राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रेखा थापालाई गएको मंसिर ४ मा सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ बस्न आग्रह गरेको थियो । तर, हक्की र निडर स्वभावकी उनलाई त्यो प्रस्ताव नै चित्त बुझेन । रेखा पाँच वर्षअघिदेखि नै भनिरहेकी थिइन्– किस्तीमा सजाएर दिएको यो उपहार मलाई चाहिँदैन । सक्छु र नागरिकले विश्वास् गर्छन् त प्रत्यक्षबाट चुनाव लडेर संसद्मा पुगेर रूपान्तरणकारी भूमिका खेल्छु । नागरिकले विश्वास नगरे समय त छँदै छ । जनताको साथमा घरदैलोमै हुनेछु । यसको कारण पनि छ उनीसँग ।
कस्तो कारण ?
नागरिकको समस्या के छ ? थोरबहुत त उनलाई थाहा नभएको होइन । किनकि, उनी गाउँकै छोरी हुन् । झुरकियाले उनलाई हुर्काएको हो । तर, चुनावका बेला जनताले खुलेर आफ्ना समस्या राख्ने भएकाले नागरिककै बीचमा गएर स्थानीयका मागबारे थाहा पाउने हुटहुटी थियो । जनताका माग के छन्, के दिनुपर्नेछ, के परिमार्जन र रूपान्तरण गर्नुपर्ने रहेछ भन्ने नजिकबाट, जनताकै मुखबाट सुन्नु थियो । कहाँ कोसँग कसरी सेटिङ हुन्छ, कसरी कहाँ कतिसम्म बार्गेनिङ हुन्छ, थाहा पाउनु थियो । यो कुरा आफ्नै आँखाले देख्नु थियो । आफ्नै कानले सुन्नु थियो । रे ! का कुरा सुन्नुभन्दा पनि भुक्तभोगी हुनु थियो । त्यसैले संसद् छिर्ने समानुपातिकको सजिलो बाटो लत्याएर रेखा प्रत्यक्षतर्फ चुनाव लड्न चाहन्थिन् ।
त्यस्तो त उनलाई काठमाडौंबाटै चुनावमा उठ्न पार्टीले आग्रह गरेको थियो । तर, आफ्नै गाउँमा जान चाहिन् । रेखा आफ्नै क्षेत्र मोरङ–३ पुगिन्, जहाँ उनी जन्मिएको घर छ । हुर्केपढेको गाउँ छ । आफूले भोगेको जस्तै समस्या भोगिरहेका आमजनता छन् । त्यहीँ गएर चुनाव लड्नुपर्छ भन्ने उनको ब्रह्मले भन्यो । तिनै जनताको जीवनस्तर उकास्नुपर्छ भन्ने लाग्यो ।
“मलाई वर्षौँदेखि त्यहाँका केही कुराले छोइरहेको थियो । जस्तै, त्यहाँको सुकुम्वासी समस्या । जो हरेक चुनावमा उमेदवारको भोट बैंकको रूपमा प्रयोग भइरहेको थियो । त्यो कुरा मेरो मनमा वर्षौँदेखि गडिरहेको थियो । ऐलानी जग्गामा बसोबास, भूमिमा दोहोरो स्वामित्व मैले बच्चादेखि सुन्दै आएको समस्या हो,” रेखा भन्छिन्, “हरेक चुनावमा यसको समाधान गर्छु भनेर हरेक पार्टी र उमेदवारले भन्ने तर समाधान कहिल्यै कसैले नगर्ने किन ? यसको समाधान गर्न सकिँदैन ? म गर्छु भन्ने मेरो मनमा थियो । कहिलेसम्म जनतालाई मूर्ख बनाइरहने ? अब कम्तीमा मोरङ–३ को भए पनि समाधान गर्छु भनेर म आफ्नै गाउँठाउँमा चुनाव लड्न गएको हुँ ।”
