
काठमाडौं । नूर–गंगा प्रतिभा पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार सर्जकहरूलाई समर्पण गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् केदारभक्त माथेमाले ‘नूर–गंगा राष्ट्रिय बालसाहित्य पुरस्कार–२०७८’ साहित्यकारहरू डा. गेहेन्द्रमान उदास पोखरेली (पोखरा) र कन्हैया नासननी (काठमाडौं)लाई संयुक्तरूपमा समर्पण गरे । पुरस्कारकासाथ जनही ५०/५० हजार नगद राशिसमेत प्रदान गरिएको छ ।
कार्यक्रममा ‘नूर–गंगा क्षेत्रीय लोकगायन प्रतिभा पुरस्कार–२०७८’ पाल्पाका लोकगायक पुष्कल शर्मालाई ३० हजार नगद राशिसहित प्रदान गरियो । त्यस्तै ‘नूर–गंगा राष्ट्रिय लोकगायन प्रतिभा पुरस्कार–२०७८’ २५ हजार नगद राशिसहित रामेछापका रामकुमार नेपालीलाई प्रदान गरियो ।
सोहीअवसरमा ‘नूर–गंगा क्षेत्रीय नवप्रतिभा साहित्य पुरस्कार–२०७८’ नगद राशि २० हजारसहित नवलपरासीकी आयुष्मा तिवारीलाई प्रदान गरियो ।
समारोहमा गुठीमा सक्रिय रही सेवा गर्ने व्यक्तित्वहरू बाबुहरि ज्ञवाली, प्रा.डा. तुलसीप्रसाद पाठक, प्रा.डा. विनोदकुमार श्रेष्ठ तथा यज्ञप्रसाद शर्मा पोखरेललाई समेत सम्मानित गरियो ।
कार्यक्रममा प्रमुख अतिथि माथेमाले मन्तव्य दिँदै निजी क्षेत्रबाट साहित्य कला संस्कृतिका क्षेत्रमा यस किसिमका कार्य हुनु सबैका लागि प्रेरणादायी भएको बताए ।
कार्यक्रममा प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. गोविन्द नेपाल, प्रा.डा. भवेश्वर पंगेनी, प्रा.डा. ध्रुवकुमार घिमिरे, नारायण रायमाझी, कन्हैया नासननी, डा. गेहेन्द्रमान उदास पोखरेली, यादव भट्टराईले बोलेका थिए ।
सोअवसरमा आयुष्मा तिवारीले कविता वाचन गरिन् भने रामकुमार नेपाली र पुष्कल शर्माले आफूले गाएका लोकगीत सुनाएका थिए ।