अवस्थामा उनीहरूलाई अस्पतालमा भर्ना गराएर पर्यटक प्रहरीले सम्बन्धित दूतावाससँग समन्वय गर्ने गर्छ । 

पर्यटक प्रहरीले ठमेल, वसन्तपुर, पशुपतिनाथ, स्वयम्भुनाथ, त्रिभुवन विमानस्थल, पाटन, भक्तपुर र नगरकोटमा आफ्नो जनशक्ति खटाएको छ । 

उपत्यकाबाहिर झापाको काँकडभिट्टा, सोलुखुम्बुको लुक्ला, जानकी मन्दिर, वीरगञ्ज, सौराहा, स्यार्पुबेँसी (रसुवा)मा पनि पर्यटक प्रहरीको कार्यालय छ । पोखरा, धम्पुस, घान्द्रुक, वीरेठाँटी, चामे, जोमसोम, घोरेपानी, लुम्बिनी र बेलनिया (रूपन्देही)मा पनि पर्यटक प्रहरीले जनशक्ति खटाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement