हिजो मसँग किचोला गरेर गएको स्टेशनाचार्य आज पनि एक घण्टाभन्दा केही ढिलो आयो र रजिष्टरमा क्यास गन्न थाल्यो । मैले सदाझैँ केही बोलिनँ । जब उसले बीस डलर कमी छ भन्यो, मैले प्रतिकारमा “कसरी कमी छ ? त्यहाँ तीन डलर बढी छ । मैले सबै हिसाब मिलाएर राखेको छु । खाली तिमीलाई मात्र पर्खेको हो” भनेँ ।
त्यसपछि ऊ डलर फ्याँक्तै, “ल कसरी तीन डलर बढी छ, हेरौँ त ?” भनेर फनफनायो ।
मैले उसले रजिष्टरभित्र लुकाएको बीस डलर निकाल्दै भनेँ, “एऽ यो तिमीले देखेनौ होला ! अब गनेर हेर त ?”
ऊ केही बोलेन । म झोला टिपेर आफ्नोे वासस्थानतिर लागेँ । त्यसपछिका तीन–चार दिनजति ऊ मसित राम्ररी बोलेन तथापि मैले आफूमा कुनै परिवर्तन देखाइनँ र बोल्ने क्रम यथावत राख्ने प्रयत्न गरेँ ।
शनिवार बिहान मलार्र्ई पालो दिने बेलामा स्टेशनाचार्य, विकाश र रायन सँगसँगै आए । मैले सोच्दै थिएँ, ‘आज शनिबार केटाहरू छिट्टै उठेछन् । त्यसैले कफी र डोनट खान सबै एकैसाथ आएका होलान् ।’
मेरो सोचविपरीत स्टेशनाचार्यको आँखा छलेर विकाशले जब मेरा नजिकै आएर “यसको छेउमा नपर्नुहोला अङ्कल ! यो बौलाएको छ आज” भन्यो । म खङ्ग्रङ्ग भएँ र भनेँ, “किन ?” उसले “भरे भनौँला” भनेर कुरा टुङ्ग्यायो ।
म सदाझैँ रजिष्टर बन्द गर्न थालेँ । विकाश अगाडि आयो र “आज ग्यास स्टेशनाचार्यले काम गर्दैन, न्युयोर्कमा उसको काम छ अरे ! म बस्छु” भन्यो र रजिष्टर अगाडि उभियो । म कफी हातमा लिएर बाहिर निस्किएँ र रायनसँग गफ गर्न लागेँ ।
हामी दुईबीचमा सौहाद्र्रपूर्ण कुराकानी भइरहेको बेला एक्कासि हातमा कफी लिएर स्टेशनाचार्य बाहिर आयो र मलार्र्ई धम्क्याउँदै “मेरो पोल माइकललाई लगाएर के मेरो जागिर खान खोजेको ?” भन्दै तथानाम गाली गर्न थाल्यो ।
उसले तथानाम गाली गरेपछि मलाई पनि रिस त उठेकै हो तर म शान्त भएँ, किनकि दुवै उग्र भएर यस्तो फुच्चासित हात हालाहालको स्थिति आउनु भनेको मेरै कमजोरी हो भन्ने मनमा सोचेँ र भनेँ, “भाइ ! तिमी किन कस्सिरहेका छौ ? तिम्रो के कुरा लाउनुपर्छ मैले ? यो स्टेशनमा पाइने ग्यास, बियर, दूध, चाउचाउ, पेस्टलगायतका सबै सामानहरू एक डलर पनि नतिरी तिमीहरू लाने गर्दछौ भन्ने कुरा अहिले होइन, तिमीहरूले काम गर्न थालेदेखि नै थाहा छ माइकललाई, तथापि तिमी काम जान्दछौ त्यसैले ऊ चुप छ ।”
मैले यसो भनेपछि उसले भन्यो, “के आफू सरीफ भएर हामीलाई चोर भन्न खोजेको तैँले ?”
“यहाँँ चोर र सरीफको कुरा कहाँबाट आयो ? मैले काम गरेका दिनदेखि नै यहाँँबाट यो स्टोरमा आउने थोक मूल्य तिरेर सामान लगिरहेको छु । गत वर्ष सेवो त्यसै गर्दथ्यो । आज फराज त्यसै गरिरहेको छ । तिमीहरू सुको नतिरी निर्बाध रूपमा लगिरहेका छौ । त्यसको विरोध पनि कसैले गरेको छैन । तिमीलाई कसैले चोर भनेको छैन । छ भने केवल तिम्रो मन आफैँले भनिरहेको छ ।”
मैले यसो भन्नासाथ ऊ आवेशमा आयो र हातमा भएको कपभरिको कफी मलार्र्ई हानेजस्तो गरेर मेरा अनुहारको छेवैबाट पछाडिको भित्तामा हुत्यायो । कफी भित्ताभरि छताछुल्ल भयो । उसले कफी हुत्याउनेबित्तिकै मैले अनुमान गरेँ, ‘यो तातो कफी मेरा मुखमा फ्याँक्न चाहन्थ्यो तर अन्त्यमा हिम्मत गरेन र पछाडि फ्याँकेर आफ्नोे रिस शान्त पारिरहेको छ ।’
उसको यो उदण्डतामा म केही डराएँ तथापि बोल्न छाडिनँ र भनेँ, “यहाँँ तिमी म भन्ने केही कुरा नै होइन । यो माइकलको ग्यास स्टेशन हो । उसले जसलाई राख्छ उही बस्ने हो । उसले यहाँँबाट निस्की भनेको एक मिनेटपछाडि तिम्रो, मेरो कसैको यहाँँ बस्ने आधार हुँदैन ।”
मैले जति सम्झाउन खोजे पनि ऊ सम्झिनु वा कुरा गर्नुको साटो झन्झन् उग्र हुँदै गयो र मलार्र्ई गाली गर्नमै शक्ति खर्चिरह्यो । उसले गाली गर्दागर्दा केही बोल्न नपाएर अन्त्यमा “यो सब तेरा किताबमा लेख्छस् होला ! लेख् । तैँले लेखेर केही नापिँदैन” सम्म भन्न भ्यायो ।
उसले यसो भनेपछि भित्रभित्रै मलार्र्ई हाँसो पनि उठ्यो । केही डराउँदै पनि रहेछ जस्तो लाग्यो तर मैले केही प्रतिक्रिया दिइनँ । यसै बेला मेरा छेवैमा अघिदेखि उभिरहेको रायनले विकासलाई बोलायो र “स्टेशनाचार्यलाई न्युयोर्क जान ढिलो भयो भनेर बरू गाडीमा लगेर राखिदेऊ र पठाइदेऊ अन्यथा यसले भाँडभैलो गर्यो भने सबैलाई तनाव मात्र हुन्छ” भन्यो ।
रायनको सल्लाहअनुसार विकासले पनि “न्युयोर्क जान ढिलो भयो” भन्दै उसलाई तान्दै लग्यो र गाडी चढायो । गाडीमा बसेर पनि उसले एकछिन विकाससँग कस्सिए झैँ गरेर मलार्र्ई परोक्ष धम्क्याउन खोज्यो र अन्ततः कराउँदै न्युयोर्कतर्फ हुइँकियो ।
मलार्र्ई यसरी उसले जथाभावी भनेको र कफी फ्याँकेर तर्साउन खोजेकोमा मनमा एक प्रकारको पीडा भयो । साँच्चै भन्ने हो भने एकछिन त म यो अप्रत्यासित घटनाले किंकर्तव्यविमूढ नै भएँ । केही बेर रन्थनिएँ । त्यसपछि फेरि एक कप कफी लिएर रायन विकासको आशय बुझ्ने विचार गरेँ ।
जब म कफी लिन अगाडि बढेँ, सोचेँ, ‘मैले यिनीहरूका अगाडि यति अपमानित भएर किन बस्ने ?’ तसर्थ मैले उनीहरूले सुन्ने गरी माइकललाई फोन गरँे र भनेँ, “सर ! म भोलिदेखि काममा आउन चाहन्नँ । तपाईं कतिखेर ग्यास स्टेशन आउने हो, आएपछि मलार्र्ई बिदा दिनुहोला ।”
मेरो यो भनाइ सुन्नेबित्तिकै अचम्मित भए झैँ गरेर माइकलले भन्यो, “किन, के भयो ?”
