साहित्य
काठमाडौं । सिनेमाको सेतो पर्दामा बोल्ड देखिने रेखा थापा रियल लाइफमा भने निकै फरक देखिन्छन् । रिल लाइफमा निकै जुझारु र कठोर देखिने रेखा रियल लाइफमा निकै नम्र र शान्त छिन् । सिनेमाको रंगीन पर्दामा तडकभडक जीवन जिउने उनी रियल लाइमा भने सामान्य जीवन विताउँछिन् ।
तर, सिनेमा र वास्तविक जीवनमा भने उनमा एउटा कुरामा मेल खान्छ । त्यो हो,–उनी जसरी चलचित्रमा महिला अधिकार र शोषित पीडितको उदार गर्छिन् त्यसैगरि दैनिक जनजीवनमा पनि त्यस्तै सहयोग गर्छिन् ।
स्टारडम रेखा थापा । जसको नाम मात्रैले पनि नेपाली सिनेमा घरका हलहरु भरिन्छन् । जो सँग नाम छ, दाम छ । समाजमा इज्जत छ र प्रतिष्ठा छ । लाखौं फ्यान फलोअर्स छन् । उनै रेखा थापाले सोमबार मात्रै आफ्नो जन्मदिन मनाइन् ।
तपाईंलाई लाग्ला उनले नेपाली रजतपटका स्टारडम, साथीसंगी र पत्रकारहरुलाई बालाएर कुनै भब्य तारे होटलमा सानदार दारु पार्टी दिइन् । तर, होइन । जन्मदिन मनाउने उनको आफ्नै काइदा छ । न रेखाले कुनै भव्य पार्टी दिइन् न आफ्नो क्लोज क्पाम्पका साथीहरुसँग बसेरै रमाइलो गरिन् ।
उनी बिहानै उठिन्, साली नदि गाइन् र उतै मनाइन आफ्नो बर्थ डे । उनले साली नदी मन्दिर पुगेर जन्म दिन मनाउन थालेको ८ वर्ष भइसकेछ । समाज सेवा र धर्मसँग जोडेर आफ्नो जन्म दिन मनाउँदा उनलाई खुसी लाग्छ रे ।
रेखालाई हामीले सोध्यौं,तपाईंलाई रंगीन तरिकाले जन्मदिन मनाउने नयाँ परम्परा छोडेर यसरी फरक तरिकाले जन्मदिन मनाउन कसले उत्प्रेरित गर्यो ?
मैलै जहिले देखि जन्मदिन मनाउन थालेँ । संधै यसरी नै मनाउँदै आएको छु । कसले इन्सपायर गर्यो भन्दा पनि मैले आफै यसो गर्न थालकी हुँ । कहिले अनाथ बच्चाहरुसँग मनाएकी छु, कहिले बृद्ध बृद्धाहरुसँग बसेर जन्मदिन मनाएकी छु । मेरो भावना नै यस्तै छ ।
प्रकृति कै कारण आजसम्म बाच्न र संसार देख्न पाएकोप्रति प्रकृतिलाई नै धन्यवाद दिदै उनी अलि गम्भीर भइन् र भनिन्,“जम्मदिन मनाउने भनेको प्रकृतिलाई सम्मान गर्नु हो । दुःख सुख जसरी आजसम्म बाँचिएको छ । त्यो प्रकृतिकै कारण हो । हामी पछिल्लो समय जन्मदिन मनाउन प्रतिस्पर्धा गरिरहेका छौं । उसले कुन रेष्टुराँमा मनायो म यसमा मनाउँछु भन्ने इच्छा हुन्छ मान्छेमा । यसलाई अलिकति न्यूनिकरण गरेर गरिब, दुखीलाई सहयोग गरेर जन्मोत्सव मनाउँदा सक्ने मान्छेहरुले अझै बढी राम्रो हुने थियो ।”
कलाकार समाजका आदर्श हुन् । उनीहरुलाई आदर्श मानेर कलाकारको लवाई खुवाई नक्कल गर्ने धेरै छन् । त्यसैले पनि होला साधारणतः कलाकारले आलोचनामुक्त काम गर्नु पर्छ भन्ने मान्यता राखिन्छ । तर, यहाँ त्यो संस्कार बसिसकेको छैन । भड्किलो जीवन शैली विकास हुँदैछ । समाजले पनि त्यही नन्क्कल गर्दैछ । यो यथार्थबाट भने रेखा अलग छिन् । आफूलाई आदर्श बनाउन सफल भएकी छन् ।
उनले यो वर्ष साली नदीको चिसो पानीमा डुबुल्की मारेर आफू मात्रै रमिनन् । साली नदी मन्दिरको रंगरोगनका लागि सहयोग पनि गरिन् । वर्षौं देखि संरक्षणको अभावमा रहेको मन्दिरको रंगरोगनका लागि चार लाख रुपैयाँ दिइन् । अहिले मन्दिर नयाँ जस्तै देखिएको छ ।
उनको यो वर्षको जन्मदिनमा सहयोग गर्ने कार्यक्रम त्यती मै सकिएन । उनी भक्तपुरको ठिमीमा आइन् र दृष्टिविहिनहरुलाई २५ हजार नगद सहयोग गरिन् ।
हामीले रेखासँग अर्को जिज्ञासा राख्यौं, तपाई आफ्नो जन्मदिनका लागि कति बजेट छुट्याउनु हुन्छ ?
उनले भनिन्,–यो वर्षको वर्थ डेमा यति नै खर्च गर्छु भन्ने योजना गरेको हुँदैन । काम गर्दै जाँदा जति खर्च हुन्छ । राम्रो कामका लागि काम गर्दैछु भने यति भन्दा धेरै गर्दिन भनेर विचमै रोक्ने कुरा हुँदैन त्यो आफै निर्धारण हुन्छ ।
आफ्ना चलचित्रमा कहीँ न कहींँ महिला अधिकारको आवाज मुखरित गर्ने र समाजसेवालाई प्रत्यक्ष परोक्ष रुपमा देखाउने रेखा आफ्ना हरेक सामाजिक क्रियाकलापमा पनि यस्तै कुरा झल्काउने प्रयासमा हुन्छिन् । “म हिरोनी त पर्दामा मात्रै हो । बाँकी जीवन त सामान्य युवती सरह नै हो । मेरो समाजप्रति पनि उत्तरदायित्व छ । जिम्मेवारी छ । समाज सुधार र परिवर्तनका लागि आफ्नो समय र विचार खर्चिरहेको हुन्छु । यसलाई कसैले हेरिरहेको हुन्छ कसैले नजरअन्दाज गरिरहेको हुन्छ । फरक यति मात्रै हो ।”
चलचित्र उनका लागि थोरै समाज सेवा हो भने धेरै व्यवसाय नै हो । उनी आफै पनि यसलाई स्वीर्काछिन् । तपाई आफै पनि चलचित्र निर्मात्री आफ्नो समाज सेवालाई चलचित्रमा किन नदेखाउनु भएको भन्ने प्रश्नमा उनी भन्छिन्, “एउटा चलचित्र बनाउन एक वर्ष लाग्न सक्छ । हामी दिनहुँ जसो समाजिक क्रियाकलाप गरिरहेका हुन्छौं । यी कुराहरु सबै चलचित्रमा समावेश गर्न पनि सकिदैन । सामाजिक सञ्जालमार्फत लाखौंमा एकै पटक पुग्न सकिन्छ । छिटो भन्दा छिटो पनि हुन्छ, यो प्रभावकारी पनि हुन्छ । चलचित्र त व्यवसाय हो । म सामाजिक सेवा गरिरहेको छु, व्यवसाय होइन ।”
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७३ १९:०७
प्रतिक्रिया दिनुहोस्