नेपालले विगत तीन दशकमा जनस्वास्थ्यका क्षेत्रमा उत्साहवर्धक प्रगति गरेको छ । पछिल्लो ‘जनसङ्ख्या तथा स्वास्थ्य सर्वेक्षण, २०२२’ का तथ्याङ्कले यसको पुनः पुष्टि गरेको छ । शिक्षाको पहुँचमा भएको विस्तार पनि चानेचुने छैन । शासन, प्रशासनलगायत राज्यका सबै क्षेत्र समावेशी समतामूलक हुँदै गएका छन् । अरू त अरू मूलतः वैदेशिक रोजगारीमा बढेको पहुँचले सम्पन्नता पनि समाजको तल्लो तहसम्म पुगेको छ ।
विसं २०४६ सालसम्म नेपालको राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रको यति छिटै कायापलट हुने कल्पना पनि गरिएको थिएन । यसका लागि राजनीतिक नेतृत्वको योगदान थियो भन्ने स्वीकार नगरे पनि लोकतान्त्रिक पद्धतिविना यो सम्भव थिएन ।
त्यसो त, राजनीतिक नेतृत्व र समाजको मानसिकता गतिलो भएको भए बितेका ३० वर्षमा यसभन्दा धेरै उन्नति हुनसक्थ्यो । नेपाली समाजमा अझ समावेशी, न्यायपूर्ण, सम्पन्न र प्रगतिशील हुनसक्थ्यो । हुनुपर्ने जति आर्थिक, भौतिक र सामाजिक परिवर्तन एवं प्रगति नभएको पनि सत्य हो । तर, निराश वा कुण्ठित हुनुपर्ने अवस्था भने होइन । अझै पनि राजनीतिक चलखेलले प्रगतिको बाटो नथुन्ने हो भने छिमेकीहरूका तुलनामा नेपालको प्रगति छिटो र धेरै हुनसक्छ । यसैले सामाजिक असन्तोष वा प्रगतिको हुटहुटीलाई अन्यथा ठान्नु न्यायोचित हुँदैन ।
परन्तु, अहिले जनमानसलाई प्रभावित गर्ने सामाजिक सञ्जाल, कथित ‘बुद्धिजीवी’को एउटा जमात, राजनीतिक दलका नेता कार्यकर्तालगायतको ठूलै सङ्ख्या भने ‘सबै खत्तम’ भयो भन्ने छाप पार्न कम्मर कसेर लागेको छ । त्यतिमात्रै पनि होइन त्यो जमातकाे अगुवाजस्ता देखिनेहरू लोकतन्त्र नहुँदा सबै राम्रो थियो र अहिले बिग्रियो भन्ने भाष्य बनाउन व्यस्त देखिन्छन् । यो ‘रोमान्टिक अतीत मोह’ जस्तो पनि देखिन्छ । यद्यपि, कुत्सित मनसाय प्रेरित कुण्ठाको अभिव्यक्तिमात्र हो जस्तो लाग्छ । तर, यो त सामूहिक मनरोग पो रहेछ ।
भारतमा पनि एक दशक पहिले यस्तै भाष्य बनाइएको थियो । अझै पनि बिग्रे भत्के दोष जवाहरलाल नेहरूलाई दिइन्छ । नेहरू भारतीय लोकतन्त्र र उदारताका पर्याय हुन् । यसैले सर्वसत्तावादी मनोकांक्षाका मतियारहरूले नेहरूलाई दोष दिन्छन् ।
न्यु योर्क टाइम्सको जुन २० को अनलाइन संस्करणमा प्रकाशित एउटा लेखको शीर्षक छ - तिम्रो मस्तिष्कले तिमीलाई सबै झन् खराब भयो भन्ने ठान्न लगाएको छ । लेखका अनुसार सम्भवतः अतीतको ‘स्वर्णयुग’ फर्काउने वाचा जस्तो सबैलाई छुनसक्ने कुनै राजनीतिक नारा अर्को छैन । सिजर अगस्टसदेखि युरोपेली पुनर्जागरणकालका मेडिसिसहरू, एडल्फ हिटलर, चीनका राष्ट्रपति सी जिनपिङ वा फिलिपिन्सका राष्ट्रपति बोङबोङ मार्कोस, डोनाल्ड ट्रम्पको ‘अमरिकालाई फेरि महान् बनाउने’ वा राष्ट्रपति जो बाइडेनको ‘अमेरिका फेरि उदायो’ जस्ता सबै नाराबाट राजनीतिक नेताहरूले शक्ति हत्याएका हुन् । यी सबै राजनीतिक मिथकमा एउटा गज्जबको समानता छ - स्वर्णयुग (पहिले थियो) अहिले छैन । हामी देवताबाट राक्षसमा बदलिन थालेको युगौं भयो होला तर छिमेकीका टाउकामा उम्रेका सिङ भने बल्ल देख्दै छौँ । लेखकका अनुसार मानिसको मस्तिष्कमा जन्मजात एक प्रकारको ‘कीरा’ हुन्छ र त्यसैले उनीहरूलाई कहिल्यै नभएको महान स्वर्णयुगप्रति मोहित बनाउँछ ।
