site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विराटनगरमा सञ्चार क्षेत्रलाई पनि कर, काठमाडौं महानगरभन्दा तीन सय प्रतिशत बढी

विराटनगर । आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम कार्यान्वयन गराउन आइतबार वार्षिक बजेट पेस गरेको विराटनगर महानगरपालिकाले करका दर र दायरामा व्यापक हेरफेर गरेको छ ।

अधिक प्रशानिक खर्च नियन्त्रण र आन्तरिक आय बढाउनै पर्ने बाध्यतामा रहेको महानगरले सञ्चार क्षेत्रबाट समेत कडिकडाउ ढंगले कर उठाउने नीति लिएको छ ।

महानगरको सभामा आइतबार पेस भएको सेवा र कार्यक्रमका लागि स्थानीय सञ्चित कोषबाट रकम खर्च गर्ने र विनियोजन गर्न बनेको विधेयक, २०८० पेस भएको छ । महानगरले करको दायरा बढाउँदै पत्रकारिता तथा सञ्चारसँग सम्बन्धित विभिन्न क्षेत्रबाट कर उठाउने नयाँ नीति अंगीकार गरेको हो । करको दायरा बढाउन नयाँ थप भएको शीर्षकमा सञ्चार क्षेत्र समेटिको छ । चालु आर्थिक वर्षको आर्थिक ऐनमा सञ्चार क्षेत्रलाई कर लगाइएको थिएन ।

Argakhachi Cement Island Ad

करसम्बन्धी नयाँ नीतिअनुसार अब महानगरभित्र सञ्चालित पत्रपत्रिकार, एफएम रेडियो, रेकर्डिङ स्टुडियो, फिल्म मेकिङ तथा एड्भरटाइजिङ स्टुडियो, अनलाइन सेवा, टेलिभिजनका मुख्य तथा शाखा कार्यालयहरूले समेत कर बुझाउनु पर्ने छ ।

पत्रपत्रिकाका प्रकाशकले ‘क’ वर्गको भए वार्षिक पाँचहजार, ‘ख’ वर्गको भए तीनहजार र ‘ग’ वर्गको भए दुईहजार कर बुझाउनु पर्ने छ । यसैगरी टेलिभिजन मुख्य कार्यालय भए वार्षिक २० हजार र शाखा कार्यालय भए १० हजार तिर्नुपर्ने व्यवस्था भएको छ । एफएमले वार्षिक १० हजार कर तिर्नुपर्ने प्रावधान गरिएको छ ।

यसैगरी रेकर्डिङ स्टुडियो ‘ग’ वर्गले ७ हजार, ‘ख’ वर्गले १० हजार र ‘क’ वर्गको भए १५ हजार, फिल्म मेकिङ तथा एडभर्टाइजिङ स्टुडियो सबै श्रेणीले १० हजार कर तिर्नुपर्ने प्रावधान विनियोजन विधेयकले गरेको छ । अनलाइन सेवाले वार्षिक १० हजार कर महानगरलाई बुझाउने व्यवस्था भएको छ ।

स्थानीय सरकारको हैसियतमा महागनरले उठाउने करमध्ये विधेयकमा उल्लेख भएका ३२ शीर्षकमा नयाँ थप भएका १४ शीर्षक नयाँ थप भएका छन् । चालु आर्थिक वर्षमा एक अर्ब ६४ करोड रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान गरेकोमा महानगरले जेठ मसान्तसम्मको एघार महिना अवधिमा ५१ करोड ६५ लाख मात्र संकलन गर्न सकेको छ ।

विराटनगरले काठमाडौं महानगरभन्दा तीन सय प्रतिशत बढी सञ्चार क्षेत्रको कर तोकेको हो । काठमाडौंले टेलिभिजन प्रसारण कम्पनीलाई पाँच हजार लिने नीति लिँदा विराटनगरले २० हजार तोकेको छ । एफएम स्टेसनलाई विराटनगरले १० हजार तोकेको छ । जबकि काठमाडौंले एफएमलाइ एक हजार, अनलाइन सेवालाई दुई हजार, अनलाइन न्युज पोर्टललाई पाँच सय रुपैयाँ मात्र तोकेको छ ।

राष्ट्रिय पत्रिकालाई काठमाडौंले दुईहजार लिने नीति लिएको छ भने विराटनगरले वर्ग छुट्याएर पाँच हजारसम्म तोकेको छ । विराटनगरबाट प्रकाशित हुने अधिकांश स्थानीय पत्रिका छन् । काठमाडौंले स्थानीय पत्रिकालाई एकहजार कर निर्धारण गरेको छ ।

आगामी आर्थिक वर्ष महानगरले ९९ करोड ५० लाख रूपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको छ । आइतबारको सभामा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले वार्षिक नीति तथा कार्यक्रम र त्यसलाई कार्यान्वयन गर्न प्रस्तावित बजेट पेस गरेकी थिइन् । 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  २२:०६
प्रतिक्रिया दिनुहोस्