
अघिल्लो दिन बिहान ५ बजेदेखि हिँडेर बल्ल साँझको ८ बजे केन्जिङ गोम्पा पुगिएको थियो । त्यस रात सुतेर भोलिपल्ट बिहानै ५ हजार ६० मिटरको सेर्गोरी पिक यात्रा गरेर फर्केका थियौँ ।
खुट्टा गलिसकेका थिए । शरीरमा थकान थियो, तथापि मन भने एकदमै चंगा ! साथीहरू खाना खाएपछि कोठामै सुत्ने तरखर गर्दै थिए, म भने दिदीलाई एक कप मिठो कफी बनाउन भनेर होटेलको छततिर लागेँ ।
कस्तो आनन्द, कस्तो चिसो हावा ! अनि, चारैतिर अब खस्लान् जस्तो गरी हिमालले घेरिरहेका केन्जिङ गोम्पाको त्यो क्षण एकदमै रमणीय थियो । म त्यस अलौकिक क्षणमा लिप्त थिए ।
एकैछिनमा दिदीले छतमै कफी ल्याइदिनुभयो । ‘बाबु, चिसो लाग्ला है । धेरै बेर छतमा नबस्नुहोला’ भन्दै दिदी जानुभयो ।
मोबाइलमा अरिजित सिंहको गीत बजिरहेको थियो । हातमा कफी अनि म मस्त सन्नाटाको त्यो क्षणमा हराइरहेको थिएँ । केही क्षणपछि कोही छततिर उक्लिरहेको आवाज आयो, मैले वास्ता गरिनँ ।
उतातिरबाट एउटा हातले कुर्सी घिसार्दै अर्को हातले कफी समातेर कोही मेरो समीप आएर बस्यो ।
“कस्तो चिसो ठाउँ है ?” कुनै केटीमान्छेको आवाज आयो ।
म ऊ भएतिर फर्किएँ । अनि भनेँ, “एकदम चिसो छ । अनि, यसमा छुट्टै आनन्द पनि त छ नि !” कफी सुरुप्प पारँे । उसले कफीको चुस्की लिई ।
“कहिले फर्किने तपाइँ ?” उसले सोधी ।
“भोलि बिहानै फर्किने । अनि तपाईं ?”
उसले भनी, “हामी’नि भोलि नै फर्किने । सायद सँगै फर्किनेछौँ ।”
“मलाई त अझै एक/दुई दिन यतै बसौँजस्तो लागेको छ । सेर्गोरी पिक पुगेको क्षण मैले केही ठूलो कुरा जितेको जस्तो महसुस भएको थियो । एउटा बिछट्टै अनुभूति भएको थियो, जुन त्यो क्षणका निमित्त निकै अलौकिक थियो । मेरा जिन्दगीका केही महत्त्वपूर्ण आनन्ददायी क्षणहरूमा त्यो पल पर्छ ।”
“वाउ ! मलाई त्यहीँ रात बिताउन मन थियो, तर मिलेन । मैले हजुरलाई त्यहाँ किताबसँगै देखेकी थिएँ । मैले’नि गान्धीको किताबसँग फोटो खिचेको नि !”
“तपाइँ किताब पनि पढ्नुहुन्छ कि फोटो मात्रै खिचाउने हो ?”
“म त्यस्तो किताब पढ्ने मान्छे त होइन, तर विस्तारै बानी लगाउँदै छु । यहाँचाहिँ किताबलाई’नि यात्रा गराउन लिएर आएको । अनि, तपाईं त बडो साहसी केटी हुनुहुँदो रहेछ ! यत्रो पहाड चढ्ने हिम्मत मात्र होइन, चढेर पनि नसुतेर छततिर निस्किनुभएको छ त ।”
“ओ मिस्टर, के केटीमान्छेलाई कम सम्झिनुभएको ?”
“कम सम्झेको होइन के, तारिफ गरेको नि तपाईंको !”