गणतान्त्रिक शासन व्यवस्थामा पनि जनता नेताको भोट बैंक हुनुपर्ने ? यसले रेखालाई बेचैन बनाउँथ्यो । जसको कोही छैन, जो गरिब छ त्यसका लागि होइन र यो व्यस्था ? तर, उनीहरू नै यो व्यवस्थामा पनि प्रयोग हुनुपर्ने ? रेखा असन्तुष्ट थिइन् । यी र यस्ता कुराको अन्त्यका लागि काम गर्नु थियो । त्यसैले उनी जहाँ जनता जकडिरहेका छन्, त्यहीँ पुगिन् ।
बाँकी रह्यो शिक्षा र स्वास्थ्यको कुरा । ती स्थानीय र प्रदेश सरकारसँग समन्वय गरे पुग्ने थियो । कतिपय विषय संघ सरकारसँग पहल गरौँला भन्ने थियो । शिक्षाको क्षेत्रमा मधेस प्रदेशमा काम गरेकाले पनि रेखालाई केही अनुभव थियो । अनुभवले कहाँ कोसँग कसरी पहल गर्नुपर्छ भन्ने भलिभाँती जानकारी थियो । मात्र अवसरको खाँचो छ भन्ने निष्कर्षमा थिइन् ।
कानेपोखरी होस् वा पथ्रीका भित्री गाउँ । २६ वटै वडामा घुम्दा कृषक आफूसामु आएर आँखाभरि आँसु पारेर ‘दुई किलो मल पनि पाइँदैन’ भन्दा रेखाका आँखाबाट पनि आँसु झर्थ्यो । किसानका त झर्थ्यो नै । सरकारको यो कार्यशैली देखेर उदेक लाग्थ्यो । उनले यतिसम्म थाहा पाइन्, गाउँमा पुगेको मलमा पनि राजनीति हुनेरहेछ । कुन को पार्टीको मल वितरणमा हेरिनेरहेछ ।
“यो प्रवृत्तिको अन्त्य गर्छु भनेर म तयार भएर चुनावमा होमिएको थिएँ,” रेखा स्मरण गर्छिन्, “जितेपछि म पाँच वर्ष संसद् बैठकबाहेक हरेक दिन गाउँमा बसेर काम गर्छु, जनताको घरदैलोमा उभिएर समस्याको समाधान गर्ने प्रयत्न गर्छु भन्ने अठोट गरेको थिएँ ।”
सुकुम्वासी समस्या र ऐलानी जग्गाको समस्या सधैँका लागि निरूपण गर्ने उनको सोच थियो । सिंहदरबारमार्फत यो समस्याको समाधान गराउँछु भन्ने उनले प्रण गरेकी थिइन् । होइन, एक्लैको आवाज नसुने सुकुम्वासीलाई काठमाडौं ल्याएर सिंहदरबार घेराउ गरेर ‘आफ्नो अधिकार आफैँ थुतेर लेऊ’ भन्ने उनको सोच थियो ।
“योजनाबद्ध रूपमा यो काम गर्नुपर्छ भन्ने मेरो सोच थियो । मैले वाचा पनि गरेको थिएँ,” रेखा स्मरण गर्छिन्, “जग्गाको धनीपुर्जा नहुँदा न उनीहरू बैंकमा धितो राखेर कुनै व्यापार व्यवसाय नै गर्न पाउँछन्, न त विदेश जाने पैसा जुटाउन नै सक्छन् ।”
जनताले वडाध्यक्षलाई भन्छन्, वडाध्यक्षले प्रदेशलाई । प्रदेशले भन्छ/भन्दैन वा झुक्याउँछ, नागरिकलाई थाहा हुँदैन । कहाँ के भइरहेको छ भन्ने जनतालाई थाहै हुँदैन । जनप्रतिनिधि नागरिकको सेवक हो । पाँच वर्ष जनताको घरदैलोमा हुनुपर्छ भन्ने कुराको सुरुआत गर्नुपर्छ भन्ने उनको मान्यता थियो । यसमा रेखा तयार भएर मोरङ पुगेकी थिइन् ।
“जसरी म भोट माग्न जनताको घरमा पुगेँ, पाँच वर्षसम्म म त्यसैगरी जनताको घरमा पलपल पुग्नुपर्छ भन्ने मेरो सोच थियो,” उनी प्रतिबद्ध सुनिइन्, “म ट्रेन्ड परिवर्तन गर्न चाहन्थेँ, जसरी मैले नेपाली चलचित्रमा ट्रेन्ड चेन्ज गरेँ । राजनीतिमा पनि परिवर्तन गर्ने मेरो सोच थियो ।”
सक्छु भन्ने उनमा आत्मविश्वास पनि थियो । तर, रेखाको दुर्भाग्य भनौँ वा मोरङ क्षेत्र नम्बर–३ को, उनको सोच पूरा हुन सकेन । उनले ठट्टा गरेर स्थानीयलाई भन्ने पनि गरेकी थिइन्, “म पाँच वर्ष तपाईंहरूको नोकर हुन तयार छु । यति राम्रो नोकर कहाँ पाइन्छ ?” उनी सुनाउँछिन्, “खासमा नेता र कर्मचारी जनताका सेवक नै हुन् । हाम्रो व्यवहारले गलत भाष्य निर्माण गर्दै मालिक बनाएको मात्रै हो ।”
निर्वाचनमा के हुन्छ, थोरबहुत रेखालाई थाहा थियो । कति कुरा सुनेकी थिइन् । कति अनुमान । तर, निर्वाचनमा मैदानमा निस्कँदा उनले सोचेभन्दा पनि फरक देखिन् ।
जस्तै ?
पदीय जिम्मेवारी वहन गरेका व्यक्ति नै बिचौलिया भएको उनले देखिन् । “म फलानो पार्टीको मान्छे हुँ, तर फलानो उमेदवार भ्रष्टाचारी र माफिया भएकाले म उनीहरूलाई सहयोग गर्दिनँ, तिमी महिला र युवा हौ, तिमीले काम गर्न सक्छौ, तर मलाई केटाहरूलाई खाजा खुवाउन खाजा खर्च चाहिन्छ भन्ने सार्वजनिक पद धारण गरेका व्यक्ति भेटेँ,” रेखा नसोचेको व्यक्तिबाट आएको प्रस्ताव सुनाउँछिन्, “खाजा खर्च कति थाहा छ ? लाखौँ रुपैयाँ ।”
यस्तो बिचौलियाको बिगबिगी कसरी नियन्त्रण गर्ने ? रेखाको प्रश्न छ । जवाफ पनि उनैसँग छ– यो प्रवृत्ति जनताबाहेक कसैले रोक्न सक्तैन । जनताले ब्यालेट बक्समा प्रयोग गर्ने मतमा मात्र यसलाई रोक्न सक्ने तागत छ ।
“मासु र रक्सीमा जनता बिके भनेर नागरिकको बदनाम भइरहेको छ । तर, यथार्थमा त्यो पैसा जनताको हातमा पुग्दैन । एकाध टाठाबाठाहरूले जनताको नाममा पैसा आइरहेका छन्,” रेखा स्पष्ट पार्छिन्, “आमजनताले टोलको नेताले कसलाई भोट हाल भन्छ, त्यसैलाई हाल्छ ।”
विकृतिको पराकाष्ठा पनि कति ? ‘म्याडम वर्ल्डकप आउन लागेको छ, केटाहरूलाई फुटबल हेराउनुपर्छ, एउटा ठूलो टीभी किन्ने पैसा दिनुस्’ भनेर टोलेनेताले पैसा माग्दा तीनछक पर्थिन्, रेखा ।
