
काठमाडौं । ललितपुर महानगरपालिका–२६, चिवहालबाट राजश्व छलि ल्याउँदै गरेका सामानसहित दुईजना पक्राउ परेका छन् ।
करिब २० लाख ७३ हजार ५९० रूपैयाँ बराबरको विभिन्न अवैध सामानसहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१४, डुम्बरवाना बस्ने ३४ वर्षीय दिपक प्रसाद लामिछाने र भारतको बिहार राज्य मोतिहारी छतौनी ग्राम पञ्चायत–११ बस्ने २८ वर्षीय सचिनकुमार चौरासिया रहेका छन् ।
प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले वाग्मती प्रदेश ०१–०२६ च ८९८० नम्बरको गाडीलाई जाँच गर्ने क्रममा बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खाहरु र कत्था गरी उक्त रुपैयाँ बराबरको सामान, अन्य व्यक्तिको नामको म्याद गुज्रिएको प्रेस पास तीन थान र उक्त गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई बरामद सामानसहित आवश्यक कारबहीको लागि आन्तरिक राजश्व कार्यालय हरिहर भवन पुल्चोक पठाइएको जनाइएको छ ।