ऊ मुसुक्क मुस्कुराई अनि जवाफ दिई, “मलाई यात्रासँग प्रेम छ, किताबसँग पनि । नयाँ मान्छेहरू चिन्न मन पर्छ । नयाँ ठाउँ घुम्न मन पर्छ र विशेष गरी सामाजिक चिन्तनमा रुचि छ । एक दिन मरिजाने जिन्दगीमा पछि फर्केर हेर्दा केही पछुतो नलागोस् भन्ने मेरो विचार हो । त्यसैले म मस्त आफूले चिताएको कुरा गरेरै छाड्छु । म आफ्नो मर्जीको मान्छे पो हुँ त !,” उसले हाँस्दै थपी, “मलाई त्यो अरू केटीजस्तो सामान्य नसम्झिनुहोस् है, म जासुस पनि त हुन सक्छु नि !”
म खित्का छोडेर हाँसे । भनेँ, “म ढुक्क छु, मैले त्यस्तो कुनै अपराध गरेको छैन, जसकारण तपाईंले जासुसी गर्नु परोस् । तर, तपाईं छिट्टै घुलमिल हुने मज्जाको मान्छे हुनुहुँदो रहेछ ।”
उसले टोपी निकाली अनि आफ्नो कपाललाई एक मुठो पारेर बेर्दै भनी, “बाहिरी आवरणमै मलाई त हजुरले क्षणभरमै चिनिदिनुभयो । मैले जासुसी गरेको थाहा पाउनु भएन नि ! ल जे होस्, मिलेछ भने भोलि लामो यात्राको बाटोमा नयाँ साथीसँग गफ गर्दै बाटो छोटो बनाउने प्रयत्न गर्नुपर्छ ल, सँगै निस्किने है ?” ऊ ‘गुड नाइट मिस्टर !’ भन्दै सुत्न झरी ।
मैले ‘गुड नाइट’ भनेर जवाफ दिएँ । एक छिनमा म पनि मनमा उसले छोडेर गएका कौतूहल कुरा सम्झिँदै सुतेँ । कति बेला निदाएछु, थाहै भएन ।
भोलिपल्ट बिहानै हामी फर्किने तरखर गर्दै थियौँ, मैले यताउति हेरेँ । सबै निस्किसकेका रहेछन् । कताकता उसले ‘भोलि सँगै जानुपर्छ’ भनेर दिएको निम्तोले उसलाई खोज्न विवश बनाइरहेको थियो ।
तीन घण्टाको यात्रापछि लाङटाङ पुगियो । त्यहाँ हामी एक छिन रोकिएर भूकम्पका कारण क्षतविक्षत पुरानो लाङटाङ बस्ती नियाल्दै थियौँ, पछाडिबाट आवाज आयो, “ओ मिस्टर, तपाईं हामीभन्दा अघि निस्केको होइन ? अनि बल्ल यहाँ !”
फरक्क फर्किएँ । हातमा हाइकिङ स्टिक, गहुँगोरो चेहरा, ‘डियर कमरेड’की लिलीको जस्तो कपाल । आँखामा त्यो कालो चस्मा, तल ट्र्याक अनि गोल्डस्टारका मजबुत जुत्ता र सेतो टिसर्ट ।
मान्छेजत्तिकै चिटिक्क परेको हाइकिङ ब्यागमा ठिंग उभिएकी उसले कसलाई बोलाएको भनेर केटाहरू अक्क न बक्क भए । मैले भने राति उसको अनुहार नदेखको भए पनि आवाजबाट चिनिहालेँ । अनि भनेँ, “हामी त सबैभन्दा ढिला निस्केको नि !” विस्तारै गफ गर्दै हामी सबैले फेरि यात्रा तय गर्यौँ ।
हामी दुवै गफ गर्र्दै हिँडिरहँदा बाटो कटेको थाहा भएन । हाम्रो समूह छुटेको पनि थाहा भएन । कुराको गहिराइमा अर्को यात्रा पनि गरिएछ । लाङटाङ ट्रेकिङ र लाङटाङ नदीबाट सुरु भएको हाम्रो गफ समाज, राजनीति, साहित्य, प्रेम, यौन, मृत्युको सीमासम्म पुगेको थियो । सायद दुईमध्ये कोही आध्यात्मिकतामा दखल राख्ने भइदिएको भए त्यहाँ पनि डुबुल्की मारिन्थ्यो होला !
अचम्म के थियो भने, हामी गफमा यति लिप्त थियौँ कि हामी दुवैका साथी कताकता थिए थाहा भएन । यात्राको दौरान चिच्याएर सुसेल्दै बगिरहेको नदी, लाङटाङको सुन्दरताले हाम्रा गफलाई बेलाबेला लोभ्याएर अन्तै मोडिदिन्थ्यो ।
साहित्यमा बीपी, भूपी, पारिजात, बुद्धिसागर, खालिल जिब्रान, पाब्लो निरुदा, कोहेलो, हारुकी मुराकामीदेखि लिएर राजनीतिमा अतिपुँजीवाददेखि नेपालको सामाजिक–राजनैतिक अवस्थाका बारेमा निस्केका फरक मत र समानताले बेलाबेला सामीप्य त बेलाबेला वैचारिक मतभेदले कताकता कटुता भरिदिन्थ्यो ।
युभाल नोहा हरारीका तीन किताबले दिने सन्देशमा हाम्रो आफ्नै बुझाइ थियो । हामी दुवैका निमित्त यी कुरा निकै प्यारा थिए । हामी त्यति नजिक हुन पुगेका थियौँ कि लाग्थ्यो– हाम्रो वर्षौँदेखि चिनजान छ । हामीबीच त्यस्तो कुनै रहस्य वा गोप्य कुरा नै छैन ।
त्यति सहज र सामीप्य सम्बन्ध बन्न वर्षौँ लाग्छ । तर खै, अपवादमा थियो हाम्रो भेट र हाम्रो सम्बन्ध ।
प्रेम र यौनको दर्शन दुवैका निमित्त अलि बेजोड र अलि कमजोर ज्ञान भएको विषय भनेर हामीले प्रेम र यौनलाई अलि कम्प्रेल्क्स कुरामा राख्यौँ । यस विषयमा हामी दुवैको एकै किसिमको मत थियो । बेलाबेला जुधिरहने आँखा, अप्ठ्यारो बाटोमा एकार्कालाई पुग्ने सहारा, बीचबीचमा थकाइ मार्दा निस्किने सुस्केरा, यद्यपि यस यात्रामा अन्जान हामी सायद साथीभन्दा नजिक हुन पुगिसकेका थियौँ ।
त्यो यात्रा विशेष त थियो नै, तर यात्रा झनै दुवैका निमित्त अझ बेजोड बन्न पुग्यो, जब हामीले एकार्कालाई चिन्न र बुझ्न थाल्यौँ । छोटो क्षणमै कोही यति नजिक हुनसक्छ भन्ने मलाई विश्वास लागेको थिएन । यात्राले एउटा अर्को यात्राको सुरुआत गरेजस्तो भान हुन्थ्यो ।
बेलाबेला यस्तो लाग्थ्यो– उसले पनि केही अरू नै भन्न खोजिरहेकी छे, जुन मैले बुझ्न सकिरहेको छैन वा उसले बुझाउन सकिरहेकी छैन । अथवा, मैले गलत बुझिरहेको छु । तर, ती क्षण साँच्चिकै अलौकिक लाग्थे ।
हामीले भोलिपल्ट स्याफ्रुबेँसीदेखि काठमाडौं सँगै फर्किने निधो गर्यौँ । उसको र हाम्रो समूह एउटै बसमा काठमाडौंतिर हानियो । उसले मसँगैको सिटमा बस्न खोजी, साथी जुरुक्क उठेर अर्कै सिटमा गयो । ऊ हिजोभन्दा आज गम्भीर थिई । त्यति धेरै बोलिन पनि, सायद बोल्नलाई विषय नै बाँकी थिएनन् ।
हामीभन्दा ठिक अगाडिको सिटमा स्लोभाकियाकी केटी र अजरबैजानको केटो बसेका थिए । उनीहरूको भेट पनि लाङटाङ भ्यालीमै भएको रे, अनि यही यात्रामा प्रेम हुन पुगेको रे ! उनीहरू ६ हजार मिटर उचाइको याला पिक चढेर फर्किएको बताउँदै थिए ।
मजाक गर्दै उनीहरू भन्दै थिए, “रुस टुक्रिए पनि हामी दुईचाहिँ एक भयौँ !”
तिनले पटकपटक चुम्बन गरिरहेका देखिन्थे । हामी एकार्काको नजरमा हेर्थ्यौँ । थोरै लजाउँथ्यौँ अनि अर्कैतिर फर्किन्थ्यौँ । सायद गनेको भए तीन सयभन्दा बढी नै चुम्बन गरिएको हुनुपर्छ ।
कति बेला हामी निदायौँ थाहा भएन । म ब्युँझिँदा गाडी गल्छीमा पुगिसकेको थियो । ऊ अझै मेरो काँधमा हात समाएर मस्त निद्रामा थिई । मलाई अचम्म लागिरहेको थियो, किन कोही अन्जान केटी जसको मलाई नाम समेत थाहा छैन, ऊ मसँग यति धेरै सामीप्य र विश्वास महसुस गर्दै छे ?
केही क्षणपछि बस कलंकीमा रोकियो । मैले उसलाई थानकोटमा ब्युँझाएको थिएँ । उसले ब्युँझिँदा मेरो आँखामा हेरेकी थिई । मेरो हातबाट हात हटाएकी थिई । अनि, हल्का लजाउँदै उसले भनी, “हामी कति छिट्टै यहाँ आइपुगेछौँ, यति छिट्टै छुट्टिने बेला पनि हुन आँटेछ !”
मैले भनेँ, “एक दिन त सबै यो संसारबाट नै छुट्टिनैपर्छ । फेरि हामी त अस्ति भरखर भेटेका यात्राका साथी न हौँ, चाहेपछि हामी जोडिन सकिहाल्छौँ नि !”
उसले लामो मौनता साधी । अनेकौँ गुनासाहरू भएजसरी खाउँलाझैँ गरी मतिर हेरी । अनि भनी, “तिम्रो लागि म अस्ति भेटिएँ होला, तर म तिमीलाई पाँच वर्षअघिदेखि चिन्छु ।”
एक्कासि तपाईंबाट तिमीमा झरेको उसको सम्बोधनसँगै गहिरो रहस्य खोलेकी थिई ।
त्यसपछि म आफैँ अचम्मित भएँ । हजारौँ प्रश्नहरू एकैपटक दिमागमा आइरहेका थिए । तर, के सोध्ने ? सुरुमा ठम्याउनै सकिरहेको थिइनँ ।
मैले भनेँ, “कसरी चिन्छेउ मलाई ?”
उसले भनी, “तिमीले जुन कलेजमा पढ्यौ, मैले त्यहीँ पढेँ । तिमीले जुन संस्थामा इन्ट्रान्सको तयारी गर्यौ, मैले’नि त्यहीँ तयारी गरेँ । मलाई थाहा छ, तिमीलाई बोल्न मन पर्छ । तर, यो यात्रामा तिमीभन्दा म बढी बोलेकी छु । तिमीलाई लेख्न पनि मन पर्छ, देश र समाजको कुराले धेरै छुन्छ । तिमीले एक वर्ष अस्कलमा बिताएको पनि थाहा छ । तिम्रो र मेरो भेट यसरी हुन्छ भन्ने मैले सोचेकी पनि थिइनँ । मैले सेर्गोरी पिकमा नै चिनिसकेकी थिएँ । मान्छे त उस्तै लागेको थियो, मात्र हल्का दाह्री पलाएछ, जुन निकै सुहाउने रहेछ ।”
यसरी रहस्यहरू खुल्दै जाँदा मलाई अझै कौतूहल जाग्दै थियो । तर, समयसीमा सकिएको आभास हुन्थ्यो । हामी दुवै कलंकीमा ओर्लिइसकेका थियौँ । मलाई अझै भित्री रहस्य जान्नु थियो । त्यसैले मैले कफीको प्रस्ताव गरेँ । तर, उसले मानिन । पठाओ बोलाइहाली ।
यसैबीच मैले उसको नाम सोधेँ ।
उसले रिसाएजसरी प्रेम र क्रोधले एकैपटक हेरी । अनि भनी, “किन चाहियो मेरो नाम तिमीलाई ? आफैँ पत्ता लगाऊ !”
एकैछिनमा पठाओ ट्याक्सी आयो । उसले आफ्नो सामान ट्याक्सीमा राखी । उसले यो पनि भनिन कि ऊ जाँदै छे कहाँ, गर्दै छे के, हो को ऊ ? मैले नाम भन्न खुब कर गरेँ ।
अनि, उसले मलाई एक्कासि कसेर अँगालो हाली । मान्छेहरूले देखेकोमा हल्का अप्ठ्यारो लाग्यो । त्यो जीवनको पहिलो कुनै केटीमान्छेसँगको सामीप्य क्षण थियो ।
एउटा छुट्टै किसिमको ज्वारभाटा शरीरमा पैदा गरेको जस्तो, एउटा बेजोड आनन्दको अनुभूति भएजस्तो, खै कस्तो हो कस्तो !
उसले केही मिनेटसम्म अँगालो छोडिन, अनि कानमा खुसुक्क भनी, “मिस्टर समीर, यु क्यान कल मी फुच्ची, बाई समीर ।”
उसले अँगालो छोडी अनि मैले भनेँ, “मैले कसरी केही सूत्रबिना तिमीलाई भेट्नु ? कमसे कम नाम त भन ।”
उसले ट्याक्सीतिर बढ्दै भनी, “हामीलाई सँगै हुन लेखेको रहेछ भने पक्कै भेट हुनेछ । तर, म तिमीलाई खोज्ने छैन । समयले भेट्टाएछ भने सोचौँला । जहाँसम्म मलाई लाग्छ, तिमी जुन सपना लिएर अघि बढेका छौ, म’नि त्यही यात्रामा छु । बाटो फरक भए पनि गन्तव्य एउटै होला । अहिले यात्रामा रमाऊ । बाँकी भगवान्को नाममा छाडिदेऊ ।”
ऊ बसेको ट्याक्सी हुइँकियो । म ट्वाल्ल परेर हेरिरहेँ । मलाई सबैथोक सपनाजस्तो लागिरहेको थियो । कुनै फिल्म हेरिरहेजस्तो । तर, यो सबै कथाको पात्र म आफैँ थिएँ । अनि, विपनालाई पनि विश्वास गर्न गाह्रो भइरहेको थियो ।
दिमागमा अनेकौँ प्रश्न सलबलाइरहेका थिए । जसको जवाफ फेरि ऊसँगै नभेटुन्जेल मिल्ने अवस्था थिएन ।
यादहरू मेटिने कुरा नै थिएन । तर, रहस्यलाई रहस्य नै राखेर उही यात्राअघिको समीर बनेर म कलेज फर्केको थिएँ । बाँकी उही सामान्य दैनिकी चलिरह्यो । कलेज जाउआउ, पढेको जस्तो गर, परीक्षा आएपछि त्यसकै तनाव । तर, बेलाबेला फुच्ची भने मेरो यादमा आउन छोडिन ।