“एकजना भाइले मलाई भन्यो– दिदी फलानो फिल्ममा मैले तपाईंसँग काम गरेको थिएँ नि, बिर्सिनुभयो भन्यो । उसले भनेपछि मैले सम्झिएँ । संयोगले उसको घर उतै रहेछ,” रेखा सुनाउँछिन्, “मसँग २०० केटा छन्, एउटा टीभी र फुटबलको व्यवस्था गरिदिनुपर्यो । तिमीले मसँग पैसा मागेको ? काठमाडौं आएपछि मलाई भेट्न आउनु दुई चड्कन गलामा हानेर पठाउँछु भनेँ ।”
रेखा विद्यमान यो खराब प्रवृत्तिको खिलाफमा आफूलाई उभ्याइरहेकी थिइन् । तर, जतिजति आफूलाई कठोर बनाएर सुशासन र भ्रष्ट प्रचलनको विरोधमा उभिरहेकी थिइन्, त्यति नै उनको भोट ओरालो लागिरहेको थियो । यो उनलाई थाहा नभएको त होइन, तर गलत बाटोबाट उनलाई भोट बटुल्नु थिएन । बरु, हार नै स्वीकार्य छ ।
भोलिपल्ट मतदान । स्थानीय तहमा जनप्रतिनिधिका लागि प्रयास गरेको एकजना गिनेचुनेका भद्रले अघिल्लो दिन राति ९ बजे आएर रेखालाई भने– म अन्य पार्टीको आठ हजार भोट तपाईंकोमा डाइभर्ट गर्दिन्छु, १५ लाख दिनुस् । आफैँ उनले प्रस्तावित रकम घटाउँदै भने– आफ्नै गाउँठाउँको चेली हो, १५ होइन आठ लाख दिनुस् । रेखाले भनिन्– हुन्छ, १५ पनि होइन २० लाख रुपैयाँ नै दिन्छु । तर, यो मोबाइलमा भिडियो रेकर्डचाहिँ गर्छु है त । त्यसपछि ती व्यक्ति त्यहाँबाट फरार भए ।
“बुथमा जनप्रतिनिधिको रूपमा बस्ने पास भिरेर चारजना केटा पछाडि लगाएर आएको त्यो व्यक्ति असली बिचौलिया हो । मसँग पनि लिने, अर्को पार्टीमा पनि त्यसै भनेर लिने । जसजसबाट पाइन्छ, उसैउसैबाट लिने उनीहरूको धन्दा हो,” रेखा भन्छिन्, “जे कुराको म खिलाफमा थिएँ, मैले त्यसको विरोध गरेँ । सबैलाई बेकुफ बनाएर उनीहरु जनताको नाममा चुनावको मौका छोपेर धन्दा गरिरहेका छन् । मेरो एउटै भनाइ– म जसरी यसको विरोधमा उत्रिएँ, त्यसैगरी अरू दुईजना पनि उभिने हो भने फेयर कम्पिटिसन हुन्थ्यो । पैसा नबाँडी कम्पिटिसन गरौँ, जसले जित्छ जित्छ ।”
पैसा बाँडेर जितेको नेताले त्यसको भर्पाइ कसरी गर्छ ? रेखाको सिधा प्रश्न । जवाफ जगजाहेर छ– जितेपछि सरकारी सम्पत्ति अपचलन गर्छ । भ्रष्टाचारको जग नै यही त हो । चुनाव महँगो हुँदै गएको कारण यही त हो । यो कुरा जनताले बुझ्नुपर्ने उनी बताउँछिन् ।
कसैले खाना र मासु खुवाएको भरमा ‘भोट यहाँ हाल’ भन्दै छ भने केही गडबडी छ भनेर नागरिकले बुझ्नुपर्ने रेखाको भनाइ छ । आफ्नो मतको दुरुपयोग गरेर बिचौलियाले पैसा वा पद पाइरहेको छ भने म किन उसका लागि प्रयोग हुने भनेर जनता सचेत हुनुपर्नेमा रेखाको जोड छ ।
गाउँको ग्रुप लिडर जसले गाउँ थर्र्काएर बसेको छ, भोलि गाउँमा पर्दा/चाहिँदा काम लाग्ने मान्छे उही हो । त्यसैले चाहेर पनि गाउँका मान्छेले विद्रोह गरेर ब्यालेट बक्समा भोट हाल्न सक्तैनन् । किनकि, जनप्रतिनिधि जितेर गएपछि पाँच वर्ष गाउँ फर्कँदैनन् । स्थानीय टोलेगुन्डा नै किन नहोस् उसले नजरअन्दाज गर्न सक्तैन । रेखा भन्छिन्, “त्यही भएर त मैले म पाँच वर्ष तपाईंहरूकै बीचमा बस्छु, एकजना पनि कसैलाई अन्याय हुन दिन्नँ, तपाईं फेयर मतदान गर्नुस् भनेको थिएँ ।”
रोस्टरमा उभिएर जनताका समस्याबारे बोल्ने, पोलेसी मेकिङमा काम गर्ने, अन्यायमा परेका जनतालाई न्याय दिलाउने । मल, बीउ र पानी उपलब्ध गराउने काम गर्ने जनप्रतिनिधि वास्तवमा जनताका सेवक नै हुन् ।
अरूको अन्याय र अत्याचार अन्त्यका लागि लड्छु भनेर चुनावी मैदानमा पुगेकी रेखाले आफैँ अन्यायमा परेको अनुभूत गर्नुपर्यो । मौन अवधि सुरु हुनुभन्दा अघिल्लो दिन दुई मिडियाले गरेको सर्वेक्षणमा रेखा एक नम्बरमा थिइन् । मौन अवधि लागु हुने केही घण्टाअघि काठमाडौंको एक मिडियाले काठमाडौं–१ मा रवीन्द्र मिश्र तीन नम्बरमा भएजस्तै रेखा थापा मोरङ–३ मा तीन नम्बरमा भनेर निकाल्यो । रेखाको प्रश्न छ– त्यही बेला त्यो समाचार किन निकाल्नुपर्यो ? “मसँग आएर आँखाभरि आँसु बनाएर रुने, हामीलाई न्याय दिनुपर्यो भनेर मलाई सगुनस्वरूप दही खुवाउने, माया गरेर माला र खादा ओढाउने मान्छेको नाटक थियो ? रेखा हार्दै छे भनेर समाचार आएपछि त्यसको असर अहिलेको समयमा पर्दैन ? पर्छ । हार्ने मान्छेलाई किन भोट दिने भनेर कसले भोट दिन्छ ? त्यसो गर्न मिल्छ ? फलानो जित्दै छ र फलानो हार्दै छ भनेपछि भोट हाल्न तयार भएर बसेको मान्छेको मनोविज्ञान के हुन्छ ? मिडियाको निष्पक्षता हुँदैन ?”
त्यति बेला यसपटक रेखा थापालाई भोट हाल्ने भनेर हरेक गल्लीगल्ली र चोकचोकमा लहर चलेको उनको जिकिर छ । “विपक्षी दलका उमेदवारहरू हरेक मञ्चमा मेरो नाम लिइरहेका थिए । मलाई थ्रेट सम्झिरहेका थिए । मौन अवधिमा लेख्न पाइँदैन भनेर ठिक त्यसको केही समयअगाडि पक्ष र विपक्षमा समाचार लेख्न पाइन्छ ?,” रेखाको प्रश्न छ ।
मौन अवधिअघिसम्म रेखालाई कन्फर्म जित्छु भन्ने थियो । “जब व्यक्तिको मनोविज्ञानमा मिडियाहरूले खेल्न थाले, पैसा हुनेहरूले बिचौलियाको प्रयोग गरे, त्यसपछि खेल अर्कैतिर गयो भन्ने मलाई थाहा भयो,” उनी भन्छिन् ।
यो वर्षको चुनाव सकियो । अब जनप्रतिनिधि हुन कुर्नुपर्नेछ अर्को निर्वाचन ।
रेखा के गर्छिन् ?
योपटक यस्तै भयो । जनताको साथ र सहयोग हुँदाहुँदै पनि उनकै शब्दमा– मिडिया, बिचौलिया, पैसाको चलखेललगायत अनेक कुराले रेखाका लागि संसद्को ढोका खुलेन । तर, रेखाले हारेकी छैनन् । उनमा अहिले पनि त्यति नै आत्मविश्वास छ, जति भर्खैरै सम्पन्न निर्वाचनअघि चुनावी मैदानमा उभिँदा थियो ।
“जनताको बीचमा जाने हो । अर्को उमेदवारले जित्नुभयो । मेरो चुनावी क्षेत्रमा उहाँ सत्तापक्ष हुनु भयो । म प्रतिपक्षी । राम्रो काम गरे सपोर्ट गर्छु । नराम्रो काम गरे विरोध । गुण र दोषका आधारमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नु मेरो दायित्व हो,” रेखा आत्मविश्वासी सुनिइन्, “जनताका आवश्यकता पूरा हुनैपर्छ । यसका लागि मैले के गर्नु पर्ने हो त्यो म गर्नेछु ।”
रेखाको मनमा संशय भने अवश्य छ ।
कस्तो संशय ?
भूगोल त्यही हो, भोटर तिनै हुन् । प्रवृत्ति उही हो । कतै त्यही सिलसिला त दोहोरिने हैन ? उनी झस्किरहन्छिन् । जान त जाने तर केका लागि ? पुरानै प्रवृत्ति यथावत् रहेसम्म परिवर्तन सम्भव छ ? उनको मनमा उठिरहने प्रश्न हो यो ।
नउठोस् पनि किन ? रेखाको क्षेत्रमा हजारौँ युवा भोटर थिए, थुप्रै संख्यामा पहिलो भोटर थिए । महिला भोटर थिए । “त्यतिले मात्रै भोट दिएको भए पनि त म जित्थेँ । तर, खोइ ? पैसामुखी चुनाव भयो । पैसा भएपछि जसले पनि जित्ने भयो,” उनी भन्छिन्, “तर, मैले हारेको छैन । धेरै कुरा देखे/भोगेर आएको छु । अब ६ महिनापछि जनताको बीचमा जान सुरु गर्छु । मैले गर्न सक्नेजति जनताको माझमा बसेर गर्छु । किनकि, मैले जसरी सिनेमा ट्रेन्ड चेन्ज गरेँ, त्यो मेरो चुनावी क्षेत्रमा पनि गर्नुछ ।”
तर, देश नेताले बिगारे, बिचौलियाले बिगारे भनेर गाली गर्ने अधिकार जनतालाई छैन भन्ने निष्कर्षमा रेखा पुगेकी छन् । “जसलाई भ्रष्टाचारी र माफिया भनेर हामी दिनहुँ गाली गर्छौँ, निर्वाचनमा तिनैलाई जिताएर किन पठाउँछौँ ?,” उनी प्रश्न गर्छिन्, “नेता मात्रै होइन, हामी जनता पनि सच्चिनुपर्छ । सच्चिदैनौँ भने गाली गर्ने नैतिक अधिकार पनि राख्दैनौँ ।”
रेखा पार्टीको कार्यसम्पादन समिति सदस्य पनि हुन् । पार्टीका हरेक निर्णयमा उनको सहभागिता हुन्छ । तर, राप्रपा सरकारमा जाने निर्णय गर्ने बैठकमा रेखा जानाजान अनुपस्थित रहिन् । यसको अर्थ हो– पार्टी सरकारमा जाने निर्णय उनलाई चित्त बुझेको छैन ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राप्रपाले देशभर जितेको सिट संख्या सात हो । समानुपातिकबाट त्यति नै संख्यामा पायो । राप्रपाले जम्मा पाएको सिट संख्या १४ हो । रेखाको अर्को प्रश्न– २७५ सदस्यीय संसद्मा १४ सिटको पार्टीलाई जनताको म्यान्डेड सरकारमा जाऊ भन्ने हो कि प्रतिपक्षमा बसेर संसद्बाट जनताका आवाज मुखरित गर भन्ने ?
“चौध सिट भनेको प्रतिपक्षमा बसेर जनताका पीरमर्का संसदमा उठाऊ, जनताले आवाज मुखरित गर भन्ने जनादेश हाम्रो पार्टीले पाएको हो,” रेखा भन्छिन्, “हामीसँग धैर्यता भन्ने चिज छैन ? सत्ता र कुर्सीभन्दा पनि राप्रपा अजेन्डाबेस राजनीति गर्छ भन्ने हाम्रो पार्टीले स्थापित गरेको होइन र ? तर, किन अहिले हामी हतारिएर सरकारमा जानुपर्यो ?”
विचार र सिद्धान्तको राजनीति गरे राप्रपाको भविष्य राम्रो रहेको रेखाको भनाइ छ । तर, यो बोली होइन व्यवहारमा कार्यान्वय हुनुपर्नेमा उनको जोड छ ।
राप्रपा त्यही पार्टी हो, जसले राजतन्त्र पुनःस्थापनाको कुरा गर्छ । यही माग छोडेकाले कमल थापा अध्यक्षमा पराजित भए । यही अजेन्डा बोकेकाले उनकै महामन्त्री राजेन्द्र लिङ्देन अध्यक्षमा भारी मतान्तरले विजयी भएका थिए ।
“यो व्यवस्थामा चुनावै लड्नु हुँदैन थियो । नलड्नु लडेपछि ठिक छ, सरकारलाई समर्थन गर्न सकिन्थ्यो । तर, सरकारमा नगई नहुने कारण के थियो ?,” रेखा सरकारमा जाने पार्टीको निर्णयप्रति असन्तुष्टि पोख्छिन्, “अब संसद्मा प्रतिपक्षी को हो ? सरकारलाई खबरदारी कसले गर्ने ?, मिडिया ? मिडिया त कसै न सकैका पक्षपाती छन् । राज्यको चौथो अंग अब सोसल मिडियाबाहेक कोही भएन ।”
रेखा अलिकति अगाडि फर्किन्, राप्रपाको महाधिवेशनतिर । राप्रापाको महाधिवेशनमा स्पष्ट दुई प्यानल थिए । रेखा लिङ्देनको प्यानलबाट महामन्त्रीको उमेदवार थिइन् । लिङ्देन राजतन्त्र पक्षधर । तर, रेखालाई तपाईं कुन तन्त्रको पक्षधर भन्दा गणतन्त्र भन्थिन् । जबकि, गणतन्त्र भन्ने कमल थापाको अर्कै प्यानल थियो । पार्टीको नेतृत्वमा युवापंक्ति चाहिन्छ भनेर रेखा लिङ्देनको प्यानलमा थिइन् । पार्टीमा आमूल परिर्वतन आवश्यक छ र यसका लागि नयाँ र युवा नेतृत्वको खाँचो छ भन्ने उनको ठम्याइ थियो । सोहीअनुसारको निर्णय गरेर पार्टीको चुनावी मैदानमा थिइन् ।
“महाधिवेशनमा मैले किन हारेँ भने म गणतन्त्रवादी थिएँ । राजतन्त्र कि गणतन्त्र भन्दा मैले गणतन्त्र भनेको थिएँ, त्यसैले म पराजित भएको थिएँ । अहिले गणतन्त्रको नेतृत्व गर्ने प्रचण्डको सरकारलाई समर्थन गरेर सरकार पार्टीमा गयो भने म कहाँ गलत रहेछु ?,” रेखा भन्छिन्, “तर, सरकारमा जाने मेरो पार्टीको निर्णयमा म सन्तुष्ट छैन । हामीसँग लामो भविष्य थियो । अर्को चुनावमा हामीलाई जनताले सम्मानजनक मत दिएर सरकारमा जाने म्यान्डेड दिन्थे । तर, धैर्यता नदेखाएर पद र कुर्सीमा गइहाल्ने निर्णयले जनताको मतको सही मूल्यांकन भयो भन्ने मलाई लाग्दैन ।”