site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हैट् ! खानै नजान्ने म     
SkywellSkywell

‘ओइ, किन नखाएको ? खाऊ !’ सुनील दाजु (सुनीलकुमार शर्मा)ले भनिरहँदा पनि अमलेट र पाउरोटीमा हात गएन ।

वयोवृद्धा रोशना म्याडमले मतिर हेरिन् । म झनै खुम्चिएँ । चक्कु र काँटा उठाएर अमलेट र ब्रेड दाब्नुपर्ने, मैले सकिनँ । जानेको भए पो दाब्नु !

दाजुले सायद कुरो बुझे । भने, ‘हातैले खाऊ ।’

KFC Island Ad
NIC Asia

त्यसपछि केही नबोली दुवै हातले समातेर बिहानी खाजामा धावा बोलेँ । दाजु र उनलाई देहरादुनमा पेइङ गेस्ट राख्ने म्याडमका मुखसँगै चक्कु र काँटा चलिरहेका थिए ।

४० वर्षअघि पोखराको एउटा होटेलमा बिहानी ब्रेकफास्ट लिँदाको यो घटना आज पनि मेरो मस्तिष्कमा ताजा छ । आफू भर्खर मधेसबाट राजधानी उक्लिएको । काँटाले खान त जानेको थिइनँ, त्यसमाथि चक्कु – सातै लियो ।

Royal Enfield Island Ad

दुवैले चक्कु दाहिने हातमा र काँटा देब्रे हातमा लिएको देखेर मेरो अलमल बढेर गएको थियो । त्यसैले काँटाले नै खाजा खान सक्ने अवस्था भए पनि मैले हिम्मत गर्न सकिरहेको थिइनँ । फलतः दश औँला मेरो भागमा पर्यो ।

मानिसले खान पनि सिक्नुपर्ने रहेछ । यही मनन गर्दै त्यसपछिका दिनमा काँटा र चक्कुको प्रयोग गर्न सिकियो । अचेल परेका बेला चक्कुले अन्डा, पाउरोटी मात्र होइन, डोसा, चिकेन तन्दुरी पनि काटेर खाइन्छ । र पनि लाग्छ– अझै राम्ररी जानिएको छैन खान ।

पोखराको त्यो अप्ठेरोले काँटा चम्चाको प्रयोगसँगै खाना खाने तरिका सिकाउँदै लगेको थियो । यसरी नै खानलाई सिक्दै गइयो । 
०००  
सुनेको हो– आमाको पेटदेखि कोही कसैले जानेर आएको हुँदैन । धरामा जन्मिएपछि मात्र एउटा मानिसले सिक्नुपर्नेजति सबै सिक्दै जान्छ । हिँड्न सिक्छ, बोल्न सिक्छ । बस्न–खान सिक्छ । पढ्न–लेख्न सिक्छ ।

र, जिन्दगी रहुन्जेल उसले सिक्ने काम मात्र गरिरहेको हुन्छ । जुन दिन उसले यो धरा छोड्छ, सिक्नेक्रम पनि त्यसै क्षणदेखि बन्द हुन्छ ।

कहिलेकाहीँ सुन्छौँ कतिपय विद्वान्हरूले भनेका कुरा, ‘म त यस क्षेत्रको सामान्य विद्यार्थी मात्र हुँ ।’ र, तिनको यही ‘विद्यार्थी हुँ’ मा लुकेको हुन्छ – विनयशील व्यक्तित्व । नम्र व्यवहार ।

विद्यार्थी अर्थात् केही सिकिरहेको मानिस । केही जानकारी लिँदै गरेको व्यक्ति । केही जान्ने/बुझ्ने/सिक्ने प्रयास गरिरहेको मान्छे । यसले के पनि देखाउँछ भने – केही कुरा जान्न, बुझ्न वा सिक्न समय तगारो हुन्न रहेछ । सिक्नलाई उमेरले छेक्दैन ।

सिक्ने उमेरमा हामी सबैले सिक्दै गयौँ । जान्दै गयौँ । नयाँनयाँ विषयबारे जानकारी लिँदै गयौँ । अनि, जुन विषयमा रस बस्यो, त्यो आदत बन्यो । त्यो विषयमै थप सिकिँदै हिँडियो । 
०००
नजान्दाको अप्ठेरोले के गर्ने कसो गर्ने अवस्थामा पुर्याउँछ । यस्ता दुई/चार प्रसंग मैले भोगेको छु ।

दार्जिलिङको एउटा प्रसंग सम्झिँदा मलाई सधैँ हाँसो उठ्छ । आफैँ सोच्द छु र हाँस्छु ।

म दिदीको पछि लागेर पहिलोपटक दार्जिलिङ पुगेको थिएँ । २०४७ साल चैततिरको कुरा हो । अनीता दिदी (अनीता ढुंगेल)का दुवै छोरा सौरभ र श्रीद्ध तिनताक खर्स्याङ र दार्जिलिङमा पढ्थे । उनीहरूलाई भेट्न भनेरै दिदी, धन दिज्यू र मोना भाउजू (मोना शर्मा)सँगै दार्जिलिङ पुगेको थिएँ । दार्जिलिङको यो मेरो पहिलो यात्रा थियो ।

काठमाडौंदेखि काँकडभिट्टासम्म नाइट बसको यात्रा । अघिल्लो दिन दिउँसो ३ बजे काठमाडौं छोडेका हामी भोलिपल्ट साँझ ५ बजेतिर मात्रै दार्जिलिङ पुगेका थियौँ, काँकडभिट्टा, बागडोगरा, सिलिगुढी र खर्स्याङ हुँदै ।

देशमा पहिलो आमनिर्वाचनको प्रचारप्रसार चुलीमा थियो । हामी भने दुई/चार दिनलाई दार्जिलिङ जाँदै थियौँ । त्यसैले विभिन्न विषयहरूमा गफिँदै गन्तव्यमा पुग्यौँ ।

दार्जिलिङ पुग्नासाथ कोठा बुक गरिएको होटेलमा सामान राख्यौँ । केही समयपछि स्थानीय स्कुलमा पढ्ने श्रीद्ध भान्जालाई एक/दुई दिनका लागि दिदीले होस्टेलबाट होटेलमा ल्याउनुभयो ।

साँझपखको दार्जिलिङ केही बेर एक्लै घुमेँ । ‘पहाडों की रानी’ पनि भन्छन् क्यारे – दार्जिलिङलाई ! केही बेर रानी सहर दार्जिलिङको सडकमा एक्लै हिँडे । एलिस भिल्लाबाट चौरस्तासम्मै ।

चौरस्ताकै एउटा दोकानमा मैले दुईवटा क्यासेट किनेको थिएँ, शिवकुमार शर्मा र हरिप्रसाद चौरसियाको ‘कल अफ द भ्याली’ र हिन्दी फिल्म ‘साजन’का गीतहरू । ती दुवै क्यासेटको अहिले कुनै अर्थ छैन । त्यसैले साथमा छैन ।

चौरस्ताको सन्ध्याकालीन घुमघामपछि फर्किएँ, फेरि एलिस भिल्ला नै । एलिस भिल्ला अर्थात् त्यसबखत हामी बसेको होटेल ।

काठमाडौं—दार्जिलिङ यात्रा लामो भए पनि पेट खाली थिएन । केक र पाउरोटीका विभिन्न परिकारले पेट टन्न थियो । त्यसैले पनि साँझको घुमघाममा निस्किएको थिएँ ।

चैतको दार्जिलिङ । घुम्दै अँध्यारो भइसकेको थियो । अब पेटले पनि दालभात खोज्न थालिसकेको थियो । त्यसैले हामी पाँचैजना खाना खान डाइनिङ टेबलमा बस्यौँ । केही बेरमै हाम्राअगाडि माछाभातको थाली लागेको थियो ।

माछाभातको बास्नाले भोक झन् बढेर गयो । दायाँबायाँ नहेरी खानामा धावा बोलेँे मैले । कतिखेर थालको भात सकाएर थप खाना र माछाको रस मागौँ भन्नेमा थिएँ म ।

दिदीहरूको तुलनामा मेरो खान्कीखुराकी निकै बढी थियो । त्यसैले थालमा पस्किएको भात सकाउन मलाई कुनै बेर लागेन । र, थप खाना मागेँ ।

खाना र तरकारी मज्जाले थपेँ । अब भने खाने गति थोरै सुस्त भयो । अनि, कुरा गर्दै खान थालेँ । ठिक त्यसै बेला एउटा बाउलमा तातोपानी र आधा कागती ल्याएर राखिदिए, हामी सबैका छेउमा वेटरले ।

यो के हो ? हेर्दा प्लेन सुपजस्तै लाग्छ । खान हुने हो कि होइन ? खाने नै हो भने कसरी खाने ? दिमागले यस्तै सोच्न थाल्यो । मेरा लागि नितान्त नौलो थियो त्यो ।

नजानीनजानी किन अगाडि सर्नु ! अरूले जे गर्छन् त्यही गर भन्ने मनले आदेश दियो । केही समय कुर्दा के नै फरक पर्थ्यो र !

म थपेको खाना सिध्याउनतिर लागेँ । ध्यान अरूका बाउलतिर पनि जान्थ्यो । केही बेरमै देख्दै थिएँ, दिदी र भाउजूले बाउलको पानीमा कागती निचोरेर हात धुँदै गरेको ! उहाँहरूले हात धोएर सँगै राखिएको रुमालमा हात पुछ्नुभयो ।

म चारनाल चित्त भएँ । नजान्नु पनि राम्रो हैन रहेछ ! आफैँले आफैँलाई धिक्कारेँ । जसलाई म प्लेन सुप ठानिरहेको थिएँ, त्यो हात धुने पानी रहेछ !

धन्न, थपेको भातले मलाई बचाएको थियो । काठमाडौंका कतिपय रेस्टुराँमा मःमसँग खाएको प्लेन सुप सम्झिएर कागती निचोरेर सुरुप्प पारेको भए मेरो के हाल हुन्थ्यो होला !

काठमाडौं फर्किएको वर्षौँपछि मात्र मैले दिदीलाई यो प्रसंग सुनाएको थिएँँ । दिदी मज्जाले हाँस्नुभयो ।
००० 
२०३३/३४ सालतिर गाउँमा थिएँ । मधेसको गाउँ, दुई/चार पोखरी हुने नै भयो । गाउँमा रहँदा सिक्नेक्रम जारी थियो । त्यसताका पौडी खेल्न सिकिरहेको थिएँ । अनि, सिक्दै थिएँ चंगा उडाउन, साइकल चलाउन ।

मधेसमा पोखरीसँगको निकटता अस्वाभाविक थिएन । भ्यायो कि पोखरीतिर दौडिहाल्यो ।

मेरो हकमा भने पौडीको नाममा पोखरीको कातकात उफ्रिने काम मात्र हुन्थ्यो । यसरी पानीमा उफ्रिनु भनेको छेउको पानीलाई पहेँलो र धमिलो बनाउनु मात्र हुन्थ्यो । अनि, दनादन ममाथि गालीको बौछार चल्थ्यो – नुहाउनेहरूबाट ।

मेरो भान्दाइ किरण ढकाल पौडीमा जाबिड भइसकेको थियो । ऊ साइकल चलाउनमा पनि त्यतिकै जान्ने थियो । त्यसैले मलाई पौडी र साइकल चलाउन सिकाउने जिम्मा उसले नै लियो ।

पोखरीमा सँगै रहन्थ्यो किरण । कहिलेकाहीँ अरू साथी पनि हुन्थे । समयको टुंगो थिएन । स्कुल नगएको दिन हाम्रा दुई/चार घण्टै पोखरीमा बित्दथ्यो । पढ्ने काममा गइएन । त्यसैले अरू कामै पनि त भएन, पौडी खेल्नुबाहेक ।

किरणले मेरा हातखुट्टा समाइसमाइ पौडी खेल्न सिकाएको थियो । सुरुसुरुमा गर्दनिया दिएर पानीमा नमुन्ट्याएको होइन उसले ! सायद, त्यति नगरेको भए मैले पौडी खेल्न जान्ने पनि थिइनँ ।

त्यसपछि त मौका मिल्यो कि पोखरीको डिलबाट पानीमा हामफाल्यो । अनि, पोखरीबीचमा रहेको जाइटलाई छोएर फर्किने खेल खेल्यो ।

यसरी पौडी खेल्न जानेको मैले । सुनील दाजुसँग फेवातालमा मिले पौडी खेल्ने मन बनाएको थिएँ । भ्याए फेवाको एउटा कुनामा गएर पौडी खेल्न तम्सिएका थियौँ । तर, पौडिने मौका नै मिलेन । केही बेर बोटिङ गरेर हामी तीनैजना होटेल फर्किएका थियौँ ।
०००
सिक्नुपर्ने कुरा धेरै छन् । सिकेरै सकिँदैन, केके सिक्नेसिक्ने ! अचेल होटेलमै पनि कसरी खाने भनेर जान्नुपर्छ । होटेलको ढोका खोल्ने र बत्ती बाल्न पनि सिक्नुपर्ने भइसकेको छ ।

धेरैपटक धेरै ठाउँका होटेल र लजमा बसेको छु । एकताका हरेक एक/दुई महिनामा सात/दश दिनलाई काठमाडौं छोड्नुपर्थ्यो । त्यस क्रममा पशुपतिनगरदेखि धनगढीसम्मका होटेलहरूमा बास बसियो । ढोकाको चाभी कहिले खल्तीमै हालेर हिँडियो त कहिले काउन्टरमै पनि छोडियो ।

केही महिनाअघि पोखरामै केही नयाँ कुरा जानियो । होटेलको रिसेप्सनमा नाम दर्ता गरेपछि एटीएम कार्डजस्तै एउटा कार्ड हात लाग्यो । यस्तो कार्डको प्रयोग गरेर मैले अहिलेसम्म ढोका खोलेको थिइनँ ।

थोरै असजिलो लाग्यो । मैले कोठा देखाउन भनेँ । होटेलकै एक भाइ कोठा देखाउन अघि बढे । साँचोको काम गर्ने कार्ड मैले उनको हातमा राखिदिँदै भनेँ, ‘भाइ, अगाडि लाग्नुस् ।’

उनी अघि लागे । म पछिपछि । कोठा अघिल्तिर पुगेर उनले सेन्सर स्पेसमा कार्ड देखाए । ढोका खुल्यो । मैले पनि जानेँ, ढोका खोल्न यो नयाँ प्रविधिको साँचो कसरी प्रयोग गर्नुपर्छ भनेर ।

त्यति मात्र होइन, भित्र ढोकासँगै रहेको एउटा पकेटमा कार्ड छिराएपछि मात्रै कोठाको बत्ती बल्ने । त्यो काम पनि होटेलका भाइले गरे । मैले सिक्ने काम गरेँ । यस्ता सिक्नुपर्ने धेरै काम अझै कतिकति बाँकी होलान् ।

धेरैअघि एउटा होटेलमा बस्दा बाथरुमको धाराबाट तातोपानी निकाल्न नजान्दा फोन गरेर होटेल स्टाफलाई बोलाउनुपरेको थियो । होटेलका कर्मचारीले तातोपानी झर्ने र त्यसलाई चिसो पानीसँग मिसाउने तरिका सिकाएपछि मात्रै मैले नुहाउन पाएको थिएँ ।

अहिले त झनै गाह्रो भएको छ, आधुनिक बाथरुमको प्रयोग ।  
०००
लाग्छ– अझै पनि धेरै कुरा सिक्न बाँकी नै छ, जुन समयले सिकाउँदै जानेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ०७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro