देशभर तिहार धुमधामसँग मनाइँदैछ । एक अर्बभन्दा धेरै हिन्दु धर्मावलम्वीको संख्या रहेको भारतमा दीपावली वा दिवालीको नामले मनाइने यो चाडलाई सबैभन्दा ठूलो नै मानिन्छ । नेपालमा भने तिहार दसैँ पछिको दोश्रो ठूलो चाड हो र यो निकै धूमधामले मनाइन्छ । काग, कुकुर, गाई, गोरु जस्ता जीवका पूजा, दिदीबहिनीले गर्ने दाजुभाईको पूजा, घरघरमा गरिने दीपावली र देउसी र भैलोजस्ता मौलिक साँस्कृतिक कृयाकलापले अरु भन्दा यो चाड फरक र विशिष्ट पनि छ । यही चाडको बीचमा शुरु हुने नेपाल सम्बत र खासगरेर नेवार समुदायले मनाउने म्हँ पूजाले यो चाडलाई अझ सुन्दर बनाउँछन ।
तिहार धार्मिक, सामाजिक र आर्थिकमात्र होइन सांस्कृतिक पर्व पनि हो । देउसी भैलोको रूपमा गाइने मौलिक नेपाली गीत संगीत तिहारको अभिन्न पक्ष हो । तिहारमा देउसी भैलो खेल्ने चलन सुरु हुनुका पछाडि आफ्नै मौलिक कारण छन् । वरिष्ठ संस्कृतिविद् एवं इतिहासकार डा. जगमान गुरुङका अनुसार एक हजार वर्षअघि, लिच्छवीकाल सकिएपछि पश्चिम नेपाल (जुम्ला) मा वली राजा आए । त्यसबेला देवदास र देवदासीको प्रचलन थियो । ती दासदासीलाई यमपञ्चकको बेलामा वली राजाले मागेर खाने आज्ञा दिएबमोजिम देवदासले देउसी र देवदासीले भैलेनी खेले । पछि राम्रो लागेर अन्यले पनि तिहारको बेलामा देउसी भैलो खेल्न थाले । पछिल्ला वर्षमा प्रविधिको विकास र आधुनिकताको नाममा मौलिकतामा ह्रास हुँदैगए पनि यो चलन नेपाली समाजमा अझै चलिआएको छ ।
'सिस्नुपानी नेपाल' नामक संस्थाले हरेक वर्षको तिहारमा सिस्नुपानी देउसी भैलो कार्यक्रम आयोजना गर्दैआएको छ । यस वर्ष पनि कुकुर तिहारको दिनमा गत बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा भ्रष्टाचारविरुद्धमा भन्दै सो कार्यक्रम भएको थियो । सिस्नुपानी नेपालमा हास्यव्यंगका स्रस्टा र कलाकारको बाहुल्य भएकाले होला हरेक वर्ष यस्ले आयोजना गर्ने देउसी भैलो पनि हास्यव्यंगकै सेरोफेरोमा हुन्छ । अर्थात् सिस्नुपानी नेपालले आयोजना गर्ने देउसी भैलो गाईजात्रा जस्तो हुन्छ । ठूलो धार्मिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको देउसी भैलोलाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संलग्नतामै गाईजात्रा जस्तो बनाउनु कति उचित हो ? यस्को छुट्टै चर्चा होला ।
देउसी भैलो र गाईजात्रा छुट्टाछुट्टै सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका परम्परा हुन् । देउसी भैलो, पुत्र वियोगले विह्वल रानीलाई खुसी बनाउन राजाले प्रहसन आयोजन गराएजस्तो होइन । मनोरञ्जनको एउटा तरिका त होला तर देउसी भैलोमा कविता वा गीतका माध्यमबाट जेजस्ता कुरा व्यक्त गरिएका हुन्छन् ती सबै पूर्ण चेतनामा जिम्मेवारीसहित गरिन्छन् । सायद, सिस्नुपानी नेपालले पनि यसै गरेको होला ।
सिस्नुपानी नेपालका कार्यक्रममा नेपालका नेताको प्रत्यक्ष उपस्थितिमै उनीहरुलाई विभिन्न आरोप लगाइएको हुन्छ । यसपटक पनि सो क्रम दोहोरियो । यस वर्ष पहिलेभन्दा अझ बढी गम्भीर आरोप लगाइयो । गाईजात्राका समेत केही सीमा हुन्छन् । यो कार्यक्रममा नेपाली प्रमुख दल र नेतालाई भ्रष्टचारी, लोभीपापी, गैरजिम्मेवार र देश र जनताको भन्दा आफ्नै हितमात्र सोच्नेजस्ता व्यक्तिगत आरोप त लागे नै तिनका छोराछोरी र पत्नीसमेत बचेनन् । कार्यक्रममा एकजना कविले नामै तोकेर कुनै अमूक नेताका छोरालाई कुपुत्र र अर्का नेताकी पत्नीलाई भ्रष्टाचारीसम्म भन्न भ्याए । स्मरण होस् त्यो देउसी भैलो गाइजात्रे प्रहसन थिएन । कार्तिक कृष्ण पक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितिया तिथिसम्म जम्मा पाँच दिन मनाइने नेपालको दोस्रो ठूलो पर्व तिहारको एउटा परम्परा देउसी भैलोको प्रबर्धन गर्न एउटा जिम्मेवार संस्थाले आयोजना गरेको कार्यक्रम थियो । त्यसैले त्यहाँ कविता वा गीतमार्फत् नेपालका नेतालाई जे आरोप लगाइए वा प्रश्न सोधिए ती गाइजात्रे कविता वा गीतका अंश थिएनन् । ती नेपालका नेतामाथि पूर्ण चेतनासहित लगाइएका आरोप थिए जस्को उत्तर दिनु वा खण्डन गर्नु आरोपित नेताको दायित्व हुन्थ्यो, हो र हुनेछ ।
कार्यक्रममा परिवारैसहित सशरीर उपस्थित कठोर संघर्ष, गहिरो अध्ययन र राजपाठको लामो अनुभवले खारिएका मूर्धन्य नेताले सिस्नुपानी नेपालले आफूलाई निम्तो गरेर शरीरबाट नैतिकताको वस्त्र एक एक गर्दै उतारिदिएको कुरो बुझेनन् भनेर कसरी मान्ने ? तर, तिनको भावभङ्गीले बुझेजस्तो पनि लाग्दैनथ्यो । कार्यक्रमको अन्त्यमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एमाले)का अध्यक्षले मन्तव्य पनि राखे । ती नेताले आफ्ना मन्तव्यमा आफूलाई सोधिएका प्रश्नको जवाफ दिनु वा आरोपको खण्डन गर्नु त परको कुरा बरु उल्टै आफूलाई त्यसरी आरोपित गरेकोमा गदगद भए मानौ कुनै ठूलै युद्ध जितेर आएको सेनापतिको जयकार गरिँदै थियो । उनीहरूले यसो गरेकोमा आयोजक संस्था सिस्नुपानी नेपाललाई धन्यवाद नै ज्ञापन गरे ।
त्यस कार्यक्रमलाई रमाइलो वा मनोरञ्जनका रूपमा अति सामान्य मानिएला । नेताले त्यहाँ उठेका प्रश्नको उत्तर दिनुपर्छ भन्दा अर्को गाईजात्रा मानिएला । तर, त्यो कार्यक्रम हेरेपछि के निष्कर्षमा पुग्न सकिन्छ भने नेपालका नेताहरू यति थेत्तर भैसकेका छन् कि जतिसुकै नराम्रो भने पनि सजिलै पचाइदिन्छन् । उनीहरूमाथि कसैले औंला उठाएमा दिने जवाफ तीसँग रहेनछ । जस्तोसुकै आरोप लाग्दा घोसेमुन्टो लगाएर फिस्स गाला तन्काएर कृत्रिम हाँसो देखाउनुबाहेक खण्डन गर्ने आँट बाँकी रहेनछ ।
अर्को वर्ष नेताहरू उत्तर दिनसक्ने होऊन् ।