site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समाजवादी मोर्चा : आलोपालो नेतृत्व, एउटै चुनाव चिह्नको लक्ष्य 

काठमाडौं । पार्टी एकता सम्भव नभएपछि मोर्चा बनाउने सत्ता गठबन्धनमा आबद्ध तीन दलको प्रयास जारी छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)लगायत दलका नेताहरू केही समयअघिदेखि मोर्चा बनाउने प्रयासमा जुटेका हुन् । केही दिनभित्रै समाजवादी मोर्चा घोषणाको सम्भवना रहेको जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ बताउँछन् ।

मोर्चामा यी तीन दलसँगै नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि सहभागी हुने पक्कापक्की भएको छ ।

कम्युनिस्ट पार्टीहरूबीच मोर्चा बनाउनुपर्ने पक्षमा उभिँदै आएका नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईको दल भने यसमा रहने/नरहने निश्चित भइसकेको छैन ।

नेताहरूका अनुसार नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका वामदेव गौतमलाई पनि मोर्चामा भित्र्याउने प्रयास जारी छ । तर, गौतम पनि आउने/नआउने टुंगो भइसकेको छैन ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै समाजवादी मोर्चा घोषणा गरिने बताएका छन् । बुधबार दाङमा आयोजित एक कार्यक्रममा उनले तल्लो तहमा समेत समाजवादी मोर्चा बनाइने स्पष्ट पारे ।

“समाजवादी मोर्चाको दस्ताबेज टुंग्याएका छौँ । हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ,” प्रचण्डले भने, “तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ ।”

उनले फेरि नयाँ नेकपा बनाउने प्रयास समेत भइरहेको बताए । मोर्चा निर्माण कार्यदलमा रहेका वरिष्ठ नेता श्रेष्ठका अनुसार शीर्ष नेताहरूबीच छलफल भएपछि घोषणाको मिति टुंगो लाग्नेछ ।

“मोर्चा घोषणाको अन्तिम तयारी गरिरहेका छौँ । हाम्रो कार्यदलको तहको टुंगिएको छ । शीर्ष नेताहरू बसेर कार्यदलको डकुमेन्ट फाइनल गरेपछि मोर्चा घोषणाको टुंगो लाग्नेछ,” उनले बाह्रखरीसँग भने ।

भविष्यमा एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नेसम्मको लक्ष्य समाजवादी मोर्चाको छ । “हाम्रो लक्ष्य त एउटै चुनाव चिह्नमा लड्नेसम्मको छ । त्यो भविष्यको गर्भमा छ,” श्रेष्ठले भने ।

मोर्चाको नेतृत्व प्रत्येक पार्टीका शीर्ष नेताहरूले आलोपालो गर्ने गरी खाका बनाइएको उनले जानकारी दिए ।

“प्रत्येक पार्टीका शीर्ष तहका नेताहरूले आलोपालो नेतृत्व गर्ने र सहमतिमा नै निर्णय गर्ने भन्ने खाका तय भएको छ,” उनी भन्छन् ।

सरकारका साझा न्यूनतम कार्यक्रममा समावेश विषयलाई समेटेर समाजवादी मोर्चा गठनका बेला दस्तावेज सार्वजनिक गरिनेछ ।

एकीकृत समाजवादीका उपाध्यक्ष प्रवेश हमालले मोर्चा घोषणाका विषयमा छलफल जारी रहेको बताए । अन्तिम टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ ।

“मोर्चाबारे छलफल जारी नै छ । अन्तिम टुंगो भने लागिसकेको छैन,” उनले भने, “टुंगो नलाग्दै बाहिर चर्चा अलिक छिटो भयो ।”

मोर्चाको उद्देश्य संघीयता, लोकतन्त्र, धर्मनिरपेक्षता, गणतन्त्रजस्ता विषयको संरक्षण गर्ने हुनेछ ।

अहिले पार्टी एकता सम्भव नभएको नेताहरूले स्पष्ट गरेका छन् । तर, सँगै बसेर विचार मिल्दै गएमा एकता गर्ने उद्देश्य पनि मोर्चाको रहेको नेताहरूको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro