
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले क्रिकेट खेलमैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । देशलाई पहिचान दिने क्षेत्रको विकासका लागि खेलमैदान बनाउने विषयमा खुलेर अघि बढ्न सक्नुपर्नेमा उनले जोड दिए ।
बुधबार प्रतिनिधिसभा बैठकमा उनले नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धी विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताए ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा ठूलो अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गी बच्चा जन्माउनका लागि नेपाल आउने सम्भावनातर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए ।
“क्रिकेट ग्राउन्ड त बनाइदेऊ । कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदै छौँ भन्छौँ ? एकैचोटि बनाइदिऊँ न । बजेट छुट्टयाइदिऊँ न तिनका लागि, जसले तिमीलाई पहिचान दिएको छ । त्यसकारण हामीले यो कुरालाई पनि बुझ्नुपर्छ । यसलाई हामीले पाठ्यक्रममा राखिदिऊँ,” उनले भने, “यिनीहरूको बारेमा विश्वविद्यालय बनाउनू । अझ माउन्टेन चढ्ने कुराका लागि विश्वविद्यालय बनाइदिऊँ त, कहाँ–कहाँका व्यक्तिहरू आउँछन् । लुम्बिनीमा गौतमबुद्धको ठाउँमा जानुस्, बच्चा जन्माउने ठूलो हस्पिटल बनाइदिनुस्, हजारौँ बेडको । संसारभरिका बुद्धमार्गीहरू सन्तान जन्माउन आउँछन् । के छैन नेपाल ? कहाँ छ हामो सोच, कहाँ छ हाम्रो दृष्टिकोण ? त्यसकारण हामी समयानुसार चल्न सकेनौँ कि ? समय बुझेनौँ कि ? मल बन्छ । त्यसको बारेमा सोच्न पर्दैन ।”