site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

ललिता निवासको जग्गा हिनामिनाको छानबिनका क्रममा प्रहरीले अपनाएको हचुवाका भर पक्रेर थुन्ने शैलीबाट नेपाल सरकारका सचिवहरूसमेत चिन्तित भएछन् । वर्षौं पहिले शाखा अधिकृत छँदा टिप्पणी उठाएकै आधारमा बहालवाला सचिवलाई पक्राउ गरिएपछि सचिवहरूले सामूहिकरूपमै मुख्यसचिवलाई भेटेर चिन्ता प्रकट गरेका छन् । 

प्रकाशित समाचारअनुसार सचिवहरूले 'राम्ररी अनुसन्धान नगरी पक्राउ गरिएको' र 'आदेश पालना गरेकै भरमा पक्रेर थुनिएको' कारणले असन्तुष्टि प्रकट गरेका हुन् । मुख्यसचिवले यस विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने आश्वासन दिएको बताइएको छ । यथार्थमा सचिवहरूले मुख्यसचिवको ध्यानाकर्षण गराएको विषयहरू गम्भीर र चिन्ताजनक हुन् ।

केही दिन पहिले उद्यमी व्यवसायीका प्रतिनिधि संगठनहरूले विज्ञप्ति निकालेर अनुसन्धानभन्दा पहिले नै पक्रेर थुन्ने प्रवृत्तिबाट निजी क्षेत्रको मनोबल कमजोर हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । अहिले सरकारका सचिवहरूले पनि सामूहिकरूपमा त्यस्तै चिन्ता प्रकट गरेका छन् । यसले सरकारलाई गम्भीर बनाएकै हुनुपर्छ ।

सरकारले यसरी नै नागरिकलाई जथाभावी पक्रेर थुनामा राख्न थाल्यो भने कोही पनि सुरक्षित नरहन सक्छन् । राज्यबाट भएका यस्ता ज्यादतीको कसैबाट पनि प्रतिवाद नभए शासकहरूमा ‘फासिस्ट’ प्रवृत्ति पनि बढ्छ र त्यसको पहिलो चोट लोकतन्त्रका मूल्यमान्यतामाथि पर्छ । 

नेपाल सरकारका सचिवहरूले नै सामूहिकरूपमा प्रकट गरेको चिन्तालाई प्रधानमन्त्रीले पक्कै पनि गम्भीररूपमा लिने नै छन् । त्यस क्रममा गहिरो अनुसन्धान गर्नुभन्दा पहिले नै पक्रेर थुनिहाल्ने प्रहरी अभ्यासको पनि गम्भीर समीक्षा गर्नु आवश्यक देखिन्छ । यस्तो प्रवृत्तिले राज्यको नैतिक धरातल कमजोर जो हुन्छ ।

यसैगरी निर्णयको जिम्मेवारी सुरु 'टिप्पणी' उठाउने अधिकृतमाथि थोपरेर 'सदर' गर्ने अधिकारी उम्काउने प्रवृत्तिका विषयमा पनि समीक्षा हुनु आवश्यक देखिन्छ । यस्तो प्रवृत्ति अन्त्य नभए 'ठूलामाछा' सधैँ उम्कने र 'भुरामाछा'मात्र जालमा पर्ने अहिलेको विसङ्गति निरन्तर रहनेछ । 

निजामती सेवाका कर्मचारीहरू यस निर्णयपछि थप सशङ्कित हुने निश्चितै छ । यसै पनि काम पन्छाउन र अलमल्याउन खप्पिस कर्मचारीहरूले अब कामै नगर्न बहाना पाउनेछन् । यसबाट समग्र सरकार सञ्चालनमा असर पर्ने हुनाले सरकार गम्भीर हुनै पर्छ ।

घोटालाका योजनाकार र अन्तिम निर्णयकर्ता उम्कने र तल्ला तहका सहयोगीलाई 'बलिको बोको' बनाइने परम्परागत अभ्यासमा परिवर्तन नगरुन्जेल भ्रष्टाचारविरुद्धको कारबाही पाखण्डमात्र हुनेछ । यसमा पनि कारबाही गर्ने निकायका अधिकारी गम्भीर बनून् ! 

अहिलेसम्म चलाइएका भ्रष्टाचारका मुद्दामा प्रायः ठूलामाछाले उन्मुक्ति पाउँदै आएको देखिन्छ । विशेषगरी, भ्रष्टाचारको कारबाहीबाट उम्किनकै लागि विवादास्पद विषयमा मन्त्रिपरिषद्बाट निर्णय गराएर त्यसलाई नीतिगत निर्णयको कोटीमा राख्ने गरिएको छ । सरकारले यसको पनि गम्भीर समीक्षा गरोस् ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ११:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro