site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

पुराना मोटर गाडीलाई कबाडी बनाएर फाल्नु नेपालजस्तो मुलुकका लागि पक्कै बुद्धिमानी हुँदैन । अहिले थोत्रिएका भनेर फालिएका वा विस्थापन गर्न लागिएका मोटर गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न प्रोत्साहित गरिएमा छँदाखाँदाका सग्ला गाडी कबाडीमा परिणत गर्नुपर्ने छैन ।

सरकारी र निजी गरेर लाखौं सवारी साधन अहिले थन्क्याएर राखिएका छन् ।  बीस वर्ष पुराना भाडाका गाडी चलाउन नदिने नियमले थोत्रिने सवारीको सङ्ख्या बर्सेनी बढ्दै जानेछ । अर्कातिर बर्सेनि हजारौंको सङ्ख्यामा मोटर गाडी खरिद गरिन्छ । 

नेपालमा अहिलेसम्म गाडी बन्दैन । सवारी साधन बनाउन चाहिने कच्चा पदार्थ पनि छैन । पेट्रोलियम पदार्थ पनि सबै आयात गर्नुपर्छ । अर्थात्, यातायातका हकमा नेपाल पूरै विदेशी उत्पादनमा निर्भर छ ।

अर्कातिर, हालैका वर्षमा विद्युतीय सवारी साधनको विकास र प्रयोग ह्वात्तै बढेको छ । विद्युतीय सवारी साधन चलाउने ऊर्जा अर्थात् बिजुली भने नेपालमै उत्पादन हुन्छ । यसैले नेपालले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्नु बुद्धिमानी हुने देखिन्छ ।

अहिले चलिरहेका सवारी साधन एकैपटक हटाएर पूरै विद्युतीय सवारीले विस्थापन गर्ने क्षमता न नेपाल सरकारसँग छ न निजी सवारी राख्ने सबैले नै त्यसो गर्न सक्छन् । अर्कातिर, प्रदूषणकै दृष्टिले पनि विद्युतीय सवारी साधनको प्रयोग अनिवार्य हुँदै गएको छ ।

यस अवस्थामा पुराना मोटरलाई विद्युतीय साधनमा रूपान्तरण गरेमा सम्भवतः यो समस्या अपेक्षाकृत सजिलै समाधान हुनसक्छ । यस्तो प्रविधिको प्रयोग विश्वभर बढ्दै गएकाले छिटै सर्वसुलभ, सहज र सस्तो पनि हुने देखिन्छ ।

साथै पुराना गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दा अर्बौं रुपियाँका गाडीका सग्ला भागको सदुपयोग हुन्छ । नयाँ गाडी खरिद गर्नु नपर्दा अर्को अर्बौं रुपियाँ बचत हुन्छ । पुराना गाडीलाई रूपान्तरण गर्दा सवारी साधनमा मध्यमवर्गको पहुँच पनि बढ्ने देखिन्छ ।  

यसैले प्रदूषण वा अरू कारणले थन्किएका र थोत्र्याउन खोजिएका मोटर गाडीका काम लाग्ने जति सबै भागको अधिकतम सदुपयोग गर्नु किफायती र सजिलो उपाय हुने देखिन्छ । यसका लागि सरकारले कम्तीमा सवारी साधनलाई रूपान्तरण गर्ने प्रयासहरूलाई प्रोत्साहन गर्नु बुद्धिमानी हुन्छ ।

विडम्बना, नेपालका सरकारी अधिकारीहरू भने पुराना गाडीका काम लाग्ने भाग जति प्रयोग हुने उपाय अपनाउन तत्पर देखिँदैनन् । पुराना गाडीलाई विद्युतीय साधनमा रूपान्तरण (कन्भर्जन) गर्न अहिले तगारो बनेका नीति, नियम र मानसिकता तत्काल हटाउन राजनीतिक अग्रसरता जरुरी हुन्छ । ढिलो नगर !

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro