site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राजस्व संकलन गर्ने लक्ष्य आधारहीन : सांसद वाग्ले 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष राजस्व संकलनको सरकारको लक्ष्य आधारहीन देखिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजस्व संकलन प्रक्षेपण गर्न नसकेको आरोप उनले लगाए । असार १८ गतेसम्म आठ खर्ब ६६ अर्ब रुपैयाँ मात्र राजस्व उठाए पनि सरकारले नौ खर्ब उठाएको भन्दै गलत तथ्यांक दिएको उनले जिकिर गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एक महिनाअघि मात्र अर्थ मन्त्रालयले बजेटमार्फत ११ खर्ब ८० अर्ब उठाउने घोषणा गरेको भन्दै उनले अब आर्थिक वर्षका बाँकी १२ दिनमा केही चमत्कार नहुने बताए ।

नेपालको औसत राजस्व संकलन तीन अर्ब रहेको भन्दै घटाएको संशोधित अनुमानलाई हेर्दा अब दैनिक २६ अर्ब उठाउनुपर्ने बाध्यता सरकारसामु रहेको उनले उल्लेख गरे ।

“असार १८ गतेसम्म सरकारको राजस्व आठ खर्ब ६६ अर्ब मात्रै उठेको छ । नौ खर्ब उठेको छैन । अर्थ मन्त्रालयले एक महिनाअघि मात्रै बजेटमा १,१८० अर्ब उठाउँछु भन्नुभएको छ । आर्थिक वर्ष सकिन १२ दिन मात्रै बाँकी छ । औसत राजस्व संकलन तीन अर्बजति मात्रै हुन्छ । सरकारले घटाएको संशोधित अनुमानलाई हेर्दा पनि दिनमा २६ अर्ब राजस्व उठाउनुपर्ने हुन्छ,” उनले भने, “सरकारले ४० दिनको पनि प्रक्षेपण गर्न नसकेको हो कि ? कि अर्को १२ दिनमा अर्को चमत्कार हुँदै छ ?”

उनले थपे, “असार १८ गतेसम्म अनुदानमा पनि चार अर्ब ८० करोड मात्रै उठेको छ । सरकारको लक्ष्य थियो ५५ अर्ब र एक महिनाअघि मात्रै ३८ अर्ब आउँछ भन्नुभएको थियो । पाँच अर्ब चानचुनमा १२ दिनमा ३०.५ अर्ब पुग्ने आधार होला । सरकारको राजस्व र वैदेशिक अनुदानमा पनि एक महिनाभित्र नै संशोधित अनुमान र वास्तविताबीचको खाडल विश्वनीयतामा प्रश्न उठाउँछ । अर्को १२ दिनमा के हुँदै छ ? के आधारमा सरकारल लक्ष्य राख्यो ?”

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्