
काठमाडौं । नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेकी छन् ।
बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकको शून्य समयमा उनले रोपाइँ सुरु हुँदा पनि मलको व्यवस्था गर्ने विषयमा ध्यान नदिएको भन्दै सरकारको आलोचना गरिन् ।
सांसद महतोले विभिन्न रोगव्याधि फैलने अवस्था देखिएको भन्दै त्यसको नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइन् ।
“नयाँ शैक्षिकसत्र सुरु भयो, विद्यार्थीलाई पुस्तक छैन । किसानको रोपाइँ सुरु भयो, मल छैन । महँगीले ढाड सेक्यो, नागरिकलाई बाँच्ने आधार छैन । हत्या, हिंसाले त्रास बढाएको छ, न्याय पाउने आस छैन,” उनले भनिन्, “रोजगारीका लागि विदेश जानुपर्ने, राज्यले नसोच्ने । सरकार कहाँ छ ? सभामुख महोदय, यसमा ध्यान दिन म सरकारसँग माग गर्दछु ।”