“यहाँँ स्टेशनाचार्यको रापले पोलेर बस्न सक्ने अवस्था भएन” मैले यसो भनेपछि उसले हाँस्तै “शायरी होइन, के भयो त्यो भन्नुहोस् न” भन्यो ।
मैले भनेँ, “सर ! फोनबाट भनेर सकिदैँन । सर आएपछि रायन र विकास दुवै यहीँ छन् सरलाई सबै जानकारी हुनेछ ।”
उसले भन्यो, “ल म आइहालेँ, तपाईं बस्नुहोस् ।”
मैले “हुन्छ” भनेँ र फोन राखेँ ।
मैले फोन राखिसक्नेबित्तिकै तुरून्त फेरि फोन गरेर मलार्र्ई सोध्यो, “तपाईं अघिदेखि त्यहीँ हुनुहुन्छ ? खाना खान जानुभएको छैन ?”
मैले भनेँ, “जाने अवस्था नै भएन ।”
“तपाईं रातभर बसेको मान्छे, म आउन्जेलसम्ममा तपाईं पनि खाना खाएर आउनुहोस् किनकि भरे आउन तपाईंलाई समस्या पर्छ ।” यति भनेर उसले फोन सम्पर्कविच्छेद गर्यो ।
मैले सोचेँ, ‘तँलाई खालि रातिको मात्र चिन्ता छ !’
मैले उनीहरूको सोचविपरीत यसरी माइकललाई अप्रत्यासित फोन गरेकोमा दुवैजना स्तब्ध भए र भने, “अङ्कलजी ! यो हामी नेपाली दाजुभाइ, काका–भतिजाभित्रको आपसी कुरा थियो । तपाईंले हामीसित सल्लाह नै नगरी माइकलसम्म पुर्याउनुभयो ।”
उनीहरूको यो भनाइमा मैले एकछिन केही प्रतिक्रिया दिइनँ, उनीहरूको मलिन मुहारतिर मात्र हेरिरहेँ ।
म नबोलेकोमा उनीहरूको मनोबल बढेछ क्यार ! फेरि त्यही कुरा दोहोर्याए । त्यसपछि मैले भनेँ, “भाइहरू ! नीतिशास्त्रले के भन्छ, तिमीहरूलाई थाहा छ ?” दुवैजना बोलेनन् । त्यसपछि “छैन भने ल सुन” भन्दै मैले भनेँ–
वरं शून्या शाला न च खलु वरोे दुष्टवृषभो,
वरं वेश्या पत्नी न पुनरविनीता कुलवधूः ।
वरं वासोऽरण्ये न पुनरविवेकाधिपपुरे,
वरं प्राणत्यागो न पुनरथमानामुपगम ।। नीति श्लोक ।
अर्थात् गोठमा दुष्ट अथवा हान्ने गोरू हुनुभन्दा गोठ शून्य (खाली) भए बरू राम्रो हुन्छ । व्यभिचारिणी कुलबधुभन्दा बरू वेश्या स्त्री उत्तम हुन्छे । अविवेकी राजाको नगरमा बस्नुभन्दा जंगलको बास राम्रो हुन्छ । दुष्टको संसर्ग वा संगतमा बस्नुभन्दा बरू प्राण त्याग्न असल हुन्छ, भनिएको छ ।
तिमीहरू आफैँ भन, स्टेशनाचार्यलाई मैले के त्यस्तो आहत हुने काम गरेको छु ? जसले गर्दा उसले मलाई ताकेर तातो कफी फाल्नुपर्यो ।”
मेरो अलिकति आवेशपूर्ण कुरा सुनेर रायनले भन्यो, “केही कारण छैन, सिवाय उसको मूर्खता, तथापि हामी आपसमै बसेर यो कुरा सल्टाउनुपर्थ्यो ।”
रायनका कुराले मलार्र्ई कता–कता रिस उठेछ क्यारे ! त्यसैले “दुधको साक्षी बिरालो बन्ने प्रयत्न नगर भाइहरू !” भन्ने आवेशपूर्ण भनाइ फुत्कियो मेरो मुखबाट । मेरो मुखबाट यो वाक्य फुत्कनेबित्तिकै मैले झट्ट सम्झिएँ श्रीकृष्णको यो भनाइ–
“क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।।” (श्रीमद्भागवतगीता २।६३) ।
अर्थात् क्रोधले अत्यन्त मूढभाव उत्पन्न हुन्छ । मूढभावबाट स्मृतिमा भ्रम उत्पन्न हुन्छ । स्मृतिमा भ्रम उत्पन्न भएपछि बुद्धि वा ज्ञानको नाश हुन्छ । बुद्धि नाश भएपछि मानिस आफ्नोे अवस्थाबाट पतन हुन्छ भन्ने गीतामा उद्धृत श्रीकृष्णको यो उपदेश थाहा हुँदाहुँदै पनि रायनलाई प्याच्च भनेकोमा एकछिन पछुताएँ र आत्माआलोचना गरेँ ।
मैले यति भनेपछि विकासले भन्न थाल्यो, “हामी त्यसलाई भरे सम्झाउने थियौँ । घरमा पनि सम्झाएकै थियौँ तर यहाँँ फेरि बौलायो । हामी सबैलाई थाहा भएकै कुरा हो, यसलाई यदाकदा औँशी–पूर्णे लाग्ने गर्दछ । यो तपाईं हामीसित मात्र होइन भाइ, श्रीमतीसित पनि यस्तै गर्दछ र परेशान पार्दछ सबैलाई । यो आज आफ्नै घरेलु कारणले बौलाएको हो, तर कुरा तपाईं र फराजमा आएर अन्त्य भएको हुनाले यो यहाँँ तपाईंसित झगडा गर्न तम्सेर आयो ।”
विकासले यो झगडा तपाईं र फराजमा आएर गाँसिन्छ भनेपछि म अचम्म परेँ र सोधेँ, “उसको घरेलु झगडामा फराज र मेरो के र कसरी सरोकार भयो ?”
“सायद तपाईं यहाँँ नआउनुभएको भए फराजलाई एक्लै पारेर यहाँँबाट भगाउन सकिने थियो भन्ने सोच छ उसको ।”
यो कुरा सुनेर स्तब्ध हुँदै भनेँ, “मैले यहाँँ काम गरिनँ भने के ग्यास स्टेशनाचार्यलाई सर्वेसर्वा बनाउला त माइकलले ? के तिमीहरू यो कुरामा विश्वस्त छौ ? यदि त्यस्तो हुन्छ भन्ने कुरामा भाइहरू विश्वस्त छौ भने म क्षणभर पनि यहाँँ बस्तिनँ किनकि मैले गर्दा स्टेशनाचार्यको सान–मानमा र खुशीयालीमा आँच आउँछ भने यहाँँसम्म आएर म यो कलङ्क बोक्तिनँ ।”
मैले यति भन्नासाथ विकासले भन्यो, “होइन अङ्कलजी ! हामीलाई थाहा छ तपाईं नआउँदा पनि माइकलले स्टेशनाचार्यको भाइलाई काम नदिएर सरिकलाई खोजेर ल्याएको हो, तर ऊ यो कुरा महसुस गर्दैन । फेरि तपाईं त्यसै आउनुभएको पनि होइन, उसले यो कुरा बुझ्नुपर्ने हो । उसले नबोलाउने भन्दाभन्दै माइकलले तपाईंलाई बोलाएको हो । यो कुरा सबैले बुझेका छन् तर ऊ बुझ्दैन । आज पनि हामीलाई त कतिसम्म डर थियो भने यसले यहाँँ जे पनि गर्न सक्छ तसर्थ रायन र म दुवै सल्लाह गरेर सँगसँगै आएका हौँ ।”
उनीहरूका कुरा सुनेपछि ‘अमेरिकासम्म आएर पनि एउटा असन्तुष्टि कमाइयो’ भनेर मन खिन्न भयो । मनमा धेरै कुरा खेले । कुरा खेल्दै गर्दा उब्जिएको यो सोच अन्त्यमा रायन र विकासलाई यसरी प्रकट गरेँ–
“एके सत्पुरूषाःपरार्थघटकाःस्वार्थं परित्यज्य ये,
सामान्यास्तु परार्थमुद्यमभृतःस्वार्थाविरोधेन ये ।
तेऽमी मानुषराक्षसाः परहितं स्वार्थाय निघ्नन्ति ये,
ये निघ्नन्ति निरर्थकं परहितं ते के न जानीमहे ।।
जसले स्वार्थ त्यागेर परोपकार गर्दछ, त्यो सत्पुरूष हो । जसले आफ्नोे स्वार्थको रक्षा गर्दै परोपकार गर्दछ, त्यो सामान्य मानिस हो । जुन आफ्नोे स्वार्थको लागि अर्काको हितलाई विघात गर्दछ, त्यस्तो मानिस मनुष्यभेषी राक्षस कहलिन्छ परन्तु जुन मानिस अकारण नै अर्काको हितलाई विघात गर्दछ, त्यस्तालाई के भन्ने ? के भनेर चिन्ने वा जान्ने ? म के भनेर ग्यास स्टेशनाचार्यलाई चिनौँ भाइहरू ?”
मेरा कुरा सुनेर उनीहरूले मुखामुखमात्रै गरेँ तर एक शब्द बोलेनन् । एकछिन पर्खिएर मैले नै विकासलाई भनेँ, “ल विकास ! मेरो केही गल्ती छ भने प्रस्ट भन, मैले के गर्नु पर्छ ? म माफीसम्म माग्न तत्पर छु । यो ठाउँ छोडेर जानसम्म तत्पर छु ।”
मेरो भनाइ सुनेर विकासले भन्यो, “अङ्कल ! यस्ता कुरा गरेर हामीलाई किन लज्जित बनाउनुहुन्छ ? तपाईंले अघि श्लोकमै प्रस्ट पार्नुभएको छ, यसलाई के भन्ने ? यो अकारण अर्कालाई विघात गर्नेलाई के भन्ने ? भनेर । आज घरमा पनि यसले रातभर भाँडभैलो मचाएको छ । दुई–चार दिन पहिले ओरेगनबाट यसको भाइ फर्केर आएदेखि यसको मुडअफ भएको छ । ओरेगन गएपछि भाइले अब आफैं कमाएर आफ्नो फिस बुझाउने छ र आफ्नो खर्चको जोगाड आफैं गर्ने छ भनेर यो विश्वस्त थियो तर भाइ अचानक फर्किएर आयो ।”
उसको यो भनाइ सुनेपछि मैले सोधेँ, “राम्रो काम त्यसमाथि ‘ओरेगन स्टेट युनिभर्सिटी’ जस्तो राम्रो युनिभर्सिटीमा गएको मान्छे किन फर्किएछ ? भाइ त राम्रो पढ्ने र कुरा पनि बुझ्ने मानिस नै हो ।”
मेरो यो सोधाइको उत्तरमा विकासले भन्यो, “खै, सबै उनीहरूबीचको आन्तरिक कुरा त अझै थाहा हुन सकेको छैन तर भाउजूले अस्ति नै कुराकुरामा ‘खै भाइ पनि ओरेगनबाट फर्किन्छु भन्दै हुनुहुन्छ, अब फेरि घरमा अशान्ति सुरू हुने भयो’ भन्दा मैले पनि तपाईंले अहिले सोधेको प्रश्न नै भाउजूलाई सोधेको थिएँ । त्यस बेलाको उहाँँको भनाइअनुसार भाइ सोझो मान्छे नेपालबाट आमा र दिदीले के–के भनेर उचालिदिनुहुन्छ, त्यहीअनुरुप यहाँँ हामीलाई थर्काएर बस्ने विचार गर्नुहुन्छ । सायद नेपालबाट ‘किन ओरेगन गएर दुःख गर्छस् ? दाजु–भाउजूले काम गरेर तँलाई पढाइहाल्छन्’ भन्छन्जस्तो लाग्छ हामीलाई । यहाँँ हँुदा पनि दाजुचैँ ग्यास स्टेशन अथवा सेभेन इलेभनमा नै भए पनि केही घण्टा काम गर् र आफ्नो फी जम्मा गर् भन्ने, तर भाइ काम गर्न नै नमान्ने ! त्यसैले यही विषयमा दाजुभाइबीच झगडा भइरहन्थ्यो । भाउजूको यो भनाइ र भाइ आएपछि आज यसले देखाएको उदण्डताको अवश्य तादम्यता छजस्तो लाग्छ मलार्र्ई ।”
विकासका यी सबै कुरा सुनेपछि मैले भनेँ, “विकास यो अरू केही होइन, यो महत्वाकाङ्क्षी केटो हो । उसले पढन सकेन, सँगै यही ग्यास स्टेशनमा काम गरेका साथीहरू मास्टर्स गरेर ग्रीनकार्ड होल्डर भइसके, उसको आधार रहेन । ग्रीनकार्डका लागि विवाह गर्यो । त्यो पनि घरबाट स्वीकार भएन भन्ने मैले सुनेको छु । यो कतिसम्म सत्य हो ? मेरोभन्दा अझ तिमीहरूलाई बढी थाहा होला, त्यसैले यो मानिस हीनताले पिल्सिएर मनपरी गरिरहेको छ ।
यसले कति त थाहा पनि नपाइ आवेशमा काम बिगार्छ अनि पछुताउन लाज मान्छ र समस्या पैदा हुन्छ । यदाकदा हामी यहाँ काम गरिरहेका बेला ती पुराना साथीलाई फोन गर्छ र ‘कति बचाएका छौ ? के छ खबर ?’ भन्छ । साथीले— ‘ग्रीनकार्ड बनेपछि त झन् डलर नबच्ने रहेछ, सोसियल सेकुरिटी, इन्सुरेन्स, ट्याक्स, गाडीको किस्ता, घरको किस्ता आदिले हैरान बनायो बरू तिमीहरूले कमाउँदै डलर थन्क्याउँदा रहेछौ’ भन्दा दङ्ग पर्छ र क्यालल्कुलेटरमा हिसाब गर्दै उनीहरूसित आफूलाई तुलना गर्छ । ‘म त तिमीहरूभन्दा धेरै बचाउने रहेछु’ भनेर खुशी व्यक्त गर्दछ । उसको आत्मरतिलाई खै के भन्ने ?”
मैले यसो भनेपछि विकासले भन्यो, “मसँग पनि कहिलेकाहीँ ग्रीनकार्ड नभएकोमा गुनासो गर्छ । फेरि भोलिपल्टै तँभन्दा मैले बढी पैसा जोगाउँछु भनेर उफ्रन्छ । स्टेशनाचार्य वास्तवमै तपाईंं हामीले सोचेजस्तै द्विविधायुक्त मनस्थितिमा बाँचेको छ । उसको यो अवस्थालाई उसका घरका अभिभावकहरूले बुझेका छैनन्जस्तो देखिन्छ भाउजूको कुराबाट ।
वास्तवमा नेपालमा बसेकाहरूले हामी सबैका यहाँँका हरेक क्रियाकलापमा चासो राख्छन् तर परिआएको बेलामा भने यहाँँको वास्तविकतालाई नजरअन्दाज गरिदिन्छन् । उनीहरूलाई यो कुरा कसले भनिदिने कि तिनीहरूको आडम्बरयुक्त सोचले यहाँँ हाम्रो गुजारा हुँदैन भनेर ।”
उसले यसो भनेर नेपालका आफन्तहरूप्रति गुनासो र आक्रोश एकै वाक्यमा पोख्यो । यति भनेर उसले थप कुरा भन्न खोज्दाखोज्दै रायनले गाडीबाट उत्रिएको माइकललाई देखाउँदै “माइकल आइपुग्यो” भनेपछि हामी तितरवितर भएर रङ्गमञ्चमा रङ्गकर्मीहरूले अभिनय गरेझैँ काममा व्यस्त भएको अभिनय गर्न थाल्यौँ ।
(केहीअघि प्रकाशित उपन्यास ‘अहोरात्र’भित्रको उपशीर्षक ‘दुई थोपा आँसु’को अंश)