लेखक एडम एम मास्ट्रोएनीले आफू र हार्वर्डका मनोवैज्ञानिक डेनियल गिल्बर्डको ‘नेचर’ पत्रिकामा प्रकाशित अनुसन्धानलाई उद्धृत गर्दै लेखेका छन् - पहिलेका अनुसन्धाताले नै वर्तमानमा सबै खत्तममात्र भएको देख्ने कारणको सैद्धान्तिक पक्ष उजागर गरेका छिए तर हामीले विश्वव्यापी परीक्षण गरेर यस्तो धारणा कसरी जन्मन्छ भन्ने विषयको ‘सत्यापन’ र व्याख्या गर्ने प्रयास गरेका छौँ । कुल ५ लाख ७४ हजार व्यक्तिबाट २३५ वटा सर्वेक्षण गरेर सङ्कलन गरिएको उत्तरमा उत्तरदाताको धेरै ठूलो सङ्ख्याले मानिसहरूमा अहिले दया, इमान, नैतिकता पहिलेभन्दा घटेको विश्वास गर्ने पाइयो । उत्तरदातासँग सन् १९४९ देखि सोध्न थालिएको र ५९ मुलुकमा सर्वेक्षण गरिएको रहेछ । सबैतिरका सबैजसो राजनीतिक, धार्मिक आस्था भएकाहरूमा सुनौलो युग बितिसकेको धारणा सर्वेक्षण पाइयो । सबै नै मानिसका असल गुणहरू घट्दै गएको ठान्दा रहेछन् ।
मानिसहरूको यो संसारबाट असल गुणहरू ह्रास भएको धारणा गलत भएको पुष्टि हुने प्रमाण पनि अनुसन्धानमै फेला परेको छ । नैतिकताकाे विद्यमान अवस्थाका सम्बन्धमा १ करोड २० लाख उत्तरदातासँग गरिएको १४० वटा सर्वेक्षणमा अघिल्लो वर्षभन्दा खासै फरक उत्तर आएन । अनि नैतिकताको अवस्थामा सन् २००२ र २०२० मा कति फरक अङ्कमा बताउन भन्दा खासै फरक नतिजा आएन । तर, सबैले बर्सेनी नैतिकतामा ह्रास आइरहेको भन्न पनि छाडेनन् ।
अरू कतिपय अनुसन्धानमा नैतिक अवस्थामा सुधार भएको पनि देखिएको छ । समाजशास्त्रीहरूले गरेको अध्ययनमा हालै मानवीय सहयोगको अवस्था विगत ६१ वर्षमा ८ प्रतिशतले बढेको पाइएको छ ।
संसार खत्तम भएको भ्रम सिर्जना गर्न दुइवटा मनोवैज्ञानिक कारण जिम्मेवार हुनसक्ने लेखकको धारणा छ । पहिलो, पूर्वाग्रहपूर्ण दीक्षा । अरूका कुकार्य र दुःखजस्ता नकारात्मक सूचनामा मानिसहरूले धेरै ध्यान दिन्छन् । अर्को मानिसहरूलाई के लाग्छ भने नैतिकताको ह्रास उनीहरू जन्मेपछि मात्रै सुरु भएको हो ।
मानिसहरूलाई के पनि लाग्दो रहेछ भने नैतिक अवसान आफू र आफ्नो समूहबाहेक अरूको मात्र भएको छ । आफूलाई मन परेका मानिस त झनै असल भएको ठान्छन् । किनभने मन पर्ने मानिसका सम्बन्धमा राम्रा कुरामात्र सुनिन्छ ।
लेखमा सन् २०१५ को एउटा पिउ रिसर्च सेन्टरको मत सर्वेक्षण उद्धृत गर्दै लेखिएको छ -अमेरिकाका ७६ प्रतिशत मतदाता ‘मुलुकको नैतिक ह्रासको सम्बोधन’लाई सरकारले प्राथमिकता दिनुपर्ने ठान्दा रहेछन् । अनि उनीहरू नै त्यस्तो ‘नैतिक ह्रास’ नभएको पनि भन्छन् । विडम्बना, नैतिक ह्रास भएकोमा विश्वास गर्नेहरू त छन् ।
लेखक भन्छन् - भ्रममा विश्वास गर्दासम्म तानाशाहहरूको ‘स्वर्णयुग’ फर्काउने वाचाले भ्रमको भासमा गाडिरहन्छ । किनभने हाम्रो कल्पनामा त कहिल्यै नभएको ‘स्वर्णयुग’ बाँची रहेकै छ ।
पञ्चायत र अझ राणाकाललाई स्वर्णयुग ठान्नेको सङ्ख्या हेर्दा अचम्म लाग्थ्यो । नेपाली किन यति बुद्धु भए भनेर चिन्ता लाग्थ्यो । यो लेखले अतीत मोहको मनोरोग त संसार भर रहेको देखाएको छ । यस्तो मनोरोगको उपचार के होला ?
र अन्त्यमा
बंगलादेशले हालै २ अर्ब डलर खर्च गरेर कोइलाबाट चल्ने संसारकै सबैभन्दा नयाँ विद्युत् गृह बनाएछ । सन् २०२२ को डिसेम्बरदेखि सञ्चालन गर्न थालिएको यो विद्युत् गृह कोइलाको अभावमा अहिले नै कैयौं साता बन्द हुने गरेको छ । एकातिर कोइला महँगो र दुर्लभ हुँदै गएको छ भने अर्कातिर स्वच्छ ऊर्जाको उत्पादन सस्तो र सजिलो पनि भइरहेको छ । यसैले बंगलादेशको त्यो विद्युत् गृह विकासको गलत र आत्मघाती दृष्टान्त हो ।
नेपालले पोखरा र लुम्बिनीमा बनाएकाे अन्तर्राष्ट्रिय विमानस्थलको नियति पनि यसभन्दा धेरै फरक देखिन्न । एकाध दशकमा कुनै दिन सम्पन्न भएछ नै भने काठमाडौं जोड्ने ‘द्रूत मार्ग’को नियति पनि त्यस्तै हुने हो कि ? यति जान्दाजान्दै पनि निजगढमा विमानस्थल बनाउन मरिहत्ते गर्नेहरूको नियत खोटो हो कि देशको नियति ?