site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
छोराछोरीको गाँस काटेर जम्मा गरेको पैसा खाइदियो, त्यसलाई पाप लाग्छ !
Sarbottam CementSarbottam Cement

काठमाडौं । माइतीघर मण्डलामा भइरहेको सहकारीपीडितको आन्दोलनमा दिनहुँ फरक दृश्य देख्न पाइन्छ । त्यहाँ एउटा मात्र सहकारीका पीडित छैनन्, आन्दोलनको एक महिननादेखि करिब ५० वटा सहकारीका पीडितहरू त्यहाँ पालो गरेर आउने गरेका छन् । त्यहाँ दिनमा मात्र हैन, रातमा पनि बस्ने गरिएको छ । फरक–फरक सहकारीका पीडितहरू त्यहाँ प्रत्येक दिन बस्ने गरेका छन् ।

यसै भिडमा गेटवे बचत तथा ऋण सहकारी संस्थाकी पीडित सम्रिता राई पनि छन् । उनी आउन थालेको आज २० दिन पुगेको छ । उनको घर भोजपुर हो । उनी काठमाडौंको सिनामंगलमा ठेलामा चटपटे व्यापार गर्दै आएकी छन् । उनी यसरी आन्दोलनमा दैनिक आउँदा चटपटे व्यापार नै बन्द हुने अवस्थामा पुगेको छ ।

राईका दुई छोरा छन् । तिनै छोरालाई विदेश पठाउन भनेर उनले २०७५ सालदेखि गेटवे सहकारीमा दैनिक बचत गर्दै आएकी थिइन् । उनले आफ्ना छोराहरूको नाममा पनि सोही सहकारीमा गएको वर्ष २०७९ को वैशाखदेखि बचत गर्दै आएकी थिइन् । तर, गत वर्षको साउनदेखि नै सहकारीका कर्मचारी बचत संकलन गर्न नआएको उनी बताउँछिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“मैले हालसम्म करिब एक लाख रूपैयाँ पैसा गेटवे सहकारीमा जम्मा गरेकी थिएँ । पोहोर साउनबाट सहकारीका कोही पनि कर्मचारी बचत संकलन गर्न नआएपछि बुझ्न जाँदा बन्द भएको जानकारी पाएँ,” उनले भनिन्, “एक वर्षदेखि म कहाँ जानु भनेर खोजिरहेकी थिएँ । छोराहरूले फेसबुकमा सहकारीले ठगेकाहरू माइतीघरमा छन् भन्ने थाहा पाएछन् । म त्यही भएर आएकी हुँ । यहाँका सरहरूले नियमित आउनुपर्छ भन्नुभएको छ ।”

गेटवे सहकारीकै अर्की पीडित बचतकर्ता सानुमायाँ लामिछानेको पनि पीडा उस्तै छ । उनले यो सहकारीमा चार लाख रुपैयाँ जम्मा गरेकी छन् । आफ्नो मात्र नभएर आफन्तको पनि पैसा जम्मा गरिदिएको उनी बताउँछिन् । बजार प्रतिनिधिले गर्दा आफूहरू फसेको उनी बताउँछिन् ।

Global Ime bank

“घाम पानी नभनी हामी दिन रात माइतीघरमा बस्ने गरेका छौं । हामीलाई पनि त घरमा आनन्दले सुत्ने मन थियो । के गर्नु दुःखले जम्मा गरेको पैसा नै नआउने भएपछि आन्दोलनको विकल्प सोचेका हौँ,” उनले भनिन्, “म नशाको रोगी छु । विदेशबाट दुःख गरेर कमाएर ल्यएको पैसा सहकारीमा जम्मा गरेकी थिएँ । त्यसैको ब्याजले औषधिको खर्च टारेकी थिएँ । अब त बाटो नै बन्द भयो ।”

गेटवे सहकारीका ७० पीडितहरू अहिले माइतीघरमा आन्दोलनरत छन् । अर्की पीडित कोपिला पााण्डेको पीडा पनि उस्तै छ । उनले यो सहकारीमा तीन लाख ५० हजार रुपैयाँ जम्मा गरेकी छन् । यसअघि, पाण्डे यही सहकारीमा बजार प्रतिनिधिका रूपमा काम गर्दै आएकी थिइन् । तर, सहकारीकी अकाउन्टेन्टले पैसामा हिनामिना गरेपछि छोडिदिइन् । आफूले बनाएका सदस्यहरूलाई पनि आफूले छोडको जानकारी गराइन् । उनका अनुसार यो सहकारीका सञ्चालकले जग्गा, घर र गाडीमा बचतकर्ताको पैसा दुरुपयोग गरेका छन् । घरजग्गाको कारोबार बन्द भएपछि सहकारी ओरालो लागेको उनी बताउँछिन् ।

यो सहकारीको अध्यक्ष निर्जन राई हुन् । उनी आफैँ नै कर्मचारीको रूपमा पनि काम गर्ने गरेको पाण्डे बताउँछिन् । सहकारीमा कार्यरत कर्मचारी सबैलाई स्कुटर किनिदिएको उनले जानकारी दिइन् । कर्मचारीलाई पनि टार्गेटअनुसार तलब भत्ताको व्यवस्था गरिएको उनी बताउँछिन् । एउटै घरका मिलेर ऋण लिने र त्यो ऋण नतिर्दा पनि समस्या परेको उनले सुनाइन् । उनीहरूका दाजुभाइले मिलेर तीनवटा सहकारी खोलेको पाण्डे बताउँछिन् । उनीहरूका दाजुभाइले मिलेर सन्ध्या र सुन्ताखान सहकारी पनि खोलेका थिए । यी दुई सहकारीमा पनि राईको सेयर रहेको उनको भनाइ छ ।

“यो सहकारीका दाजुभाइ र उनीहरूका श्रीमतीहरूको शासन थियो । उनीहरूले आफ्नै नाममा पनि पैसा निकालेर जग्गा किनेको पाइयो । अध्यक्षको श्रीमतीको नाममा २० लाख ऋण लिएको पाइयो,” उनले भनिन्, “जग्गा पनि श्रीमती र आफ्नो नाममा किनेका छन् । हामी बचतकर्ताले पैसा फिर्ता मागेपछि अध्यक्ष राईले नै आफ्नो नाम र श्रीमतीको नाममा जग्गा खरिद गरेको जानकारी दिएका थिए ।”

पैसा फिर्ता आउने आशले नियमित माइतीघरमा आउने गरेको उनी बताउँछिन् । आफ्नो पालोअनुसार रातमा पनि माइतीघरमा नै सुत्ने गरेको उनले बताइन् । तर, घरमा श्रीमान्ले तनाब दिने गरेको उनी सुनाउँछिन् । श्रीमानले ‘पैसा खुवाइस्, अब रोडमा पनि गएर सुत्न थालिस्’ भनेर कराउन थालेको उनले सुनाइन् ।

“वर्षौँदेखि कमाएको पैसा फसेको छ । नआउन्जेलसम्म हामी यो आन्दोलनमा बस्छौँ । हाम्रा छोराछोरीले हामीले पाएको जस्तो दुःख नपाउन्,” गहभरी आँशु पर्दै भनिन्, “आजकाल घरमा पनि यही निउमा झगडा पर्ने गरेको छ । श्रीमान्ले पनि पैसा खुवाइस्, अब रोडमा रातभरि सुत भन्नुहुन्छ ।”

त्यस्तै, आन्दोलनमा सहभागी यसै सहकारीकी बचतकर्ता रूपा बोहोरा पनि १५ दिनदेखि निरन्तर रूपमा आन्दोलनमा नै छिन् । उनको किराना पसल ज्ञानेश्वरमा छ । किराना पसलमा रहेको बेला सहकारीबाट आएका प्रतिनिधिले उनलाई खाता खोलाएकी थिइन् ।

बोहोराले पनि बिरामी पर्दा औषधि उपचार गर्न हुन्छ भनेर बचत गरेकी थिइन् । तर, अहिले न बचत रकमको टुंगो छ, न त ब्याजको । बचत गर्न थालेको पाँच महिनामा सहकारी नै भागेको उनी बताउँछिन् । “सहकारीमा काम गर्ने बजार प्रतिनिधिले आफै पैसा ल्याइदिन्छु भन्थिन् । विश्वास गरेर हामी गइएन । पाँच महिनामै सहकारी भाग्छ भन्ने के थाहा ?,” उनले भनिन् ।

सोही सहकारीकी बचतकर्ता निशामाया तामाङले पनि छोराछोरीको गाँस काटेर बचत गरेकी थिइन् । दैनिक ज्यालादारीमा काम गरेर छोराछोरीको गुराजा चलाउँदै आएकी उनी अहिले किन सहकारीमा बचत गरेछु भनेर पछुतोमा छिन् ।

“छोराछोरीको गाँस काटेर मैले सहकारीमा बचत गरेकी थिएँ । मेरा साना छोराछोरीको गाँस काटेर जम्मा गरेको पैसा सहकारीले खाइदियो । त्यसलाई पाप लाग्छ,” उनले भनिन्, “अब जिन्दगीमा कहिल्यै सहकारीमा पैसा नराख्ने कसम खाएँ । छोराछोरी सानै छन् । छोराछोरी पढाउन भनेर मैले सहकारीमा बचत गरेकी थिएँ । तर, सोचेजस्तो हुँदैन रहेछ ।”

पछिल्लो समय सहकारीले बचतकर्ताबाट जम्मा गरेको पैसा अनुत्पादक क्षेत्रमा लगानी गर्दा समस्या उत्पन्न भएको छ । घरजग्गा, सेयर, स्कुल, कलेज, मार्ट र गाडीमा बचतकर्ताको पैसा दुरूपयोग गरेको घटना पनि बाहिरी रहेको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पनि केही सहकारीको अनुसन्धान गरिहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement