काठमाडौं । मिस नेपालको टोलीले शनिबार काठमाडौंको सांस्कृतिक सम्पदाको अवलोकन गरेको छ । सम्पदा घुम्ती बस चढेर टोली विभिन्न स्थानमा पुगेको थियो । यही जेठ ९ गतेदेखि सुरु गरिएको सम्पदा घुम्ती बस सेवाको प्रवर्द्धनका लागि टोलीले त्यसमा सयर गरेको हो ।
काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र साझा यातायातसँगको सहकार्यमा सो बस सेवा सञ्चालनमा छ । त्यसैको प्रवर्द्धनका लागि मिस नेपाल २०२३ का विजेता श्रीच्छा प्रधान, मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाह र मिस नेपाल अर्थ रैना मजगैयाँले घुम्ती बसमा सयर गरे ।
विभिन्न सम्पदाको अवलोकनपछि मिस नेपाल श्रीच्छाले सो सेवाको प्रवर्द्धनसँगै प्रचारप्रसार गर्न लागिपर्ने बताइन् ।
त्यसअन्तर्गत साझा यातायातका दुई बसले स्वदेशी र विदेशी पर्यटकलाई विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्ध र स्वयम्भूसम्म घुमाएर सेवा दिने गरेका छन् । अहिले परीक्षणका क्रममा केही समयका लागि निःशुल्क र पछि शुल्क तोकिने नेपाल पर्यटन बोर्डले जनाएको छ ।
थप तस्बिर हेर्नोस्–