site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

मिटर ब्याजीबाट पीडितहरूलाई न्याय दिने सरकारी प्रतिबद्धता अहिलेसम्म खोक्रो पाखण्ड सिद्ध भएको छ । नियतमा शङ्का नगर्दा पनि सरकारी ढिलासुस्ती र विपक्षको संवेदनहीनताका कारणले नै मिटर ब्याजसम्बन्धी अध्यादेश निस्क्रिय हुन पुगेको हो भन्न हिचकिचाउनु पर्दैन ।


संसद्मा मिटर ब्याजसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक सरकारले निकै ढिलो पेस गर्‍यो । विधेयक पारित गर्ने कार्यसूची रहेकै दिन विपक्षले रडाको निकालेर संसद् चल्न दिएन । त्यही कारणले अध्यादेश निस्क्रिय हुनपुग्यो । 


सरकारले मिटर ब्याजपीडितलाई न्याय दिलाउने प्रतिबद्धता दोहोर्‍याई नै रहे पनि सत्तारुढ गठबन्धनकै घटक जनता समाजवादी पार्टी (जसपा)ले भने विधेयक पारित हुन नदिने धम्की दिएको छ । अर्कोतिर, विपक्षी दलहरूले भने विधेयकको विरोध गरेका छैनन् ।


मिटर ब्याजको समस्या तराईमा धेरै देखिएकाले मूलतः मधेसमा आधारित जसपा त विधेयकको पक्षमा हुनुपर्ने हो । उल्टै जसपा त विधेयकविरुद्ध देखियो । यसैले जसपाको विरोध मिटर ब्याजीहरूको स्वार्थरक्षाको निम्ति त होइन भन्ने सन्देह पनि व्यापकरूपमा प्रकट भएको हुनुपर्छ ।


अप्ठेरामा परेका व्यक्तिसँग मिटर ब्याज लिनु र तिको घरबार उठिवास लगाउनु सामाजिक, नैतिक र कानुनी सबै दृष्टिबाट अपराध हो । यसैले पनि अहिलेका कमजोरी हटाउन यस विषयमा कानुनी व्यवस्था गर्नु आवश्यक र उचित हो ।


सरकारले आज आइतवार मिटर ब्याजसम्बन्धी विधेयक संसद् समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेकाले कुनै दलले पनि त्यसलाई अवरोध नगरून् । जसपा वा अरू कुनै दलका कारण विधेयक प्रस्तुत भएन वा सरकारले प्रस्तुत गरेन भने जनविरोधी षड्यन्त्र गरिएको सिद्ध हुनेछ । 


सामान्यतः भूतप्रभावी कानुन बनाउनु न्यायोचित मानिदैन । साथै जसपाले भनेजस्तै नेपालका बैंकहरूदेखि वित्तीय संस्थाले समेत मिटर ब्याज भन्न मिल्नेगरी ऋणीहरूको शोषण गर्ने गरेका छन् । तर, यसको कानुनी समाधान खोज्नुको साटो मिटरब्याजीपीडितहरूले न्याय पाउने विधेयक रोक्नु न्यायोचित र विवेकसम्मत हुँदैन ।


यसैले मिटर ब्याजसम्बन्धी विधेयक तत्काल पारित गरी पीडितहरूलाई आश्वस्त पार्न र राज्य उनीहरूका पक्षमा रहेको सिद्ध गर्न सरकार कसैको धम्की वा घुर्कीबाट विचलित नहोस् नत्र, प्रगतिशील र न्यायपूर्ण कानुन कहिल्यै बन्नेछैन ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro