site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्य र मोहनका संगम 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

गएको जेठ अन्तिम साता सम्पन्न ‘शब्दबिम्बमा सत्यमोहन’ पुस्तक विमोचन समारोहमा सहभागी हुने मौका मिल्यो । मजस्तो साहित्यिक, सांस्कृतिक र पत्रकारिता फाँटभन्दा बाहिरको व्यक्ति त्यहाँ एक्लो पर्नु स्वाभाविक थियो । किन्तु, त्यो एक्लोपन मेरा लागि फलदायी नै रह्यो । अरूहरू आपसमा गफिन र आ–आफ्ना अभिमत राख्नमा निमग्न थिए । मचाहिँ उनीहरूका कुरा सुन्न र वातावरणको अवलोकन गर्नमै आनन्द मानिरहेको थिएँ ।

बडो तन्मय भएर किताबमाथि बोल्ने वक्ताहरूका कुरा सुनेँ । धेरैजना सत्यमोहनबारे धेरै बोल्न चाहन्थे । किन्तु, समयाभावले त्यो सम्भव भएन त्यहाँ । करिब दुई घण्टा चलेको कार्यक्रममा सुनेका कुरा, उल्लिखित पुस्तक पढेर थाहा पाएका कुरा र मेरो स्मृतिपटमा रहेको अभिज्ञानलाई समेत समेटेर यो आलेख पस्कने जमर्को गरेको छु ।

मनुष्य जन्मन्छ, आफ्नो भागको कर्मको सम्पादन गर्छ र आयु सकिएपछि मृत्युमा प्राप्त हुन्छ । महात्मा बुद्ध भन्छन्, ‘जन्म दुःख हो, जरा दुःख हो, रोग दुःख हो र मृत्यु पनि दुःख हो ।’

KFC Island Ad
Dabur Nepal
NIC Asia

वेदान्त र बौद्ध दुवै दर्शनले दुःखबाट छुटकाराको उपाय जन्म र मरणको आवतजावतबाट मुक्ति या मोक्षलाई नै मान्दछन् । परन्तु, सत्यमोहन आममानिसजस्ता थिएनन् ।

उनी जीवनमुक्त अर्थात् जीवित अवस्थामा नै आत्मज्ञान प्राप्त गरेर सांसारिक मायाजालबाट मुक्त भएसमानका मानिस थिए । संसारमै थिए र सतत् रूपमा सांसारिक कर्मको सम्पादन गरिरहेका थिए । परन्तु, उनी अनासक्त र विरक्त थिए ।

Royal Enfield Island Ad

सारा कर्म गर्दै जाने, संसारका विषय र वस्तुको प्रयोग गर्ने, किन्तु लिप्त नहुने । उनी भन्ने गर्दथे, ‘मृत्यु त हामी साथमै बोकेर हिँडिरहेका हुन्छौँ, किन डराउने ? सापेक्षवाद हो सबै, अस्तित्व केहीको पनि छैन । मृत्यु जहिल्यै तिमीसँगै छ । चिन्तन–मनन गर्नू, चिन्ता नगर्नू ।’

सत्यमोहनको जीवनीलाई नियालेर हेर्दा लाग्दछ, उनी ईशोपनिषद्को महावाक्य ‘ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् । तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम्’बाट प्रभावित थिए ।

सत्यमोहनले जीवनका चारै दुःखलाई चुनौती दिए । स्वस्थ रहनुको रहस्यबारे पत्रकारको प्रश्नमा उनले परिहास गर्दै भनेका थिए, ‘आमाको दूध बेस्सरी चुसेर । चिन्ता लिन्नँ ।’ 

बरु, भरी जवानीमा सरकारी कामको सिलसिलामा तनहुँमा रहेका बखत उनी सिकिस्त भएका थिए । उनी बस्ने गरेको डेराका घरधनीले अन्तिम अवस्था आएको ठानेर महामृत्युञ्जय मन्त्र सुनाउने व्यवस्था मिलाएका थिए ।

कालको मुखमा पुगिसकेका उनी बौरेर थप ७८ वर्ष बाँचे । बुढेसकालले उनलाई छुन सकेन । प्राचीन समयका ऋषिमुनिले परमात्मासँग आरोग्य र शतायु माग्दथे । सत्यमोहनले नमागीकनै त्यो सबै पाए ।

तनहुँको जरोबाट उम्केपछि मानौँ उनलाई रोग र कालले बिर्स्यो । यसलाई अर्को तरिकाले भन्दा विधाताले उनलाई जिम्मेवारी पूरा गर्न सकोस् भनेर स्वस्थ शरीर, मन र आयु प्रदान गर्यो ।

सत्यमोहनले जीवनमा अवसर पनि धेरै पाए । भाग्य सधैँ अनुकूल र दाहिना हुने, मौका मिलिरहने । फ्याट्टफ्याट्ट बिनादौडधुप काम मिल्ने र पाएको कामलाई अत्यन्त जाँगर र इमानका साथ पार पनि लगाउन सक्ने ।

विश्लेषक सीके लालले सत्यमोहनको ‘सत्तासँग अनुरूपताको निरन्तरता’ सम्बन्धमा चाखलाग्दो वर्णन गरेका छन् । ‘प्रवाहमा बगेको जीवन’ शीर्षकको रचनामा उनी लेख्छन्, ‘जन्म, कर्म र देहावसानको चक्रलाई बुझेका व्यक्तिका लागि जीवनको एउटा खास मुकामपछि मृत्यु प्रतीक्षाको घडी हुने गर्दछ । किनभने, कालले मात्र मुक्तिको द्वार खोल्न सक्दछ ।’

पुस्तकका सम्पादक गोपीकृष्ण ढुंगाना आफ्नो सम्पादकीय ‘समयले बनायो सत्यमोहन, सत्यमोहनले बनाए समय’मा लेख्छन्, ‘सादा जीवन, सकारात्मक सोच, सक्रिय जीवन अर्थात् सत्यमोहन । सत्यम्, शिवम्, सुन्दरम् अर्थात् शिवजस्तै सुन्दर अनि सत्य पनि ।’ उनी लेख्छन्, ‘जसरी बग्छ पानी, त्यसरी नै बगे सत्यमोहन ।’

सम्पादक ढुंगानाले सत्यमोहनको जीवनदर्शनलाई सुन्दर मालामा उनिदिएका छन् । अनेकौँ लेख, सम्पादकीय, समाचार, अन्तर्वार्ता र तस्बिरहरूले सुसज्जित छ, कृति । यसको अध्ययनले युवालाई कर्ममार्गमा सरिक हुन र पाकाहरूलाई सम्यक जीवन जिउनमा प्रेरणा दिनेछ । अनुसन्धातालाई यसले विशेष सहयोग पर्याउँछ ।

सत्यमोहन कर्मशील थिए । सत्य र मोहनका अनुपम संगम । सत्य अर्थात् जस्तो हुनुपर्ने हो त्यस्तै या सन्देहरहित । सत्य अर्थात् पत्याउन र विश्वास गर्न योग्य एवम् इमानदार । उनको जीवन जस्तो हुनुपर्छ त्यस्तै हुने एक प्रक्रिया थियो । एक अविरल, अविचल र सतत प्रवाह ।

जीवनलाई निरन्तर सन्मार्गमा प्रवृत्त गराउने अटल धैर्य । जीवनयात्राका हरेक बिसौनीमा सफलता । सबै कामहरू कालजयी र अविस्मरणीय । मोहन अर्थात् अरू कसैलाई मोहित पार्ने शक्ति । मोहन अर्थात् अन्य कसैलाई आनन्दी बनाउने क्षमता । मोहन अर्थात् मनोहर र सुन्दर व्यक्तित्व । उनी सहज, सरल र सादगीपूर्ण व्यक्तित्वका धनी थिए । मोटरैमोटरको सहरमा एउटा वरिष्ठ पैदलयात्री थिए उनी ।

परिस्थितिसँग उनी अनुकूलन क्षमताका पुञ्ज थिए । अरूलाई नयाँनयाँ परिस्थितिमा अनुकूलन कायम गर्न छेपाराले झैँ रङ फेर्नुपर्थ्यो । किन्तु, प्रवाहमा बहने सत्यमोहनलाई कुनै झन्झट भएन । उनी सधैँ एउटै पहिरन र एउटै पहिचानमा अटल रहे । उनको जीवनरूपी सतत प्रवाहलाई सबैले सम्मान पनि गरे । उनी आफ्ना असहमतिहरूलाई ओकल्दै हिँडेनन् । यसको अर्थ उनमा विद्रोह चेत थिएन भन्ने होइन ।

जोशीको व्यक्तित्व निरन्तर प्रवाहको मिसाल हो । उनी संस्कृतिविद् मात्र नभएर एक सफल प्रशासक पनि थिए । उनले सर्वदा विद्यमान सरकारको नीतिअनुरूप काम गर्दै गए र आफ्नो ब्रह्मले देखेको सल्लाह दिए । सायद उनीभित्रको प्रशासकले विभिन्न युगयुगान्तरमा विद्यमान सरकारहरूको नीतिको आलोचना गर्नबाट रोकिरह्यो ।

मनुष्यका लागि सबैभन्दा ठूलो चुनौती स्वस्थ जीवन जिउनु नै हो । कतिपय दीर्घजीवीहरू आफ्नो अनुकूल स्वास्थ्य र चिरायुको श्रेय शाकाहारी भोजन, समयपालन र प्रभातफेरी आदिलाई दिन्छन् ।

शताब्दी पुरुष भने न नियमित मर्निङ वाक न नियमित फलफूल सेवन र न त योग र व्यायाम । पत्नी राधादेवीका अनुसार उनी दिन बिराएर खसीको मासु खाने गर्थे । सुत्ने बेला थोरै ‘ऐला’ पिउँथे । एकपटक उनले अन्नपूर्ण पोस्टसँग भनेका थिए, ‘रक्सी त ऋषिमुनिले पनि खान्थे, मात्रा मिलायो भने औषधि बन्छ ।’

त्यसो भए त्यो सुदीर्घ जीवनको रहस्य के हो त ? उनको भनाइ थियो, ‘म जुरेली चरीको आदर्शलाई आत्मसात् गर्दै आत्मसन्तुष्टिमा रमाउँछु ।’

उनको जुरेली दर्शन अद्भुत छ । उनी भन्ने गर्दथे, ‘खासगरी जुरेलीकै जीवनदर्शनमा आधारित भएर जुरेलीजस्तै जीवन जिउन चाहन्छु । सिम्पल लिभिङ हाई थिङकिङ । जुरेलीलाई झैँ मलाई पनि न भोलिको चिन्ता छ न अहिलेकै ।’

जोशीले म को हुँ, किन आएँ, कसले पठायो र जीवनको प्रयोजन के हो ? जस्ता कुरालाई मनन गरिरहे । परन्तु, यी कुराको दार्शनिक उल्झनमा पर्न चाहेनन् । उनको जीवनदर्शन नै ‘निरन्तर कर्मशीलता’ थियो । कर्म गर्दै गए, जो मिलेको फल चाख्दै गए । कसैसँग कुनै गुनासो थिएन, ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।’
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro