site stats
बाह्रखरी :: Baahrakhari
कला
नेपाली राजनीतिको असली रूप चलचित्रमार्फत देखाउँदै रेखा

काठमाडौं । नायिका रेखा थापाले राजनीतिक विषयमा चलचित्र निर्माण गर्ने बताएकी छन् । भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर–३ बाट राप्रपाबाट निर्वाचनमा प्रतिस्पर्धा गरेकी रेखाले पूर्ण राजनीतिक विषयमा चलचित्र निर्माण गर्ने तयारी गरिरहेकी हुन् । 

“मलाई तत्कालै अहिले नै राजनीतिक विषयमा सिनेमा बनाएर जनतालाई देखाउँ भन्ने लागेको छ,” रेखा बाह्रखरीसँग भन्छिन्, “तर, स्क्रिप्ट चाहिने भएकाले केही समय लाग्न सक्छ । अहिले म सँग दुईवटा प्रोजेक्ट छन् । त्यसमध्ये एउटा राजनीतिक विषयको सिनेमा हो ।” 

नेपाली राजनीतिभित्रको विकृति र विसंगती सिनेमामार्फत देखाउने उनको तयारी छ । नेपाली राजनीति कसरी र कोबाट परिचालित हुन्छ उनको सिनेमामा देख्न पाइने रेखा बताउँछिन् । 

Argakhachi Cement Island Ad

“मेरो सिनेमा हेर्न दर्शक हलमा आउनु भएन भने म देशका प्रत्येक वडावडामा लगेर प्रोजेक्टरमा जनतालाई देखाउने छु,” रेखा भन्छिन्, “त्यो मेरो राजनीतिक विषय उठान गर्ने सिनेमाले नेपाली राजनीति बाहिर एउटा देखिने तर भित्र कसरी सञ्चालन भइरहेको हुन्छ भन्ने स्पष्ट देखाउनेछ ।” नेपाली राजनीतिको असली रुप जनतालाई देखाउन आवश्यक रहेको उनको भनाइ छ । 

यद्यपि, आफूले निर्वाचनको समयमा भएका केही गतिविधि नखिचेर गल्ती गरेको उनी बताउँछिन् । आफूसँग बार्गिनिङ गर्न आएको दृश्यहरू झल्काउने कथा सिनेमामा देखाउने उनको भनाइ छ । 

“नेपालको राजनीति कसरी चलिरहेको छ, जनता कसरी परिचालित भइरहेका छन् । नेता र जनताको बिचमा खाडल कहाँ छ ? ग्राउन्डको नाइकेले कसरी नेतालाई बेबकुफ बनाइरहेको छ र नेता कसरी प्रयोग भइरहेको हुन्छ,” रेखा अगाडि थप्छिन्, “देशमा विकास र रुपान्तरणका लागि को बाधक बनिरहेको छ । कसले कसका लागि काम गरिरहेको छ । बाहिर एउटा तर भित्र अर्कै खेल खेल्ने नेपाली राजनीतिको वास्तविकता देखाउन मन छ । म यो सिनेमामा देखाउँछु ।” 

मोरङकी स्थानीय रेखा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोरङ–३ बाट संघीय संसदका लागि प्रतिस्पर्धा गरेकी थिइन् । उनी राप्रपा केन्द्रीय सदस्य हुन् । रेखा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्य पनि हुन् ।

रेखा पछिल्लो समय विषयप्रधान सिनेमा बनाउँदै आइरहेकी छन् । आफैँ निर्माण र निर्देशनसमेत गर्दै आएकी उनी आउँदा दिनमा विषयप्रधान र कमर्सियल दुवै चलचित्र बनाउने बताउँछिन् ।

रेखाले चुनावमा देखेका यी विकृति

 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ०५:३७
प्रतिक्रिया दिनुहोस्